बालाराम खड्का
तुलसीपुर, ३१ असोज । विगत केही वर्षदेखि दुवै आँखा बन्द भएपछि थलिएकी नलगाड–७, जाजरकोटकी फूलबारी बादीले बिहिबार नयाँ दृष्टि पाउँदा उनको मुहारमा वर्षाैँदेखि हराएको खुसी फर्किएको छ । छोरीहरूको घरमा बसेकी फूलबारीको आँखा मोतियाविन्दुका कारण बन्द भएका थिए ।
अन्धकारमा जीवन बिताइरहेकी उनले पहिलो पटक निःशुल्क शल्यक्रिया सेवा पाउँदा आफू खुसी भएको बताइन् । ‘हिजोसम्म अरूको सहारामा बाँच्दै आएकी थिएँ, आजदेखि उज्यालो संसारमा रमाउन पाएँ । यो भन्दा ठुलो खुसी मेरो लागि के हुन सक्छ र ? धन्यवाद मेरा आँखा खोलिदिने सबैलाई’, उनले भावुक हुँदै भनिन् ।
यसैगरी भेरी नगरपालिका–१, जाजरकोटकी मैवी चनाराले पनि आफूले दुवै आँखाको शल्यक्रिया गराउन पाएकोमा गहिरो खुसी व्यक्त गरिन् । ‘कोही नहुनेको भगवान हुन्छ भन्थे, तपाईंहरू भगवान् बनेर आउनुभयो । दुवै आँखाले फेरि पहिलेजस्तै देखेँ’, उनले भनिन् । उनीहरू जस्तै धेरैले नयाँ दृष्टि पाएकोमा यहाँका स्थानीय खुसी भएका छन् ।
नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालले दुई दिनसम्म जाजरकोटमा आयोजना गरेको निःशुल्क शल्यक्रिया सेवामार्फत् उज्यालो गुमाएका धेरैको जीवनमा फेरि आशा जागेको छ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल, तुलसीपुर–४, रक्षाचौर दाङको प्राविधिक सहयोग तथा रिडले आई फाउन्डेसन नेपालको आर्थिक सहयोगमा जाजरकोटमा असोज २९ र ३० गते निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गरिएको थियो ।
कर्णाली प्रदेशको भेरी नगरपालिका, जाजरकोटको जिल्ला अस्पतालमा सम्पन्न उक्त शिविरमा दुई सय ६० जनाको आँखा परीक्षण गरिएको थियो । तीमध्ये ७२ जना मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको राप्ती आँखा अस्पतालले जनाएको छ । जाजरकोटका स्थानीयले आफ्नै घरआँगनमै शल्यक्रिया सेवा पाएपछि धेरैले पहिलो पटक उज्यालो संसार देख्न पाएका छन् ।
विभिन्न कारणले उपचार सेवाबाट वञ्चित भएका स्थानीयका लागि जिल्लामै शल्यक्रियासहितको सेवा उपलब्ध भएपछि उनीहरूलाई राहत भएको छ । भेरी नगरपालिकाको आयोजनामा भएको शिविरमा आँखा जाँच गरिएका बिरामीमध्ये अधिकांशको आँखा सुक्खा हुने, चिलाउने, विझाउने र मोतियाविन्दुका कारण दृष्टि कमजोर हुँदै गएको पाइएको नेत्रसहायक रमेश गिरीले जानकारी दिए । नेत्र विशेषज्ञ प्राडा नन्दा गुरुङसहितको राप्ती आँखा अस्पतालको प्राविधिक टोलीले सेवा दिएको राप्ती आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक बिमल घिमिरेले जानकारी दिए ।