प्रमोद आचार्य
दंगीशरण, ३१ असोज । दंगीशरण गाउँपालिकाले बजार अनुगमलाई तीव्रता दिएको छ । चाडपर्वको समयमा उपभोक्ताको स्वास्थ्य अवस्थालाई स्वस्थ राख्न तथा गाउँपालिकाभित्र सञ्चालन भएका पसलहरूलाई करको दायरमा ल्याउन बजार अनुगमन कार्य तीब्र पारेको हो ।
अनुगमन टोलीले दंगीशरण गाउँपालिका अन्तर्गत पर्ने बालापुर, पोटली र हेकुली क्षेत्रमा सञ्चालनमा रहेका व्यावसायहरूको अनुगमन गरेको हो । उपभोक्ता हित संरक्षण समितिका संयोजक एवम् गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको निर्देशनमा अनुगमनलाई तीव्र गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली, सम्बन्धित वडाका जनप्रतिनिधि, वडा स्वास्थ्य शाखा, कृषि शाखा, पशु शाखा इप्रका हेकुली, अस्थायी प्रहरी पोस्ट बालापुर, गाउँपालिकाका आन्तरिक लेखापरीक्षक लगायतको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा विभिन्न पसलबाट म्याद गुज्रेका न्यून वस्तुहरू फेला पारी जफत गरिएको र आगामी दिनमा म्याद गुज्रिएका सामग्रीहरू बेचबिखन नगर्न सुझाव दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेपालीले बताए ।
पालिकाभित्र रहेका बजार क्षेत्र अन्तर्गत रहेका व्यावसायिक फर्म, बिक्री स्थल, उद्योेग, गोदाम तथा बजार, क्षेत्रमा रहेका पसलहरूको अनुगमन गरिएको हो । चाडपर्वको समयमा मात्र नभई अनुगमन निरन्तर गरिने प्रमुख प्रशासकीय अधिकृत नेपालीले बताए ।