जेन–जी आन्दोलन र उपलब्धि संस्थागतको अभिभारा

भुवन पोख्रेल
नेपालको राजनीतिक परिदृश्यलाई नियाल्दा मुलुक भित्रको नेतृत्व खरो रुपमा जनताको कसीमा उत्रिन नसक्दा बाह्य शक्ति कतै हाबी हुने त होइन भन्ने आशंका पैदा भइरहेको छ । प्रत्येक राजनीतिक आन्दोलनहरुमा नागरिकको बलिदानीले परिवर्तन लिएर आउने झिनो आशा पलाउँछ तर त्यो बलिदान, त्याग र समर्पणको जगमा अडेको सरकारले नागरिकका आवाजहरुलाई बुलन्द बनाएर अघि बढ्नुको साटो मौनताको संस्कृति अंगाल्न पुग्दछ ।

मुलुक र जनता अहिले इतिहासकै विषम घडीमा उभिएको छ । मुलुकमा विकास र सम्वृद्धिका लागि शीर्ष दलका शीर्ष नेताहरुले जनताको अमूल्य मत प्राप्त गरी पटक–पटक सत्तामा पुग्ने र आफ्नो सरकार गठन गर्ने अवसर पाएका हुन् । जनताले दिएको म्यान्डेटलाई कुल्चेर पद, पैसा र शक्तिलाई अंग्लोका कारण उनीहरुले आजको अवस्था झेल्नु परेको हो । जेन–जी आन्दोलनमा नेतृत्व वर्ग प्रतिको आक्रोश सबैले देख्ने, भोग्ने मौका पायौ ।

वास्तवमा जेन–जी समूह मात्र सरकार र नेतृत्वको नालायकी पदबाट आक्रोशित नभई जनआक्रोश चारैतिर बढेर गएको देखियो । व्यक्तिगत सम्पत्ति, सार्वजनिक सम्पत्ति सबै आगजनी र तोडफोड भई नष्ट भए । मुलुक रातो आगोको लप्का र धुँवाको मुस्लोमा रुम्लियो । सबैलाई अब के हुने हो ? भन्ने डर, त्रास, आशंका छायो । मुलुक राज्य विहीनताको स्थितिमा पुग्दा त व्यक्तिगत सम्पत्ति, ज्यू ज्यानको पनि सुरक्षा नहुने त्रास बढ्यो ।
वास्तवमा जेन–जी एउटा परिवर्तन चाहने युवा सोच थियो त्यही युवा जोशलाई परिपक्क सरकारले बेलैमा वार्ता आह्वान गरी होस पु¥याउन सकेको भए कुनै पनि आन्दोलन, प्रदर्शन, हत्या हिंसा, सार्वजनिक सम्पत्तिको आगजनी तोडफोड हुने नै थिएन । सरकार सञ्चालन गर्ने हरुले नागरिकको आवाजलाई दबाएर लैजाँदाको परिणाम अहिले मुलुक दशकौ पछाडि धकेलिएको छ ।

जेन–जी पुस्ताले भ्रष्टाचारको अन्त्यका लागि आवज उठाइरहेका बेला सामाजिक सञ्जाल फेसबुक लगायत बन्द गरी आगोमा घिउ थप्ने काम सरकारले नै गरेको हो । अहिलेको सूचना र सञ्चारको आधुनिक युगमा पुग्दा पनि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको राजनैतिक तरलतालाई नजर अन्दाज गर्दाको परिणाम नै जेन–जी आन्दोलनमा अराजक तत्वको घुषपैठ भई राष्ट्रिय गौरवका सार्वजनिक सम्पत्ति सिंहदरबार, सभागृह, सर्वोच्च अदालत, संसद भवन जलेर खरानी भए ।

वास्तवमा जेन–जी समूहले यति ठुलो विध्वंस गरेको होइन भनेर अनुमान गर्ने सरकारले रल राजनीतिक अवस्थामा जुनसुकै असन्तुष्ट तत्वले घुषपैठ गर्न सक्छ भनी चनाखो भई कडा सुरक्षा व्यवस्था अपनाउन किन सकेन सरकारमा एमाले कांग्रेस जस्तो मुलुकका ठुला दुई राजनीतिक दलम्म हुँदा पनि यस्तो अवस्था सिर्जना हुनु घोर भत्सना गर्न लायक विषय हो । यति नैतिक जिम्मेवारीको कतै महसुस हुन्छ भने नेकपा एमालेका केपी ओली र नेपाली कांग्रेसका शेरबहादुर देउवाले पार्टीबाट पनि राजिनामा दिएर जिम्मेवारी नयाँ पुस्तामा हस्तान्तरण गर्न सक्नुपर्छ ।

यी ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका नेता शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड पार्टी अध्यक्ष भइरहने हो भने यी दलहरुको भविष्य झन–झन अन्धकार बन्न पुग्दछ । यी भ्रष्ट नेतृत्वले पद, पैसा, सत्ता र शक्तिको लालसा गरिरहने हो भने मुलुक गम्भीर दुर्घटनामा पर्छ । देश, जनता र मुलुकलाई सुरक्षित ढंगले अवतरण गराउने हो भने यी शीर्ष दलमा तुरुन्तत नेतृत्व हस्तान्तरण गरी युवा पुस्तालाई अवसर गरिदिनुपर्छ ।

जनआकांक्षाको सम्बोधन गर्न नसक्ने खाली पद, पैसा, शक्तिका लागि गठबन्धन गरी मिलिजुली सरकारमा जाने र राज्यकोषको दोहन गर्ने छुट यी दलका शीर्ष नेतालाई छैन । यति वर्ष सत्तामा रहँदा पनि देश र जनताको अवस्था उस्ताको उस्तै उनीहरु र तीनका सन्तानको जीवनस्तर मात्र उकास्नका लागि जनताले खुन पसिना बगाएर तिरेको करको दुरुपयोग गर्नेलाई अब जनताका छोराछोरीले लखेटी–लखेटी मार्छन् । अब जनताको खुन पसिनाको मूल्य तिनु पर्ने बेला आएको छ ।

जेन–जी भनेको कोही होइन, वास्तवमा जेन–जी भनेको जन्मेदेखि भ्रष्टाचारी नेतृत्व झेलिरहेकोसचेत युवा पुस्ता हो, अब पुग्यो यी नेतृत्वबाट मुलुकले केही परिवर्तनको आश राख्न सक्दैन भनी उर्लेको नागरिकको आवाज हो । जेन–जीले मात्र होइन नेतृत्व नालायकी पनको सडक सदन चारैतिरबाट विरोध त भइरहेको थियो तर बेलैमा नेतृत्वको सच्चिन चाहेनन् ।

होइन दमन गरेर भए पनि निरकुंश तानाशाह ढंगले भए पनि सत्ताको स्वाद आलोपालो चाख्न कै लागि भए पनि ¥याल छोड्दाको परिणाम नेतृत्व अहिले घृणाको पात्र भएको छ । यसमा पनि नेपाली कांग्रेसले आफ्नो कमजोरी केही महसुस गरेको छ । केपी ओलीलाई काँधमा राख्दा जुन पार्टीले क्षति व्यहोर्नु प¥यो त्इो पार्टी अध्यक्ष शेरबहादुर देउवाले भोगिसके ।

नेपाली कांग्रेसमा पार्टी अध्यक्ष शेरबहादुर देउवाले पुस्ता अन्तरण गरेर युवा पुस्ताको काँधमा अभिभारा नराख्ने हो भने आफूसँग सिंगो पार्टी नेपाली कांग्रेसलाई पनि सँगै सति लैजाने छन् । नेपाली कांग्रेसभित्र अवसर नपाएका सचेत, सक्षम र जुझारु युवा पुस्ता छन् यिनीहरुलाई अवसर दिने हो भने पार्टीलाई नयाँ ढैगले जनभावनाको कदर हुने गरी नयाँ गतिमा अगाडि बढाउने छन् ।

शेरबहादुर देउवाले पार्टीलाई नातावाद, परिवारवाद, कृपावादको घेराभन्दा माथि उठाउन नसकेको ज्वलन्त उदाहरण आरजु देउवालाई पार्टीभित्र हाबी गराउनु हो । आरजु देउवा पढे लेखेकी सक्षम महिला हुन् उनी किन राजनीतिमा नआउने भन्ने प्रश्न उठ्न सक्छ त्यसको जवाफ उनलाई जेन–जी आन्दोनले दिइसकेको छ । यदि आरजु राणा देउवालाई उनकै क्षेत्रमा रमाउन दिएको भए नाम, दाम दुवै थियो बेकार पार्टीभित्र ल्याएर मुलुक, दल सबैको बदनाम भयो ।

जनआक्रोश बढ्यो, उनको व्यक्तिगत मान, प्रतिष्ठा, इज्जत सबै उनले कुम्ल्याएको अकुत सम्पत्ति जले झै खरानी भएर उठ्यो । वास्तवमा उचाईमा पुगेको मान्छेलाई मुलुक र जनताको अगाडि भुँईमा पछारिएर नाङ्गिन् पर्दाको पीडा देख्नेलाई भन्दा भोग्नेलाई बढ्ता पीडादायक हुन्छ ।

पार्टीभित्र र बाहिर लाग्ला के साच्चै देउवा दम्पत्ति दोषी हुन्, यिनीहरुलाई सजाय अझै पुगेको छैन । हो नैतिकताको आधारमा मूल्याङ्कन गर्ने हो भने यो भन्दा ठुलो सजाय के नै हुन सक्ला र जनताको नजरबाट गिर्नु ।

जेन–जी आन्दोलनपछि जो भ्रष्टाचार गरी अकुत सम्प्त्ति कुम्ल्याएका राजनीतिक दलका शीर्ष नेता छन् यिनको मुटुमा ड्याङ्ग्रो ठोकिएको छ । अबको पुस्ताले भ्रष्टाचारीको मुकुण्डो उदाङ्गो पार्न सक्नुपर्छ । पार्टीभित्र कोही भ्रष्टाचारी भए भन्दैमा सिंगो पार्टीमा दुर्गन्धित हुँदै कांग्रेससँग मिलेर सत्तामा रहेको नेकपा एमाले दलको सडकमा प्रदर्शन देखिँदा लाग्छ, अझै आफ्नो पार्टीका शीर्ष नेतृत्वले राम्रो काम गरिरहेको छ भन्ने कार्यकर्तालाई लागिरहेको छ ।

आफ्नो दलका शीर्ष नेतृत्वले गरेको क्रियाकलाप अन्धभक्त भएर झोला बोकेर पछि लाग्दाको ठुलो क्षति एमालेले व्यहोर्नु परेको छ । आफ्नो दलको प्रधानमन्त्री हुँदा मुलुकमा यति ठुलो घटना भएको छ, यसको नैतिक जिम्मेवारी लिएर पार्टी सच्चिनु त कता हो कता उल्टै अरुलाई आरोप प्रत्यारोप गरी पानी माथिको ओभानो बन्न खोज्नु लज्जाको विषय हो ।

प्रधानमन्त्री केपी ओलीको सरकारले जेन–जीहरुलाई बल प्रयोग गरेर दमन गर्दाको परिणाम मुलुकले आगजनी, तोडफोड, हत्या, हिंसा जस्ता दुर्घटनाको सामना गर्नुप¥यो । स्थिति नियन्त्रण बाहिर जाने संकेतसम्म नपाएर शीतल निवासको सिंहासनमा बिराजमान भइरहनु लोकतान्त्रिक मुलुकको प्रधानमन्त्रीलाई स्वभनीय ठहरिँदैन ।

श्री ३ महाराजको शैलीमा ठाडो आदेशले सत्ता आदेशले सत्ता समाल्न नसकेपछि आफ्नो व्यक्तिगत ज्यू धनको सुरक्षाको लागि पदबाट राजिनामा दिएर मुलुकलाई र जनताले अस्तव्यस्त पारी सेनाको हेलिकप्टरमा चढेर सेना कै शरणमा पुगेर बाच्नु भनेको नेपालको राजनीतिक इतिहासकै भगौडे प्रधानमन्त्रीके कलंकको टीका हो अझ स्थिति सामान्य भइसकेपछि यान त्याग्न भनेर सार्वजनिक भाषण गर्दै त्यो हत्यारो अनुहार देखउान लज्जाको विषय होइन र अब जनताले बुझिसकेका छन् यिनका खोक्रा भाषणमा मन्त्रमुग्ध भएर आफ्नो अमूल्य मत खर्च नै छैनन् ।

स्थिति सामान्य हुँदैन यति ठुलो संख्या जेन–जी मारिए, विद्यालय पोशाकमा जेन–जी मारिएका छन् भन्ने प्रधानमन्त्री ओलीलाई हेक्का रहेन, तुरुन्त मन्त्री परिषद् बैठक बोलाएर २३ गते नै सेना परिचालन गरेर कर्फू आदेश वा निशेषाज्ञा वा संकटकाल घोषणा गर्दिएको भए सरकार विहीनताको स्थिति आउने थिएन । स्थिति सामान्य हुन्थ्यो भाद्र २४ को रापर तापमा मुलुक डुब्नु पर्ने थिएन ।

पूर्व प्रधानमन्त्री ओलीलाई आफ्नो व्यक्तिगत सुरक्षाको त्यति चासो हुने देश र जनताको ज्यू धनको चिन्ता नहुने यस्तो परिस्थिति निम्त्याउने खल पात्रको रुपमा इतिहासले चिन्ने छ । जनताका कलिला सन्तानलाई क्रुर र तानाशाहको रुपमा नागरिकले चिनिसकेका छन् । देश र जनताका हितमा त्यही कलिला जेन–जीहरुलाई गोली हानिएको थियो भने राष्ट्रका अमूल्य सम्पत्ति जलेर खरानी हुनुभन्दा अघि आफ्नो छातिमा गोली थाप्ने हिम्मत राख्न सक्नु पर्दथ्यो सरकारमा रहनेहरुले ।

सरकार सम्हालेकाहरु आपत प¥यो भनेर राजिनामा दिएर देश जनताको अभिभावक विहीनताको स्थिति पारेर कुलेलम ठोक्नु कहाँसम्म राष्ट्रवादी र देशभक्ति चरित्र हो । अप्ठेरोमा मुलुकलाई सम्हालेर सुरक्षित अवतरण गराई स्थिति सामान्य भइसकेपछि बरु जनधनको क्षति भएको नैतिकताका आधारमा पदबाट राजिनामा दिने महान कार्य गरेको भए बरु जनताको केही सहानुभूति हुने थियो । अब जनताको नजरबाट पुरै झरेपछि फेरि उखान टुक्काले माथि उठ्न सकिँदैन भन्ने केपी ओलीलाई हेक्का नभएकै हो त ?

इतिहासको गम्भीर मोडमा मुलुक उभियो, सबै व्यक्तिगत, सार्वजनिक सम्पत्ति खरानी भएपछि राति १० बजे सेना परिचालन गरियो । कमसेकम भाद्र २३ को जेन–जीको रक्तपात भइसकेपछि त्यही दिन सेना परिचालन गरी संकटकाल लगाउन केपी ओली सरकार किन चुक्यो । त्यति धेरै क्षति मुलुकले व्यहोरिरहँदा सेना, प्रहरी, सशस्त्र जस्ता सुरक्षा निकाय किन परिचालन गर्न सकिएन, यसमा के रहस्य लुकेको छ ।

यही प्रतिप्रश्न जनताको बोली हो । जनता अझै किन किमंकर्तव्य विमूडको स्थितिमा छन् । अहिले मुलुकले नयाँ सरकार पाएको छ । केपी ओलीलाई सत्ता च्यूत गरी महिला नेतृत्व सुशीला कार्की प्रधानमन्त्री मुलुकले पाएको छ । पुस्ताको प्रतिनिधित्व छैन बरु जेन–जीले रोजेका अनुहार छन् । मन्त्री मण्डलमा सबै आफ्नो क्षेत्रका अनुभवी, पढेलेखेका र अब्बल ठानिएका व्यक्तित्व हुन् । फाल्गुन महिनामा चुनावको मिति तोकिएको छ । वास्तवमा जेन–जीले खोजेको परिवर्तन नयाँ सरकार गठन र चुनावको मिति तोकेर शान्तिपूर्ण र धादली रहित चुनाव सम्पन्न गराउनु मात्र त पक्कै होइन । यो जेन–जीको बलिदानी र संघर्षबाट बनेको सरकारले भ्रष्टाचारीको छानविन गर्ने, कारबाही गर्ने, जेन–जी आन्दोलनमा रगतको बलिदानी दिएका युवा पुस्ताको आवाजलाई बुलन्द गर्दै लैजाने होइन ।

युवाको त्याग बलिदानी, संघर्षको जगमा अडेको सरकारले सिंहदरबार, संसद भवनलगायतका सार्वजनिक सम्पत्तिको नष्ट गर्ने जेन–जी समूहको आन्दोलन मात्र कारक थियो कि अन्य अराजक तत्वको पनि घुषपैठ भएको थियो पत्ता लगाएर दोषिलाई कडाभन्दा कडा कारबाही गर्नु पर्ने सरकारको दायित्व होइन र ?

यदि जेन–जीको नाम खराब गर्दै अन्य तत्वको घुषपैठ भएको भने यो अपरात्री र अराजक तत्वले उन्मुक्ति पाउँदै गयो भने देशमा शान्ति, सुरक्षाको स्थिति एकदमै कमजोर हुन्छ । भोलिका दिनमा पनि यस्ता आन्दोलनमा अराजक तत्वले सार्वजनिक सम्पत्ति माथि आगजी तोडफोड गर्ने र व्यक्तिका निजी घरमा आगो लगाउने, लुटपात गर्ने, चोरी गर्ने जस्ता अराजक क्रियाकलाप बढ्ने सम्भावना हुन्छ ।

मेहनत र पसिना बगाएर खाने वर्ग कतार, अरब, साउदी लगायतका मुलुकमार देशभित्र परिश्रम नगर्ने, बेरोजगार युवाको झुण्ड जो लुटेर, चोरेर खान पल्केको छ त्यो मात्र भयो भने भोलि स्थिति बाहिर मुलुक नपुग्ला भन्नु छैन । मुलुकमा भएका निजी लगानीका उद्योग धन्दा जल्ने, भाटभटेनी जस्ता व्यक्तिका सुपरमार्केट आगजनी, लुटपात, तोडफोड हुने हो भने भोलि गर्न कसैले पनि आफूलाई सुरक्षित ठान्दैनन् ।

यो मुलुकमा ठुला छोटेल, रेष्टुरेन्ट, उद्योग धन्दा, कलकारखाना, सुपरमार्केट जस्ता व्यापार, व्यवसाय खुले पो अर्थतन्त्रमा टेवा पुग्दछ र जनताका छोराछोरीले रोजगारी प्राप्त गरी रोजीरोटीको व्यवस्था गर्न सक्दछन्, मुलुकको अर्थतन्त्र चलायमान गर्नका लागि मुलुकभित्र लगानी गर्ने वातावरण हुनुपर्दछ ।

मुलुकमा शान्ति सुरक्षा, नागरिकको ज्यूधनको जिम्मा राज्यले लिने डरत्रास नहुने र राजनीतिक स्थिरता प्राप्त भयो भने मात्र लगानी गर्ने वातावरण बन्छ नत्र पैसा हुनेले विदेशमा गएर पनि लगानी गर्दछन् नेपालभित्र गर्नुपर्छ भन्ने छैन जहाँ सुरक्षा हुन्छ त्यही लगानी गर्दछन् । अहिले पढेलेखेका युवा ब्रेनडेन भई युरोप अमेरिका पुगेका छन् । श्रम गर्ने जनशक्ति खाडी मुलुकमा छन् ।

अमेरिका अस्टे«लिया लगायतका मुलुकमा उल्टै पैसा खर्चेर पुगेका छन् । यिनीहरुको रेमिट्यान्स मुलुकमा भित्र छैन, मुलुकको अर्थतन्त्र भित्र भित्रै जर्जर बन्दै छ बर्सेनि ठुलो धनरोशी खर्चेर युवा विदेशिने सपना साकार पारिरहेका छन् । अभिभावक पनि सन्तानको भविष्य स्वदेशमा भन्दा विदेशमा सुरक्षित ठान्ने भइसके बरु बुढेसकालको सहारा गुमाएको उनीहरुलाई चिन्ता छैन ।

नेपालमै केही गर्न खोज्ने युवाको आवाज दबाउन गला निमोठिन्छ । जेन–जी वास्तवमा मुलुक कस्तो भएको हेर्न चाहन्छ के आगोको लप्काले परिवर्तन ल्याउन सकिन्छ । यो गम्भीर अनुसन्धानको विषय हो । देशमा दण्डहिनता मौलाउनलाई विडम्बना ठान्नु पर्छ ।