लागूऔषधको हब : दाङ, दङाली, प्रहरी र ड्रग्स

दिनेश दिपु सुवेदी
दाङ, ३० असोज । ‘प्रहरी मेरो साथी !’, ‘मुस्कानसहितको प्रहरी सेवा !’, ‘समुदाय–प्रहरी साझेदारी ः हरप्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी !’ जनता र प्रहरीबिचको आत्मीय भावनात्मक सम्बन्ध सुधारका सवालमा यस्ता नाराहरू धेरै बने अनि कार्यान्वयनमा आए ।

जनताहरू प्रहरीको उपस्थितिमा मात्र पनि सुरक्षाको प्रत्याभूति गर्छन् भन्ने सत्य कसैले नकार्न सक्दैन । प्रहरी बिनाको समाज कस्तो हुन्छ भन्ने कुरा जेन–जी विद्रोहको दोस्रो दिन भदौ २४ मा नेपालीले प्रस्ट देखे÷भोगेका छौँ । चार÷पाँच घण्टा मात्र प्रहरी क्रियाशील नहुँदा आम नागरिकले कति क्षति बेहोर्नुपर्छ भन्ने छर्लङ्गै भएको छ । राजनीतिले नराम्रोसँग गिजोलेको प्रहरीभित्रको बलियो मानसिकतालाई कमजोर बनाइएको यो समयमा सबैले हौसला दिर्नु जरुरी छ ।

कल्पनासमेत गर्न नसकिने प्रहरी बिनाको समाजमा हामी कदाचित सुरक्षित हुँदैनौ भन्ने सत्य स्थापित भइसकेको छ । प्रहरीभित्रका केही खराबहरूको मानसिकतालाई एउटै डालोमा हालेर हेर्दा अन्याय हुन्छ तर दुःखका साथ भन्नुपर्छ यतिबेला लागूऔषध ‘अपराधको हब’ बनिरहेको दाङलाई नेपाल प्रहरीले सुधार गर्न खासै चासो दिएको छैन । आरोप नमिठो नहोस् सत्य यही हो ।

पछिल्लो समय दाङका ठुला–साना बजारमा दैनिक हुने लागूऔषधको कारोबार, सेवन अनि त्यसपछिको अपराधलाई ‘आर्जन’ हुने माध्यम वा कसैको ‘भनसुन’मा अनदेखा गरिएको हो भने कुलतमा फसेका युवाका परिवार र समाजको आँसुले सराप्नेछ । दिनदहाडै दाङका चोक–गल्लीमा हुने विभिन्न प्रकारका लागूऔषधको कारोबारको सुइको पाएन भनेर प्रहरीले भन्छ भने त्यो किमार्थ पत्याउन सकिँदैन ।

दाङलाई केन्द्र बनाएर रोल्पा, प्युठान, सल्यान, रुकुम, सुर्खेत, बाँकेसम्म पुग्ने विभिन्न नामका लागूऔषध, औषधी कारोबारी र सेवनकर्ताका बारेमा प्रहरी मौन हुनु डरलाग्लो सन्नाटा हो । त्यति मात्र होइन दाङका केही औषधी पसलबाट गरिने ट्याब्लेट (ड्रग्स–ट्रमाडोल) को कारोबारमा प्रहरीसँगै सिङ्गो समाज मौन हुनु झनै ठुलो दुखद् हो । औषधी व्यवसायीको विरोध आउला तर यथार्थ हो, केही मेडिकलले यो पाप गरिरहेको यथार्थ हो ।

दुई दशकदेखि रोल्पामा बसेर पत्रकारिता गर्दैगर्दा दाङका यस्ता खबरहरू यहाँसम्म आउन कुनै आइतवार कुर्नु पर्दैन भने त्यत्रो साधन स्रोतसहितको संयन्त्र नेपाल प्रहरीलाई अपराध रोक्न अर्को आइतवार निश्चय पनि चाहिन्न । दाङका धेरै किशोर र युवा पङ्क्ति यतिबेला लागूऔषधको दुव्र्यसनमा छ । संसारमै अपराध नियन्त्रणमा अब्बल नेपाल प्रहरीले बहाना गर्नुभन्दा युवा जोगाउन भूमिका खेले पुण्य मिल्नेछ ।

केही दङगाली जसले आफूलाई ‘दाङ बनाउने ठेकेदार’ सम्झिँदै सिङ्गो जिल्ला आफ्नै नाममा ‘टेन्डर’ परे जस्तो गरी व्यवहार गर्छन् तर उनीहरू लागूऔषध र यसले परिवार, समाजमा पारेको प्रभावबारे मौन छन् । मौनताको पछाडि लुकेको तथ्य पनि प्रहरीले खोज्नुपर्छ । ‘मेरो घरपरिवारको समस्या होइन । छिमेकमा जेसुकै होस्’ भन्ने दङाली मानसिकता दरिद्रताको पराकाष्ठा हो । नागरिकका सामाजिक मुद्दामा मौन रहनेलाई नागरिक समाजको पदवी झुन्ड्याउने अधिकार पनि छैन ।

हत्या, बलत्कार जस्ता जघन्य अपराधलगायत सडक दुर्घटना, घरेलु हिंसा जस्ता अपराधलाई हरेक दिन केलाउने प्रहरीले लागूऔषध दुव्यर्सनीका कारण समस्या निम्तिएको जानकारी पाएर पनि सक्रियता देखाउन अल्छि गर्नु अनौठो विषय हो । कारागार, हिरासतमा बस्नेहरू त्यहाँबाट भागेका अनि छुटेकाको अपराध शृङ्खला पल्टँदा लागूऔषधको तथ्याङ्क छर्लङ्गै देखिन्छ ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी जिल्लामा लागूऔषध दुव्र्यसनी भित्रभित्रै व्यापक रहेको बताउँछन् । ‘सतहमा भन्दा भित्रभित्रै बढिरहेको छ । अभिभावकलाई समेत थाहा हुँदैन । घरभित्र बसेर पनि प्रयोग गरिरहेका छन्’, अध्यक्ष सुवेदी भन्छन्, ‘दाङमा प्रहरीले चासो नदिएको भन्न मिल्दैन तर कारोबारी समात्न नसक्दा समस्या बल्झिएको छ ।’ जिल्लाका विभिन्न स्थानमा एक दर्जन बढी सुधारगृह रहनु यसको प्रमाण हो ।’ जनशक्तिका अभावले लागूऔषधका विषयमा मिडियाले भित्रसम्म पुगेर लेख्न नसकेको स्वीकार गरे ।

पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष दुर्गालाल केसी अन्य जिल्लाको केन्द्र भएकाले ट्रान्जिट प्वाइन्ट दाङ रहेको प्रहरीले नै स्वीकार गरेको बताउँछन् । ‘लागूऔषध कारोबार र प्रयोगकर्ता बढिरहेको सङ्केत छ । सञ्चार माध्यममा पक्राउको रिपोर्टिङ आउछ तर यही विषयमा खोजमूलक रिपोर्टिङ हुन चाहि सकेको छैन ।
प्रहरीले नै खोजी गर्न नसकेको अवस्थामा पत्रकारले रिपोर्टिङ गर्न पनि कठिन हुन्छ ।’ पत्रकार महासंघ पूर्व केन्दीय सदस्य तथा दाङका पत्रकार अजयदीप शर्मा लागूऔषध प्रयोगकर्ता र कारोबारी बढिरहेको बताउँछन् । ‘स्कुल कलेजमा समेत समस्या छ । टिनएजर बढी प्रयोगकर्ता छन् । प्रहरीलाई सोध्दा ‘नियन्त्रणमा लागिरहेका छौँ’ भन्छन् तर पनि दुव्र्यसनी बढिरहेको छ ।’ उनले नियन्त्रणको पाटोमा प्रहरीको भूमिका पर्याप्त नभएको बताए ।

‘सामाजिक क्षेत्रमा काम गरिरहेका छौँ भन्नेहरू यो विषयमा आफैँ सचेत भएको देखिँदैन । यो विषयमा पत्रकारितामा रिर्पोटिङ चाहिँ भएकै छ तर खोज भएको छैन । जनचेतना फैलाउने र गहिरिएर सञ्चार माध्यममा रिर्पोट चाहिँ आएका छैनन् ।’ जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाह मुख्य गरी घोराही, तुलसीपुरमा कारोबारी र प्रयोगकर्ता बढी रहेको बताउँछन् ।

कारोबारी र प्रयोगकर्ता बढिरहेको स्वीकार गर्दै उनले भने, ‘हरेक हप्ता पक्राउ गर्ने कारबाही गर्ने गरिरहेका छौँ । भारतबाट आउने ‘ब्राउन सुगर’को प्रयोग बढी भइरहेको छ । गत आर्थिक वर्षमा एक सय बढी मुद्दा चलाएका छौँ । ट्रमाडोल जस्ता औषधी पनि प्रयोग हुन्छन् ।’ उनले पुराना पक्राउ गर्दै जाँदा नयाँ मान्छे कारोबारमा आउने गरेको बताए ।

समग्रतामा यतिबेला धेरै दङालीका घरमा प्रेमको बत्ती निभेको छ । सन्तान ड्रग्सले लठ्ठिएर बास बस्न आउँदै गर्दा अभिभावक रातभर अँध्यारोमा तड्पिनुको विकल्प हुँदैन ।
एउटा ड्रग्स युजरले आफूसँगै परिवार र समाजलाई चोट दिइरहेको हुन्छ । शारीरिकसँगै मानसिक समस्याले गिजोल्ने समस्यामा किशोरकिशोरी र युवायुवती दुव्यर्सनीमा फँस्दै जाँदा सञ्चारकर्मी, नागरिक समाज र प्रहरीले समयमै आआफ्नो ठाउँबाट सक्ने भूमिका खेल्न आवश्यक देखिन्छ ।