सुनसान पर्यटकीय स्थल

  •   
  •  

लिलाधर वली
दाङ, २७ बैशाख । घोराही उपमहानगपालिाका–५ धारापानीमा रहेको पाण्डवेश्वर महादेव धाम विगत ४५–४६ दिनदेखि सुनसान अवस्थामा रहेको छ । विगत वर्षको तथ्याङ्कनलाई हेर्ने हो भने यो समय धारापानी घुमफिरसँगै फिक्निकका मानिसहरुले भरिभराउ हुने समय हो । तर यो वर्ष पर्यटक भित्रने समय सुरु हुँदै गर्दा कोरोना भाइरसको त्राससँगै सरकारले लकडाउनको घोषणा गरेपछि चैत्रको दोस्रो सातादेखि धारपानी सुशासन अवस्थामा रहेको छ ।

नत्र नयाँ वर्षका अवसारमा धारापनीमा जिल्लाका विभिन्न स्थानसहित छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु मन्दिर दर्शन गर्न, घुम्नसँगै पिक्निकका लागि आउने गर्दै आएका थिए । तर यो वर्ष अवस्था फरक रहेको छ । अहिले मन्दिरमा दैनिक पूजापाठको काम मात्र हुने गरेको मन्दिरका मुख्य पुजारी पद्मप्रसाद गौतमले जानकारी दिएका छन् । ‘मन्दिरमा हिजोआज सुनसान छ, कोही आउँदैनन्, दैनिक पूजापाठको काम मात्र गर्ने गरेका छौँ’– पुजारी गौतमले भने–‘अहिले मन्दिरमा भक्तजनहरुको अवस्था शून्य छ ।’ उनकाअनुसार अहिले मन्दिरमा दैनिक नित्य कर्मका लागि पुजारी र कर्मचारीहरु मात्र रहेका छन् ।

सरकारले धार्मिक स्थलहरु सञ्चालन रोक लगाएपछि धारापानी विगत डेढमहिनादेखि सुनसान अवस्थामा रहेको पाण्डवेश्वर धार्मिक धाम मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुमराम आचार्यले जानकारी दिएका छन् । सचिव आचार्यका अनुसार नत्र हिजोआज दैनिक ४ र ६ सय मानिसहरु मन्दिरमा भित्रने समय हो । ‘नयाँ वर्षमा जिल्लाको घुम्नलायक ठाउँ धारापानी हो, त्यसैले यहाँ धेरै मानिसहरु आउने गर्नुहुन्थ्यो’–सचिव आचार्यले भने–‘तर यो वर्ष विगतजस्तो छैन, अहिले मन्दिर सुनसान छ ।’ विगत वर्षको तथ्याङ्क हेर्दा दैनिक ३ सय बढी मानिसहरु आउने गरेको उनी बताउँछन् । गत वर्ष फागुनदेखि असारसम्म ८ देखि ९ हजारसम्म मानिसहरु धारापानी पुगेको सचिव आचार्यले बताए । तर यो वर्ष कोरोना त्रासका कारण आन्तरिक तथा वाह्य पर्यटक आउन बन्द भएपछि अहिले पुजारीहरुले मन्दिरमा दैनिक पूजापाठसँगै कर्मचारीहरु मात्र रहेका छन् । कोरोना भाइरसको त्रासका कारण भक्तजन तथा घुम्न आउनेहरुलाई रोक लगाए पनि मन्दिरभित्रको संरचना निर्माणको कामलाई भने सुरु गरेको सचिव आचार्यले जानकारी दिएका छन् । जसअन्तर्गत गुरुकूल निर्माण, पार्क, सुइकोट मन्दिरसम्म पुग्नका लागि सिढी निर्माणको काम भइरहेको उनले जानकारी दिए ।

त्यस्तै तुलसीपुरमा रहेको राप्ती शान्ति उद्यानको गेट नखुलेको पनि करिब डेढ महिना भयो । कोरोनाको संक्रमन फैलन सक्ने त्राससँगै सरकारले सामूहिक भेला गर्न बन्देज गरेसँगै पार्क बन्द रहेको अध्यक्ष डिल्ली भण्डारीले बताएका छन् । पार्कमा घुमफिरसँगै पिक्निक खान, बाल उद्यानमा खेल्न, पार्कको मनोरम दृश्य अवलोकनसँगै चिडिया खानामा जंगली जनावर हेर्नका लागि दिनहु सयौं मानिसहरु आउने समय भए पनि अहिले शून्य अवस्थामा रहेको उनी बताउँछन् ।

तर कोरोना भाइरसको त्राससँगै सरकारले घोषणा गरेको लकडाउनका कारण पार्क बन्द छ । पार्क बन्द हुँदा पार्कको आम्दानी नै बन्द भएको छ । जसले गर्दा पार्कमा रहेका जंगली जनावरलाई पाल्न समेत समस्या देखापर्न थालेको उनले बताए । ‘पार्क बन्द हुँदा आम्दानीको स्रोत बन्द भएको छ, आम्दानीको स्रोत नहुँदा पार्कमा रहेका जंगली जनावर पाल्न समस्या आएको छ’–अध्यक्ष भण्डारीले भने–‘यही अवस्था लम्बिरहने हो भने हामीलाई समस्या आउने छ ।’ उनका अनुसार जंगली जनावर पालनमा मासिक ३० हजारसम्म खर्च हुने गरेको छ । पार्कमा घुमफिर गर्ने, फिक्निक खानेसँगै हेर्नका लागि चिडिया खाना समेत निर्माण गरेको छ ।

चिडिया खानामा चित्तल, राते, घोरल, बाँदर, उल्लुलगायतका विभिन्न जंगली जनावर तथा पंक्षीहरु रहेका छन् । ती पशु तथा पंक्षीहरुलाई पाल्नका लागि मुख्य स्रोत भनेको पर्यटकहरु नै भए पनि अहिले बन्द हुँदा समस्या हुने अवस्था आउन थालेको उनले बताए । उनकाअनुसार पार्कमा दैनिक ४ देखि ५ सय मानिसहरु आउने गरेको उनले बताए । यो समय पार्कमा फुल्ने फूलहरुसँगै मानिसहरुलाई फुर्सदको समय भएकाले पनि यो समयमा बढी मानिसहरु आउने गरेको उनले बताए । ‘पार्कमा घुम्न आउने मानिसहरुबाट संकलित पैसाबाटै पार्क सञ्चालनदेखि चिडियाखानाका पशुपंक्षी पाल्ने गरेका थियौँ’– उनले भने– ‘तर अहिले पार्क बन्द हुँदा आम्दानीको स्रोत बन्दा भएको छ, जसले गर्दा थप समस्या भएको छ ।’ बन्दको समयमा पार्कभित्र केही संरचना निर्माणको कामलाई अघि बढाइएको उनले बताए ।

घोराहीको धारापानी र तुलसीपुर क्षेत्रको गणेशपुर शान्ति पार्कसँगै घोराहीकै अम्विकेश्वरी मन्दिर, बाह्रकुने दह, देउखुरीको जखेरा ताल, राप्ती पारीको जंगलकुटी र पश्चिम् दाङको पुरन्धारा छहरा समेत पिक्निक तथा घुमफिरका लागि मानिसहरुको रोजाईमा पार्ने ठाउँहरु हुन् । तर यो जिल्लाका सबै पर्यटकीय क्षेत्रहरु सुनसान अवस्थामा रहेका छन् ।