राष्ट्रवादको प्रश्न केवल वक्तव्यको बिषय होइन : कांग्रेस

  •   
  •  

दाङ २८ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालका हुन्’ हुन् भन्ने कुरामा कांग्रेस स्पष्ट भएको बताएका छन् । उनले कांग्रेस सरकारमा छँदा र नरहँदा पनि यो कुरामा प्रष्ट भएर आवश्यक भूमिका निभाउंदै आएको वताएका छन् ।

एक बिज्ञप्ती मार्फत देउवाले यो प्रशंगमा विगतदेखि अहिलेसम्मका प्रशंगहरु बुँदा गतरुपमा स्मरण गराउँदै भनेका छन्, ‘ यो दुई दिनको अवधिमा वर्तमान सरकारले उच्च स्तरीय कुटनैतिक पहल प्रारम्भ नगरेर गम्भीर बिषयमा केवल वक्तव्य मात्रै जारी गरेको परिप्रेक्ष्यमा नेपाली कांग्रेसको सभापति एवं प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले म सरकारलाई कुटनैतिक र राजनैतिक रूपमा उच्च स्तरीय पहलकदमी गर्न सार्वजनिक रुपले अपील गर्दछु ।’

देउवाले स्मरण गराएका ३ बुँदा यसप्रकार छन् :

१ सन् २०१५ मे मा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेक बारे बेइजिङमा सहमति गरेपछि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले दुबै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर नेपालका तर्फबाट प्रष्ट धारणा र गम्भीर असहमति प्रकट गरेको थियो ।

२ सन् २०१९ नोभेम्बरमा भारत सरकारले आफ्नो देशको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका नेपाली भू–भाग समाविष्ट गरेर प्रकाशित गरेपछि तत्कालै नेपाली कांग्रेसले कडा प्रतिक्रिया जनाएको थियो भने प्रधानमन्त्रीद्वारा आयोजित सर्वदलीय बैठकमा ‘भारतीय सेना रहेको कालापानी लगायतका भूमी नेपालको हो, त्यहाँबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ र सिमानाको नदी महाकाली पूर्वका हाम्रा सबै भू–भाग फिर्ता गर्न सरकारले उच्च स्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्छ’ प्रष्ट धारणा साथ ‘त्यसका लागि नेपाली कांग्रेसको पूर्ण साथ सरकारलाई रहने’ घोषणा गरेको थियो ।

३ लिपुलेक बारेको पछिल्लो प्रकरण सार्वजनिक भए लगत्तै ‘चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचार बारे नेपाल सरकारको धारणा’ माग गर्दै ‘उच्चस्तरीय कुटनैतिक पहल मार्फत दीर्घकालीन समाधान खोज्न’ नेपाली कांग्रेसले सरकारको दायित्व पुनः स्मरण गराएको थियो ।

नक्सा प्रकरणमा पनि सरकारको भूमिका केवल वक्तव्यमा सिमित रहेको भन्दै देउवाले अहिले फेरि त्यही प्रवृत्ति दोहरिनुलाई दुःखद भनेका छन् । ‘राष्ट्रवादको प्रश्न केवल वक्तव्यको बिषय होइन, यो परिणाममुखी हुनुपर्दछ भन्ने कुरामा नेपाली कांग्रेस विगत देखिनै निरन्तर प्रष्ट छ’ बक्तव्यमा भनिएको छ ।

नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न प्रक्रिया थालनी गरोस भन्ने आग्रह गर्दै देउवाले राष्ट्रियताको प्रश्नमा नेपाली कांग्रेसको सम्पूर्ण साथ सरकारलाई रहने जनाएका छन् ।