ग्राफिक डिजाइनलाई निर्यातमुखी व्यवसाय बनाउनेमा छौँ : युवा व्यवसायी वली[अन्तर्वार्ता]
घोराही उपमहानगरपालिका–१८ नवलपुरका नविन वली २५ वर्ष उमेरमै व्यवसाय हेन्डिल गर्न सक्षम छन् । उनी लगायत उनका साथी मौसम थापा र फिरोज चौधरी पनि व्यवसायीक पार्टनर हुन् । सुरुमा उनीहरु तीन जनाले १०÷१० लाख रुपैयाँ उठाएर ग्राफिक डिजाइनको व्यवसाय सुरु गरे ।
बजारमा चल्तीको भन्दा फरक प्रविधिबाट सेवा प्रदान गर्ने उद्देश्यले नयाँ मेसिनसमेत खरिद गरेर उनीहरुले घोराही–१८ नवलपुरमा प्रिन्ट घर सञ्चालनमा ल्याएका छन् । नयाँ मेसिन र उपकरण थप्दै गर्दा अहिले लगानी पनि केही वृद्धि भएको छ । जुनसुकै आकृतिलाई कपडामा छाप्न सकिनेलगायत कप तथा अन्य भाँडाकुडासँगै भित्तामा क्यान्भास उतार्ने सम्मको उनीहरुको योजना छ ।
मुलुकबाट हजारौँ युवाहरु रोजगारीका लागि विदेश पलायन भइरहँदा भने उनीहरु स्वदेशमै केही गर्न सकिन्छ भनेर नमुना व्यवसायी बन्ने चाहना राख्छन् । उनीहरुले सञ्चालन गरेको व्यावसायिक सेरोफेरोमा रहेर गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार सङ्क्षेप ।
स्वागत छ तपाईंलाई गोरक्षको सातावार्तामा ।
हामीले सुरुवात गरेको व्यवसायलाई हौसला प्रदान गर्न पाल्नुभएकोमा तपाईँ अनि तपाईंको लोकप्रिय गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई धन्यवाद ।
यति सानै उमेरमा व्यावसायिक सोच कसरी आयो ?
सुरुमा मैले राज अफसेट प्रिन्टर्समा ग्राफिक डिजाइनको काम सिकेँ । त्यहीँ ग्राफिक डिजाइनको काम गर्ने रोजगारीसमेत मैले पाएँ । त्यसपछि मैले मेरा साथी फिरोज र मौसमलाई पनि ग्राफिक डिजाइनको काम सिकाएँ । त्यसपछि मलाई आफ्नै लगानीमा यस्तै व्यवसाय सञ्चालन गर्ने सोच आयो । मैले सुरुमा त बजार अध्ययन गरेँ । त्यसपछि मेरो योजना साथीहरूलाई सुनाएँ ।
स्वदेशमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सोच आयो । कमाइ पनि राम्रै हुने जस्तो लाग्यो अनि साथीहरू पनि सहमत भएपछि हामीले घरपरिवारमा यो प्रस्ताव राख्यौँ । आफ्नै क्षेत्रमा व्यवसाय सञ्चालन गर्ने सोच राखेपछि बुबाआमा पनि सकारात्मक हुनुभयो । बुबाआमाले मलाई सधै भन्नुहुन्थ्यो, विदेश त घुम्न जाने हो तर काम भने स्वदेशमै गर्नुपर्छ भनेर, हौस्याइरहनुहुन्थ्यो ।
हामीले प्रिन्ट घर सञ्चालन गर्ने निधो ग¥यौँ । सुरुमा त हामीले १०÷१० लाख रुपैयाँ उठाएर यो व्यवसाय थाल्यौँ । केही पैसा घरमै थियो, केही पैसा बैंकबाट लोन लिएर जम्मा ग¥यौँ तर पछिल्लो समयमा सेवा विस्तार गर्दै जाँदा लगानी बढेको छ । सायद जम्मा लगानी अहिले ५० लाख रुपैयाँको हाराहारीमा पुगेको छ र अहिले हाम्रो व्यवसाय राम्रोसँग रनिङ पनि भएको छ । काम भ्याइनभ्याइ छ ।
के–कस्ता काम हुन्छन् प्रिन्ट घरमा ?
हामीले यसलाई ग्राफिक डिजाइनको ‘वन स्टप, अल सोलुसन’ भनेका छौँ । यहाँ प्रवेश गरेपछि ग्राफिक डिजाइनका सम्पूर्ण सेवाहरू उपलब्ध गराउन सकौँ भन्नेमा लागेका छौँ । अहिले हामी त्यही तयारीका साथ नयाँ रङ्गिन मेसिन ल्याएर ग्राफिक डिजाइनका सम्पूर्ण कामहरू गरिरहेका छौँ ।
विवाहको कार्ड बनाउनेदेखि स्कुल ड्रेसमा नाम, लोगो प्रिन्ट, परिचयपत्र, परिचयपत्र झुन्ड्याउने डोरीमा नाम लेख्ने लगायतका सम्पूर्ण काम एकै स्थानबाट सुरु गरेका छौँ । निकट भविष्यमा हामीले क्यान्भास डिजाइन र प्रिन्टको पनि तयारी गरेका छौँ । यसका लागि आवश्यक बजार अध्ययनसमेत हामीले गरिरहेका छौँ । मलाई लाग्छ, सायद यस्तो विजनेस दाङमा पहिलो पटक हो ।
हाम्रो यो प्रविधिलाई डिटिएफ भनिन्छ अर्थात् ‘डाइरेक्ट टु फिल्म’ मेसिन हो । यस अघि जर्सीलगायत विद्यालय पोसाकहरूमा स्क्रिन प्रिन्टको माध्यमबाट लोगो र अक्षर छाप्ने गरिन्थ्यो । यो चाँडै उम्कने समस्यासँगै टिकाउ पनि नहुने हुन्थ्यो । रङ्गिन आकृति प्रिन्ट गर्न पनि कम्तिमा चार पटक प्रिन्ट गर्नुपथ्र्याे तर हामीले डिटिएफ प्रविधिको मेसिन ल्याएपछि अब सबै कलर एकै पटकमा आकृति प्रिन्ट हुन्छ अनि यसको आयु पनि टिकाउ हुन्छ । वारेन्टी ग्यारेन्टीभन्दा पनि कपडाको आयु जत्तिको हुन्छ यो प्रिन्टको आयु पनि उत्तिकै समय टिक्छ भन्नेमा हामीलाई पूर्ण विश्वास छ ।
तपाईंकोमा ग्राफिक डिजाइन गरेर प्रिन्ट गर्दासम्मको मूल्य उपभोक्ताले कति जति तिर्नुपर्ला ?
मैले टिकाउको कुरा त पहिल्यै गरिसकेँ । मूल्यको कुरा गर्दा हामीले दिने सेवाको आकार हेरेर निर्धारण हुने हो । सामान्य तया मानौँ फुटबल जर्सीको अगाडि र पछाडिको भागमा नाम र लोगो प्रिन्ट गर्दा करिब करिब तीन सयदेखि चार सय ५० रुपैयाँसम्म लाग्ने हाम्रो अनुमान छ । क्यानभास प्रिन्ट र डिजाइनको फरक मूल्य हुनसक्छ, आइडी कार्डको डोरीमा प्रिन्ट गरेको मूल्य फरक हुन सक्दछ ।
यसका साथै ग्राफिक प्रिन्टिङ ग्राफिक्समा भिजिटिङ कार्ड, लोगो डिजाइन, किताब डिजाइन, बुकलेट, ब्रोसर, ब्यानर, मायाको चिनो, क्यालेन्डर, पोस्टर, भिडियो इडिटिङलगायतका सबै सेवा एकै थलोबाट दिने जमर्कोमा जुटेका छौँ । यी अलग अलग शीर्षकमा डिजाइन अथवा प्रिन्टिङ गर्दा श्रम र समयको अवधिका आधारमा मूल्य तय गरेका छौँ । त्यसैले यहाँनेर मैले ठ्यक्कै यति मूल्यन भनेर कन्न सकिनँ ।
तपाईंहरूको भावि व्यावसायिक योजनाका विषयमा पनि केही बताइदिनुस् न ?
हाम्रो भविष्यको योजना भनेकै स्थानीय तहमै रोजगारी सिर्जना गर्ने हो । नेपालमै बसेर पनि केही गर्न सकिन्छ भनेर प्रमाणित गरी अन्य युवाहरूलाई पनि स्वदेशमै रोजगारी सिर्जना हुने खालका व्यवसाय गर्न प्रोत्साहन गर्ने र आन्तरिक रोजगारीको पनि वृद्धि गर्ने हो । हामीले प्लान गरे अनुसार हामीले छिट्टै नै कम्तिमा ५० देखि सय जनासम्म युवालाई यही व्यवसायमा रोजगारी दिन सक्ने छौँ ।
अहिले युवावर्गले बुझ्ने भाषामा भन्नुपर्दा ‘फ्रिलेन्सर’ जस्तै गरी नेपालमा बसेर विदेशका काम गर्ने योजना बनाएका छौँ । अहिले पनि दुई÷चार जनाले दाङमै बसेर अमेरिकाको अफिसमा ड्युटी गर्नुहुन्छ । मासिक ५० हजार रुपैयाँ बढी आम्दानी गरिरहनुभएको छ । प्रविधिको जमाना छ, रोजगारीको लागि विदेशै जानुपर्छ भन्ने होइन बरू नेपालमै बसेर विदेशका काम गरौँ भन्ने हाम्रो योजना हो ।
यसले रोजगारीका लागि विदेश पलायन हुनेको सङ्ख्या घट्ने छ भन्ने हामीलाई विश्वास छ । अहिले हामीले करिब लुम्बिनी प्रदेशका बुटवल बाहेक सबै जिल्लाका सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएका छौँ । यसका अनलाइन जागिरका हिसाबले विदेशमा पनि सेवा दिइरहेका छौँ । हामीले अहिले होलसेलको काम गर्दै आएका छौँ ।
मलाई विश्वास छ, हामीले यो व्यवसायलाई निर्यातमुखी बनाउन चाहन्छौँ । विभिन्न म्याचका जर्सी उत्पादन गरेर विदेश निर्यात गर्न सकिने सम्भावना पनि मैले देखेको छु । किनकि नेपालमा श्रमको मूल्य कम छ । त्यसैले कपडा बाहिरबाट ल्याएर यहाँ ग्राफिक डिजाइन गरी प्रिन्ट गरेर जर्सी तयार गरी विदेश निर्यात गर्दा पनि हामीलाई फाइदै हुन्छ जस्तो लाग्छ । हाम्रो यो व्यवसाय अन्य युवाहरूका लागि पनि अनुकरणीय बनोस् भन्ने हाम्रो चाहना हो ।
अन्त्यमा केही भन्नु छ कि ?
हामी जुनसुकै कुरामा पनि आयातमुखी हुन थालेका छौँ । कट्ठा र बिघा क्षेत्रफलमा जग्गा भएर पनि खुर्सानी समेत किनेर उपभोग गर्ने हाम्र
ो बानी छ । हल्दी किनेर खाने बानी परेको छ । त्यसैले यहाँ रोजगारीका धेरै सम्भावना छन् । लघु उद्यमीका धेरै सम्भावना छन् । सानो लगानीबाट पनि गुजारामुखी व्यवसाय यहीँ सञ्चालन गर्न सकिन्छ भन्ने हामी जस्ता उमेर समूहका सयौँ युवालाई सन्देश दिन चाहन्छु ।
साथै स्वदेशमै व्यवसाय सञ्चालन गर्न चाहने युवा उद्यमीहरूलाई सरकारले सहयोग गर्नुपर्छ भन्न पनि चाहन्छु । करसम्बन्धी झमेला, उद्योग सञ्चालन प्रक्रियामा सहजीकरण, व्यावसायिक सहुलियत ऋण प्रदान गर्नेलगायत औद्योगिक पूर्वाधार निर्माणमा सरकारको पूर्णसहयोगको पनि हामीले अपेक्षा गरेका छौँ । अन्त्यमा सबैले एउटै पेसा गर्नुपर्छ भन्ने छैन । भिन्न–भिन्न स्थानमा भिन्न–भिन्न व्यवसायको सम्भावना हुन्छ । भिन्नाभिन्नै बजार हुन्छ ।
त्यसैले युवाहरूमा व्यावसायिक सोच हुन जरुरी छ । जसले आयातमुखी अर्थतन्त्रलाई विस्थापित गर्न सकोस् अनि निर्यातमुखी अर्थतन्त्र निर्माण होस् भन्न पनि चाहन्छु । साथै वैदेशिक व्यापार घाटा सन्तुलनका लागि पनि सरकारले युवा व्यवसायमैत्री वातावरण निर्माण गरिदिन सकोस् भन्न चाहन्छु ।
