देउखुरीको गढवा गाउँपालिका–६, कुमाल गाउँमा माटोका भाडा बनाउने काम प्राय पुरुषहरूको पेसा छ । माटा भाडा बनाउनेदेखि बिक्रीमा सहयोग पुरुषहरूले गर्दै आएको त्यही गाउँमा माटोका भाडा बनाउने एक महिला पनि छिन्, उनी हुन् ५१ वर्षीया कालीदेवी कुमाल ।
कालीदेवीका श्रीमान् कालु कुमालको पुर्खौली पेसा नै हो, माटोका भाडा बनाउने । घरमै श्रीमान्ले माटोका भाडा बनाउने काम गरे पनि महिलाहरूले माटोका भाडा बनाउने काम गर्नु हुँदैन भन्ने सामाजिक मान्यताका कारण कालीदेवीले लामो समय यो काम गर्न सकिनन् तर मनमा भने पुरुषले गर्ने काम महिलाले पनि गर्न सक्छन् र गर्नुपर्छ भन्ने लागिरहने गरेको थियो ।
करिब तीन वर्षअघि एउटा संयोग जु¥यो । लोपोन्मुख अवस्थामा पुगेको कुमाल समुदायको माटोका भाडा बनाउने पेसालाई संरक्षणसँगै गढवा गाउँपालिकालाई सेरामिक्स हव बनाउने उद्देश्यले गढवा गाउँपालिका लगायत संघसंस्थाको सहयोगमा महिला र पुरुषका लागि एउटा तालिम सञ्चालन भयो । त्यो तालिम गाउँका पुरुषहरूसँगै ३० जना महिला सहभागी भए । कालीदेवी पनि माटोका भाडा बनाउने तालिममा भाग लिइन् । सिप धेरै महिलाले सिके पनि तालिमबाट सिकेको सिपलाई व्यवहारमा लागु गर्ने आफू मात्र एक्लो महिला भएको कालीदेवी बताउँछिन् । उनी पाला, गमला, मट्का, घैटा, भुर्की, ठेकी, कराईलगायतका अडर अनुसार विभिन्न प्रकार र साइजका भाडाहरू बनाउन सक्ने बताउँछिन् ।
‘तालिमबाट सिकेपछि मैले मेसिनको सहायताले माटोका विभिन्न भाडाहरू बनाउँदै आएकी छुँ’, उनले भनिन्,‘आफूले मेहनत गरेर बनाएका भाडा बिक्री गरेर पहिलो पटक पैसा बुझ्न पाउँदा खुसी लागेको थियो, आफ्नो कमाई बुझ्न पाउनु राम्रो हो ।’ त्यो खुसी आजसम्म कालीदेवीको जीवनमा सबैभन्दा अविस्मरणीय क्षणका रूपमा रहेको बताउँछिन् । आफ्नो मेहनतको पहिलो कमाइ हातमा आउँदा उनले महसुस गरिन्, आफूले पनि गर्न सक्छु भन्ने आत्मविश्वास बढेको बताउँछिन् ।
आफ्नो खुसीका लागि केही किन्नेसँगै घर व्यवहारका लागि श्रीमान्को भर पर्न नपर्ने अवस्था रहेको रहेको भन्दै उनी भन्छिन्,‘सिप सिकेर आम्दानी गर्न सक्ने हुँदा सबैभन्दा बढी, आफ्नो रहर आफैँले पूरा गर्न सक्ने सामथ्र्य ममा भएको छ, यो पनि मेरो खुसी हो ।’ माटोका भाडा बनाउने काम नगर्दा आफू घरमा खाना बनाउने काममा मात्र सीमित रहेको बताउँछिन् । अहिले श्रीमान्श्रीमती दुई जनाले संयुक्त रूपमा घरमा दुईवटा मेसिन राखेर माटोका भाडा बनाउने काम गर्दै आएको बताउँछिन् ।
महिनामा ५० देखि ६० हजार अर्थात् वर्षमा ४÷५ लाख आम्दानी गर्दै आएको समेत उनी बताउँछिन् । माटोका भाडा अन्य सामाग्री बिक्री भए जसरी दैनिक रूपमा राम्रो आम्दानी हुने अवस्था नभए पनि तिहारका अवसरमा राम्रो आम्दानी हुने गरेको छ ।
आफूले राम्रोसँग पढ्न नपाए पनि श्रीमान्श्रीमतीले माटोका भाडा बनाउँदै कमाइ गरेर छोरा प्राविधिक शिक्षा पढाउन सफल भएको बताउँछिन् । त्यस क्रममा श्रीमान् केही समय वैदेशिक रोजगारीका क्रममा विदेश बसे पनि अहिले श्रीमान्श्रीमती मिलेर आफ्नै ठाउँमा कमाइ गरिरहेको कालीदेवी बताउँछिन् । पहिले बनाएका भाडाहरू बिक्री गर्नका लागि आफै बोकेर लमही, घोराही बजारसँगै गाउँघरसम्म जानु पर्ने अवस्था थियो तर अहिले घरबाटै बिक्री गर्न पाउँदा सहजता भएको उनी बताउँछिन् ।
कालीदेवीको खुसी केवल आर्थिक स्वावलम्बनमा मात्र सीमित छैन । सामान्य मात्र लेखपढ गर्न जान्ने कालीदेवीले वडा नं. ६ मा महिला स्वास्थ्य स्वयमसेविकाका रूपमा समेत काम गर्ने गर्दछिन् । ‘आर्थिक रूपमा आम्दानी हुने त होइन, तर गाउँघरमा बिरामी परेका नागरिकलाई औषधी उपचार गरेर सेवा गर्दा पनि खुसी लाग्ने गर्दछ’, उनले भनिन्,‘आफ्नो काममा सन्तोष हुनसके जीवनमा पनि खुसी भइने रहिछ ।’
गाउँघरमा हुने साना स्वास्थ्य समस्यामा सहयोग गर्ने कालीदेवी अनाथ बालबालिकालाई घरमै राखेर हुर्काउने पढाउने काम समेत गर्दै आएकी छिन् । ‘मेरा दुई छोरा मात्र छन्, छोरी छैनन्’, उनले भनिन्,‘तर गाउँघरमा दुःखमा परेका साना नानीहरूलाई घरमै राखेर पढाउने लेखाउने समेत काम गरिरहेको छु, यसरी अनाथ बालबालिकाको सेवा गर्न पाउँदा समेत खुसी लाग्ने गर्दछ ।’
सामान्य परिवारबाटै मेहनत गरेर जेठो छोरालाई होटेल म्यानेजमेन्ट र कान्छो छोरालाई कृषि जेटिए पढाएकी कालीदेवीले कुमाल समुदायको पुखौली पेसा हराउँदै छ कि भन्ने चिन्ता समेत व्यक्त गर्दछिन् । उनका जेठो छोरा वैदेशिक रोजगारीका क्रममा ग्रिसमा रहेका छन् भने कान्छो छोरा अध्ययनकै क्रममा रहेकाले घरमै छन् तर माटोका भाडा बनाउने आफ्नो पुखौली पेसाप्रति जागरुक भने छैनन् ।
छोराले विदेशबाट र श्रीमान्श्रीमतीले माटोका भाडा बनाएर जम्मा भएको पैसाबाट पक्की घर निर्माणको काम समेत भइरहेको कालीदेवी बताउँछिन् । कुनै समय आर्थिक रूपमा कमजोर परिवार अहिले सबल । आफ्नै पक्की घर निर्माण गर्दाको क्षणलाई समेत कालीदेवीले खुसीको क्षणका रूपमा लिने गर्दछिन् ।

घरको कामसँगै माटोका भाडा बनाउने गरेकी उनले फुर्सदमा ढकिया, चटकी बनाउने गर्दछिन् । त्यसरी सामग्री बनाएर बिक्री गर्दा पनि आम्दानी हुने र त्यसले परिवारको खर्च जुटाउन सहयोग पुग्ने उनी बताउँछिन् । ‘नयाँ लुगा लगाउने, खाएर मात्र खुसी होइन’,माटोका भाडा बनाउने काम गर्दै गरेकी कालीदेवीले भनिन्,‘आफ्ना रहर पूरा गर्नका लागि आफैं कमाउन सक्नुपर्छ । त्यसका लागि महिला तयार हुनुपर्छ, त्यही सम्झेर ५० वर्षको उमेरमा मैले श्रीमान्सँगै माटोका भाडा बनाउने काम गर्दै आएकी छुँ ।’
घरलाई आर्थिक रूपमा बलियो बनाउनका लागि महिला सक्षम हुनै पर्ने अडान राख्ने कालीदेवी हरेक महिला आफ्नो रहर क्षमताअनुसार सिप सिकेर आयआर्जनमा जोड्न सके कुनै समस्या नपर्ने बताउँछिन् । २०३१ सालमा गढवामै जन्मिएकी कालीदेवी अहिले ५१ वर्षकी भइसकेकी छिन् तर उनको उत्साह र जोसमा कुनै कमी छैन । उनी भन्छिन्,‘महिला वा पुरुष, काम नगरेर कोही पनि खाली बस्नु हुँदैन । सानो ठुलो भए पनि काम गर्न सके त्यसले आयआर्जन दिन्छ र आर्थिक रूपमा बलियो बनाउन सहयोग गर्दछ ।’
कालीदेवीको खुसी आफ्नो पहिलो कमाइ बुझेको दिनमा मात्र सीमित छैन । त्यो खुसी आजसम्म पनि जारी छ । हरेक दिन आफ्नो हातले बनाएका भाडा बेच्दा, हरेक महिना आफ्नो कमाइबाट परिवारको खर्च टार्दा र हरेक क्षण आफूलाई आत्मनिर्भर महसुस गर्दाको क्षण पनि मेरो खुसीको क्षण हो, कालीदेवी भन्छिन् । उनले बनाएका भाडाहरू दाङका गढवा, लमही, भालुवाङ, घोराहीसँगै कोहलपुर, सुर्खेत, बुटवलसम्म जाने गरेका छन् ।
प्रस्तुति : लीलाधर वली