प्लास्टिकका माला प्रतिबन्ध लगाउँदै स्थानीय तह
गोरक्ष समाचारदाता
दाङ, २९ असोज । दाङमा फूल खेतीलाई प्रोत्साहन गर्न स्थानीय तहहरूले प्लास्टिक मालामा प्रतिबन्ध लगाएका छन् । चाडपर्वलाई मध्येनजर गर्दै फूल खेतीलाई असर गर्ने गरी बिक्री हुने प्लास्टिक तथा रबरजन्य मालालाई प्रतिबन्ध गरेका हुन् । तिहारका लागि फूल खेती गर्ने कृषकहरू फूल टिप्न तथा मालाको तयारीमा रहेका बेला पालिकाहरूले सार्वजनिक सूचना जारी गरेर प्लास्टिक तथा रबरजन्य माला बिक्री वितरणमा प्रतिबन्ध लगाएका हुन् ।
जिल्लामा उत्पादित फूलले माग धान्ने भए पनि फूल तथा माला आयात भइरहेको बेला पालिकाहरूले प्लास्टिकका माला तथा रबरको माला प्रयोग नगर्न नागरिकलाई अनुरोध समेत गरेका छन् । फूल खेतीको प्रवर्धन तथा वातावरणको संरक्षण गर्न प्राकृतिक फूलको प्रयोग गर्न पालिकाले सूचनामार्फत् आग्रह गरेका छन् ।
पालिकाहरूले पालिकाभित्र रहेका फूलखेती गर्ने कृषकहरूको जानकारीसहित सूचना प्रकाशित गरेका छन् । गढवा गाउपालिका, लमही नगरपालिका र राप्ती गाउँपालिकाले प्रकाशित गरेका सूचनामा प्लास्टिक तथा रबरजन्य माला प्रतिबन्ध लगाएर स्वदेशी उत्पादनलाई प्रबर्धन गर्न भनिएको छ । अन्य पालिकाहरूले पनि रोक लगाउने तयारीमा रहेको बताएका छन् ।
राप्ती गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठक, गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल र लमही नगरपालिकाका प्रशासकीय अधिकृत महेश थापा ठेडी र बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जोसीम वलीले सूचना प्रकाशित गरेर आयातीत प्लास्टिक तथा रबरजन्य फूल तथा माला पालिकाबासीलाई प्रयोग नगर्न आग्रह गरेका छन् ।
पालिकाका यस्तो कदमलाई स्थानीय तहको निर्णयसँगै व्यावसायिक फूलखेती गर्दै आएका किसानले सकारात्मक रूपमा लिएका छन् । यस प्रकारको निर्णयले फूलखेती गर्ने कृषकलाई सहयोगी भूमिका खेल्ने उनीहरूको भनाइ छ । सबै पालिकाले निर्णय गरेर प्लास्टिकका मालामा रोक लगाउन सके कृषकहरूलाई फाइदा पुग्ने सिद्धार्थ एग्री रिसर्च फर्म घोराहीका सञ्चालक एकनारायण पौडेलले बताए ।
पालिकाले गरेको निर्णय सकारात्मक भएपनि त्यसको कार्यान्वयन कतिसम्म हुनेले अर्थ राख्ने उनको भनाइ छ । ‘अहिले केही पालिकाहरूले आयातीत प्लास्तिक तथा रबरजन्य फूल तथा मालामा रोक लगाउने निर्णय गरेका जस्तै सबै पालिकाले निर्णय गर्न सके स्वदेशी उत्पादनलाई प्राथमिकता दिनमा सहयोग पुग्नेछ । यसले कृषकलाई सहयोगी भूमिका खेल्नेछ’, पौडेलले भने, ‘यसको कार्यान्वन गर्न पालिकाहरूले भूमिका खेल्नुपर्छ ।’
स्वदेशी वस्तु प्रयोग गर्दा उत्पादनले बजार पाउनुका साथै रकम समेत बाहिरनबाट रोकिने उनले बताए । यसले रोजगारीको सिर्जना गर्ने समेत पौडेलले बताए । गत वर्ष जिल्लाका कृषकले फूल फाल्नु परेको बताउँदै उनले यो अवस्था आउन नदिन स्थानीय सरकारले कृषकलाई सहयोग गर्नुपर्ने बताए ।
फूलखेती गदै आएका अर्का कृषक लोकेन्द्र रोका मगरले आफूहरूले प्लास्टिको फूल र बाहिरबाट आउने फूल प्रतिबन्ध लगाउन माग गरिरहेको बताए । जिल्लामै उत्पादन भएको फूलले पुग्ने भएपछि फूल तथा माला आयात गर्नु अन्याय हुने उनको भनाइ छ । भारतबाट लुकीछिपी फूल ल्याउँदा जिल्लाका कृषकलाइ समस्या हुने उनले बताए ।
‘लुकिछिपी फूल तथा माला ल्याउनेलाई नियन्त्रण गरिनुपर्छ’, उनले भने । स्थानीय उत्पादनलाइ प्रोत्साहन गर्न सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ । जिल्लामा अहिले व्यावसायिक रूपमा करिब १५ बिघाभन्दा बढी क्षेत्रमा सयपत्री फूल खेती गरिएको उनले बताए । व्यासायिक रूपमा फूलखेती गर्ने कृषकहरू १२ जना रहेको रोका बताउँछन् ।
व्यावसायिक रूपमा नभई थोरै क्षेत्रमा खेती गर्नेहरू पनि धेरै किसान छन् भने आफनो घरको प्रयोगका लागि अधिकांशले घरमै फूल रोप्ने गरेको कृषकहरू बताउछन् । ‘पछिल्लो समय फूलखेती गर्नेहरूको सङ्ख्यामा समेत वृद्धि भएको छ’, उनले भने, ‘पहिले व्यवसायी रूपमा फूल खेती थिएन अहिले विस्तार हुँदै गएको छ ।’ जिल्लामा फूलखेतीको राम्रो सम्भावना रहेको उनले बताए ।
जिल्लाका विभिन्न स्थानमा पछिल्लो समयमा व्यावसायिक फूलखेती गर्ने कृषकको सङ्ख्या वृद्धि हुँदै गएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । पुष्प व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लामा पुष्प व्यवसाय गर्ने किसानको सङ्ख्या वृद्धि भएको केन्द्रले जनाएको छ । पछिल्लो समय जिल्लामा फूल उत्पादन बढ्दै गएपछि फूल खरिदका लागि बाहिरिने रकम जिल्लामै रहनुका साथै फूल माला बाहिर निर्यात गर्दा रकम भित्रिने गरेको छ । यता कृषि ज्ञान केन्द्र दाङले फूलमा जिल्ला आत्मनिर्भर रहेको जनाएको छ ।
जिल्लामा फूल आयात गर्नुपर्ने अवस्था नभएको कृषि ज्ञान केन्द्रले जनाएको छ । बजारको ज्ञारेन्टी भए फूलखेतीका लागि क्षेत्रफल वृद्धि गर्न सकिने कृषकले बताएका छन् ।
