विचार र इच्छाशक्ति, राष्ट्रलाई सम्वृद्धि गर्ने आधार हुन्

नारायणप्रसाद श्रेष्ठ

समाज, राष्ट्रको विकास तथा सम्वृद्धिको लागि सकारात्मक चिन्तन, विचार र इच्छा शक्ति महत्वपूर्ण मानिन्छ । विचार इच्छाशक्ति जति बलियो र दृढ रहन्छ त्यति नै त्यो समाज राष्ट्रको समुन्नत हुन्छ । विचारले ल्याउने कर्म र कर्मल ल्याउने परिणाम भनेकै सम्वृद्धिको आधार पनि हो ।

समाज विकासको बलियो आधार भएर रहेको मानवीय विवेकमा दिनहुँ आउने हजारौँ विचार भए पनि जुन विचार र कर्मले उ उत्प्रेरित हुन्छ, इच्छा शक्ति बढ्छ । त्यही विचारले उसलाई परिणामतः पु¥याउँछ । त्यसैले मानव मनको यही सत्यलाई बुझेर दिनहुँ आउने हजारौँ विचारलाई छटनी गरी सत विचार र सत्यमा आधारित कर्मतर्फ विवेक प्रयोग गर्नु गराउनु पर्दछ । किनकि विवेक र विचारले दिने कर्म र कर्मले ल्याउने परिणाम नै यथार्थमा समाज र राष्ट्रको विकासको आधार हो ।

यसको लागि मनलाई शान्त र धीरशील बनाई खहरेले ल्याउने क्षणिकतालाई बुझी त्यसलाई छटनी गरेर अरुको हित र सेवामा समर्पित रहने विचार र उद्देश्य राख्नुपर्दछ । स्वस्थ मस्तिष्कमा प्रत्येक दिन हजारौँ विचारहरु प्रवाहित हुन्छन्, ती विचारहरुमध्ये राम्रा र सकारात्मक विचारहरुलाई अगाडि ल्याउन सक्ने क्षमता राख्न सक्नुपर्दछ । सत्यलाई सत्यमा नै गणना गरी सत्य डग्दैन, झुट लुक्दैन भन्ने दृढ संकल्प गरेर विचारलाई कर्ममा रुपान्तरण गर्न सक्नुपर्दछ ।

सेवा नै परमोधर्म भनी अरुको सेवा र सद्भावमा मनलाई सङ्कल्पित गर्न सक्नु पर्दछ । यसको लागि सदैव मनलाई स्थिर र उर्जाशील बनाइ राख्नु पर्छ । दृढ संकल्प र सकारात्मक इच्छाशक्ति समाज विकासको बलियो आधार भएकोले चिन्तन मा सकारात्मक भाव जागृत गरिरहनु पर्दछ । संसारिक गतिविधिलाई चलायमान बनाउने स्वच्छ विचार नै राष्ट्र र राष्ट्रियता सम्वर्धन र सम्पन्न बनाउने एकमात्र अचुक औषधी पनि हो ।

विचार र इच्छाशक्तिको माध्यमबाट प्राप्त हुने उपलब्धी नै राष्ट्रको समृद्धि र अवनती हुने भएकोले मानव चेतना भित्रको विवेकमा हरहमेसा नयाँ परिदृश्य देखिने गरी आफूमा अन्तरनिहित सत्य उजागर गर्न सक्नुपर्दछ । नेपालको इतिहासमा लेखिने गरी हालै भएको घटनालाई हेर्ने हो भने नेता र नेतृत्वले समयमा सुद्धिकरणको बाटो अवलम्बन नगर्दा र विवेक प्रयोग गर्न नजान्दा राष्ट्रले ठूलो क्षति व्यहोर्नु परेको हो ।

जनताप्रतिको जिम्मेवारी नबुझी स्वार्थपरक चिन्तन बढाइ स्वच्छ र सकारात्मक चिन्तन नगर्दा यो अवस्था सिर्जना हुन पुगेको हो । नैतिकताविहीन चरित्र र सोच बढाई अहंकार युक्त चिन्तनको परिणाम २०८२÷५÷२३,२४ को घटना घटेको देखिन्छ तर पनि नेतृत्वले अझै अहंकार गर्न छोडेका छैनन् ।

ऐना झुट बोल्दैन । उसले बाह्य जगतमा जे जस्ता आवरण र परिदृश्य छ, त्यसलाई जस्ताको त्यस्तै देखाउँछ तर त्यहाँ देखिने आवरणले अन्तर मनको सत्य जान्न सकेको हुँदैन । किनकी मानवभित्र अन्तरनिहित मनको सत्य उ स्वयम्ले बुझ्न सकेको पाइँदैन । तसर्थ यसको लागि अन्तर मनको सत्यलाई पहिचान गर्ने ज्ञानरुपी ऐनाको जरुरी पर्दछ ।

ज्ञानरुपी ऐनाले देखाउने कर्मले नै जीवनलाई सहज गति दिने बलियो आधार तयार गर्न सक्छ । मैले त यति वर्ष यो यो गरे मलाई त सबै अनुभव छ भनी अहंकार युक्त विचारलाई सर्वोपरी ठान्ने हो भने यो किमार्थ राम्रो पक्ष होइन । किनकी ज्ञान खोजेर पाइने चिजवस्तु होइन, यो जान्नको लागि त यस भित्रको सत्य थाहा पाउन मेहनत र पसिना बगाउन सक्ने क्षमता राख्न सक्नु पर्दछ ।
जनताको मर्म र पसिनाको मूल्य बुझ्न सक्नु पर्दछ । मानवीय विवेकले दिन खोजेको इशारा बुझ्न सक्नु पर्दछ । विगत र भविष्यमा हुने स्थितिको आँकलन गरी चिन्तनमा सेवा र सद्भावको वातावरण बनाउन सक्नु पर्दछ । निस्वार्थ र विश्वास योग्य कर्म र व्यवहार गर्न सक्नु पर्दछ । अरुको भलाइ नै हाम्रो एकमात्र उद्देश्य हो भनी सत कर्ममा तल्लीन हुन सक्नु पर्दछ ।

अन्यथा ऐनाले देखाए जस्तै बाहिर–बाहिर निको होइजा, भित्र–भित्र कुहिजा जस्तो बाह्य आवरणले मात्र केही नहुने सत्य भर्खरै घटेका घटनाले प्रमाणित गरिसकेको छ । यो सबैले बुझ्न जरुरी छ । जनताको विश्वास र भरोसालाई व्यक्ति केन्द्रित स्वार्थमा लिप्त हुनाको परिणाम यो अवस्था आएको हो । अर्को कुरा अरुको भलाई गर्ने आत्मतत्वले कहिले पनि अपमानित भएर बाँच्नु पर्दैन ।

यस्तो आचरण र व्यवहार गर्ने मानिसको विचार सधैँ उत्तम गति उन्मुख हुन्छ । यस्तो प्रवृत्ति उन्मुख सोच र चिन्तनलाई कुनै पनि दुरात्माले समेत असर पु¥याउन सक्दैन । तसर्थ यस कुरालाई मनन गर्न जरुरी छ । फेरि अर्को कुरा क्षणिक लोभ र मोहमा फसेको, अरुको आत्मालाई रुवाइ स्वार्थपूर्ति गरेको व्यक्ति सधै कुण्ठीत मन लिएर बसेको हुन्छ । यस्ता व्यक्तिलाई मात्र सुरक्षाको आवश्यकता पर्दछ तर कर्म र व्यवहारवाट सबैको भलो चाहने व्यक्तिलाई सुरक्षित हुनु पर्ने अवस्था आउँदैन ।

उसलाई त जनताले सधैँ सुरक्षाको घेरामा राखेको हुन्छ । जसरी सत्यलाई सत्य भनिरहनु पर्दैन त्यसैगरी इमान्दार र कर्तव्य निष्ठ मानव विचारलाई तौली रहनु पर्दैन । विचार निरन्तर बगिरहने यस्तो तत्व हो जसको न त सुरु छ न त अन्त नै छ, यो निरन्तर बगिरहने नदी समान हुन्छ । तसर्थ पवित्र आत्माले उचित ठह¥याएको जीवनशैली अपनाएर आफूलाई कर्म र व्यवहारमा उतार्नु पर्दछ ।

विविध विचार र स्वार्थ फरक चिन्तनले ल्याउने परिणामको ख्याल गरी समय र परिस्थिति अनुकूल मानिसले सधैं सत्य र सकारात्मक चिन्तनका साथ अगाडि बढ्ने संकल्प गर्नुपर्दछ । मानिसहरु जीवन र परिस्थिति आफ्नो नियन्त्रणमा छ, म भनेको त ठूलो मान्छे हु भनी अहंकार गर्छ भने त्यस्को निश्चनै अन्त पनि हुन्छ । जसले म समयभन्दा अगाडि छु भनी आफूमा गर्वको महसुस गर्दछ, त्यो उसको अहंकार हो ।

किनकि समय कसैको बसमा पनि हुँदैन र मानिसले चाहेर पनि यो रोकिँदैन । मानिसले परिस्थितिलाई क्षणिक आवरणभित्र आफू अनुकूल बनाउन सक्ला, काम र कर्तव्यमा आफूलाई समर्पण गराउन सक्ला तर समयसँग अघि बढ्ने परिस्थितिलाई आफ्नो बसमा पार्न सक्छु भनी घमण्ड गर्नु किमार्थ सत्य ठहरिँदैन । तसर्थ विचार र भावनामा बहकिने मनलाई एकाग्रतामा ल्याई सकारात्मक प्रवृत्ति उन्मुख बनाउनु नै मानवीय जिम्मेवारी पनि हो ।

किनकि जीवन र परिस्थिति भनेको समयको चक्रभित्र चलिरहने एउटा प्रक्रिया हो । यसलाई बुझ्न जरुरी छ । विचार र कर्मले ल्याउने परिणामको ख्याल गरेर कुनै पनि कार्य गर्नु पूर्व आफू अन्तर्निहित विचारमा आएको परिणामको मूल्याङ्कन गर्दै विचारलाई तौलेर भावनालाई मुखरित गर्नुपर्दछ । स्वच्छ र पवित्र ज्ञान धारण गरेर कर्ममा उतार्न सक्नुपर्दछ । सस्तो लोकप्रियताको लागि कुनै पनि कर्म गरिन्छ भने त्यो क्षणिक हुन्छ ।

त्यसले समाज र राष्ट्रको उन्नति होइन अवनति गर्न सक्छ । यति मात्र होइन अवनतिसँगै व्यक्तिको जीवन पद्धति नै नरक समान हुन्छ । तसर्थ स्वार्थ र अहंकार स्वरुप देखा पर्ने विचारलाई समय मै पन्छ्याउन सक्नु पर्छ । अभिमान र अहंकारले परिपोषित विचारले जब मानव चेतनालाई जगट्न सुरु हुन्छ, त्यसै बेलादेखि नै मानिसको पतन मार्ग सुरु हुन्छ । तसर्थ जो हिजो थियो त्यो आज नहुन सक्छ र आज जे छ त्यो भोलि नहुन सक्छ भन्ने बोध गरी आफूलाई प्रदर्शन गर्नुपर्छ ।

म त स्वच्छ र पवित्र छँु । मैले कोही कसैलाई कुनै किसिमको क्षति पु¥याएको पनि छैन र भ्रष्ट र आचरणहीन काम पनि गरेको छैन । अरुको मानहानी हुने तथा अपमान हुने कार्य पनि गरेको छैन भन्ने तर कर्म र विचार प्रवाह गर्दा अरुको मानहानी हुने तथा अपमान हुने किसिमले कर्म गरिन्छ भने त्यो निश्चय पनि उस व्यक्तिभित्रको अहंकार र घमण्डको रुप भन्ने बुझ्नु पर्दछ ।

त्यसैले आज मेरो पासमा जे छ त्यो हिजो तिम्रो साथमा थियो र आज मसँग जे छ त्यो भोलि तिम्रो पनि हुन सक्छ भनी आफ्नो ब्रह्मसत्यले देखेको सत्यलाई ग्रहण गरी चहराइरहेको घाउमा मलमपट्टी गर्दै समाज र राष्ट्रलाई आदर्श गति उन्मुख गराउने विचार प्रवाह गर्न सक्नुपर्दछ । यो वर्तमानको आवश्यकता हो । समुन्द्रको छाल झै एक पछि अर्को गर्दै आइरहने विचार र अवसरलाई अन्तर मनको शुद्धताले कसी लगाउँदै अकबरी सुन झै विचार प्रवाह गर्नुपर्दछ । तब मात्र आफूले खोजेको विकासका पूर्वाधार तयार हुन्छ । समाज राष्ट्रले खोजेको आदर्श भेटिन सक्छ । चेतना भया ।