देउखुरी,२८ असोज । लमही नगरपालिकाको पशु सेवा केन्द्रमा पशु उपचारका लागि आउने किसानहरूको संख्या अघिल्लो वर्षको तुलनामा बढ्दो क्रममा रहेको छ । पशु सेवा केन्द्रका पशु चिकित्सक डा संजय श्रेष्ठका अनुसार यो वर्ष साउनदेखि असोज महिनासम्म करिब एक सय पचासभन्दा बढी किसानले केन्द्रबाट सेवा लिएका छन ।
उनीहरूले खसी, बोका, बाख्रा, कुखुरा, हाँस, कुकुर, राँगा, भैंसी, गाई र गोरु लगायतका पशुहरू उपचारका लागि ल्याउने गरेको डा श्रेष्ठले जानकारी दिए ।
लमही नगरपालिकाले किसानलाई सहज र गुणस्तरीय सेवा पुर्याउने उद्देश्यले पशु सेवा केन्द्र स्थापना गरेको हो। उक्त केन्द्रमा एक जना पशु चिकित्सक डा श्रेष्ठ र सहायक मत्य विकास अधिकृत गणेश चौधरी गरी दुई जना प्राविधिकमार्फत सेवा प्रदान हुँदै आएको छ ।
केन्द्रले बंगुरलाई खसी बनाउने, भाले बधिया बनाउने जस्ता कार्यहरू निशुल्क रूपमा गर्दै आएको छ। साथै, सबै प्रकारका पशुहरूको ल्याब परीक्षणको सुविधा पनि उपलब्ध छ । पशु मरेको अवस्थामा पोस्टमार्टमसमेत गरिने र कुकुरपालकले आवश्यक सामग्री उपलब्ध गराएमा निशुल्क कुकुर बन्ध्याकरण सेवासमेत प्रदान गरिने जनाएको छ ।
डा। श्रेष्ठका अनुसार अहिले केन्द्रमा औषधि पर्याप्त मात्रामा उपलब्ध छन । “हामीले सेवा लिन आएका सबै कृषकलाई आवश्यक सेवा दिएरै पठाएका छौं,” उनले बताए । बाख्राको पाठी बिरामी भएर औषधि गर्न पशु सेवा केन्द्रमा लिएर आएका लमहीका एक किसानले नगरपालिकाको पशु सेवा केन्द्रमा डाक्टरसहितको सेवा किसानले पाउनु खुशीको कुरा भएको बताएका छन ।
उनका अनुसार सेवा केन्द्रले किसानका लागि सहज र प्रभावकारी सेवा प्रदान गरिरहेको छ, तर अझै सेवाको दायरा विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ । व्यवसायिक रूपमा कृषि पेशामा लागेका सबै किसानको पहुँचमा सेवा पुग्नुपर्नेमा किसानहरुको भनाई छ ।
घर पालुवा कुकुर बिरामी भएर पशु सेवा केन्द्रमा उपचार गर्न आएका लमहीका प्रकाश सुनारले भने, “अब त डाक्टरसहितको सेवा पाउन थालेका छौं, यो खुशीको कुरा हो । पेसेवर रुपमा कृषि कर्ममा लागेका किसानका आवश्यकता अनुसार स्थानीय सरकारले सेवा केन्द्रको थप सेवाहरु उपलब्ध गराउनुपर्छ ।