टेकबहादुर पुन
देउखुरी, २९ असोज । जिल्ला प्रशासन कार्यालय दाङको आयोजनामा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम लमहीमा सम्पन्न भएको छ । कार्यक्रम स्थानीय तह, सुरक्षा निकाय, संघसंस्था तथा नागरिक समाज बिचको सहकार्यमा सम्पन्न भएको हो ।
समाजमा बढ्दो अपराध, लागूऔषधको दुरुपयोग, विपद् व्यवस्थापन, आत्मदाह र सेवा प्रवाह सुधारका विषयमा छलफल भएको थियो । दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षता तथा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले लमही नगरपालिकाले शान्ति सुरक्षा र सेवा प्रवाह सुधारलाई उच्च प्राथमिकतामा राखेको बताए ।
उनले भने, ‘शान्ति र सुरक्षाबिना विकास सम्भव हुँदैन । प्रशासन, प्रहरी र नागरिक सबैको संयुक्त प्रयासबिना स्थायी शान्ति आउँदैन ।’ नगर प्रमुख चौधरीले नगरपालिकाले अपराध नियन्त्रणका लागि वडास्तरमै सचेतनामूलक कार्यक्रम, निगरानी समिति र युवा स्वयम्सेवक परिचालन गर्ने योजना अघि सारेको बताए ।
‘हामी सबैले आफ्नो घर, टोल, विद्यालय र कार्यालयबाटै सुरक्षाको अभियान सुरु गर्नुपर्छ । नगरपालिकाले सुरक्षासँग सम्बन्धित हरेक सकारात्मक प्रयासमा साथ र सहयोग गर्नेछ ।’ कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अर्यालले चाडपर्व नजिकिँदै गर्दा अपराधका घटना बढ्ने सम्भावनालाई मध्यनजर गर्दै नागरिकलाई सतर्क रहन आग्रह गरे । ‘चाडबाडमा जुवा–तास, मदिरा सेवन, अनैतिक कार्य जस्ता गतिविधि रोक्न सबैको भूमिका जरुरी छ ।
देउसी–भैलो राति १० बजेपछि नखेल्नुस् र कुनै पनि अवैध गतिविधि देखेमा सिधै प्रहरी वा प्रशासनलाई जानकारी गराउनुस्’, प्रजिअ अर्यालले भने, ‘सुरक्षा र विकास दुवैका आधार नागरिकको जिम्मेवारी हो । हामी सबै मिलेर अपराधमुक्त, सभ्य र सुरक्षित समाज बनाउन सक्छौँ ।’ प्रजिअ अर्यालले नागरिक समाज, विद्यार्थी, सञ्चारकर्मी, महिला समूह र युवालाई स्थानीय स्तरमा शान्ति अभियानका सह–सहभागी बन्न आह्वान गरे ।
कार्यक्रममा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले समाजमा सुरक्षासँग सम्बन्धित चुनौतीबारे बताउँदै स्थानीय तहले अपराध नियन्त्रण र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताइन् । यसैगरी जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठले अपराध नियन्त्रणमा प्रहरीको प्रतिबद्धता दोहो¥याउँदै जनताको सक्रियता आवश्यक भएको बताए ।
सुरक्षा निकाय मात्र पर्याप्त नहुने बताउँदै श्रेष्ठले नागरिक स्वयम् सचेत र जिम्मेवार नहुँदासम्म शान्ति सुरक्षा सुनिश्चित नहुने बताए । कार्यक्रममा शान्ति सुरक्षा र अपराध नियन्त्रणका विषयमा प्रहरी निरीक्षक कविराज रोकायले जानकारी गराएका थिए ।
उनले दाङको हालको अपराध अवस्थाबारे जानकारी दिँदै साना अपराध (चोरी, ठगी, साइबर अपराध, आत्मदाह, घरेलु हिंसा, लागूऔषध कारोबार) बढ्दो क्रममा रहेको बताए । रोकायका अनुसार अपराध नियन्त्रणका लागि समुदाय, विद्यालय, परिवार र सुरक्षाकर्मीबिच सशक्त सहकार्य आवश्यक छ ।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक मनोजकुमार धितालले विपद् तथा चुनौतीका सन्दर्भमा प्रस्तुत गरेका थिए । उनले प्राकृतिक विपद् बाढी, पहिरो, आगलागी, सडक दुर्घटनालगायत आकस्मिक घटनाको जोखिम घटाउन सशस्त्र प्रहरी बलले अपनाइरहेको रणनीति र तयारीबारे जानकारी गराएका थिए । कार्यक्रममा सहभागी अन्य वक्ताले जिज्ञासा र सुझाव राखेका थिए ।
कार्यक्रममा पत्रकार दशरथ घिमिरे, व्यवसायी हल्लुप्रसाद चौधरी, प्रेम पुलामी, शशी परियार, पवन रिजाल र डिल्लीराज खनाललगायतले अपराध नियन्त्रणका उपाय, प्रहरी सेवाको पहुँच, जनचेतना र सहकार्यका विषयमा सुझाव दिएका थिए ।