अर्गानिक खेती, हरियो भविष्य

भुपेन्द्र सुवेदी

हाम्रो देश नेपालको पहाड, तराई र हिमाल—तीनै भौगोलिक क्षेत्र जीवन र स्रोत–साधनका दृष्टिले अत्यन्त धनी छन् । तर विडम्बना के छ भने, किसानले भरिएको यो कृषिप्रधान राष्ट्र आज आफैंले उपभोग गर्ने खाद्य वस्तुहरु—जस्तै बेसार, खुर्सानी, तरकारी, फूल र फूलका माला समेत—विदेशबाट आयात गर्न बाध्य छ । यसलाई भन्दा ठूलो लाजमर्दो अवस्था अर्को के हुन सक्छ ?

नेपालका खेतबारीमा उत्पादन हुनुपर्ने वस्तु भारत, चीन वा अन्य देशबाट आउने क्रम बढ्दो छ । यसले न केवल हाम्रो आत्मनिर्भरता घटाएको छ, बरु राष्ट्रिय अर्थतन्त्रकै ठूलो हिस्सा विदेशी बजारमा बगाइरहेको छ । यसको मूल कारण भनेको हाम्रो युवाशक्ति विदेश पलायन हुनु र बाँकी जनशक्तिको उत्पादक क्षेत्रप्रति उदासीनता हो । शिक्षा, सीप र क्षमता भएका युवाहरु रोजगारीको खोजीमा विदेश पुगेका छन् भने देशमै रहेका केही जनशक्ति बेरोजगारी र निराशाको हिलोमा फसिरहेका छन् ।

आधुनिक खेतीको नाममा रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले हाम्रो माटोको उर्वरता ह्रास हुँदै गएको छ । यसले खेतीको लागत बढाउँछ तर फलस्वरुप प्राप्त हुने फसलले लगानी धान्न नसक्ने अवस्था सिर्जना गरेको छ ।
वैज्ञानिक अध्ययनले देखाउँछ कि आज हरेक नेपाली नागरिक दैनिक उपभोग गर्ने अन्न, तरकारी वा फलफूलबाट औसत ०.३२ मिलिग्राम विषादी शरीरमा प्रवेश गर्छ । यही कारणले जनस्वास्थ्यमा क्यान्सर, मुटुरोग, मिर्गौलाको समस्या र छालासम्बन्धी रोगहरु बढ्दै गएका छन् । नेपाल प्राकृतिक दृष्टिले अत्यन्तै सम्पन्न मुलुक हो । हाम्रा पहाड, जङ्गल र नदी–नालाहरुमा अनगिन्ती जडिबुटीहरु पाइन्छन् ।

प्राचीन ऋषि आत्रेय र आत्रेय राजले आफ्नो आयुर्वेद संहितामा उल्लेख गरेअनुसार “शृङ््ग्यशैलादचत्वारः अन्ये शालिम्यादयः” — अर्थात जडिबुटीका अष्टवर्गीय वनस्पतिहरु हाम्रो भूभागमै उत्पन्न हुने उल्लेख गरिएको पाइन्छ । वास्तवमा जडिबुटीका परिवारहरु—लेप्य, पर्ण, क्षुप, लता, गुल्म र वृक्षका हजारौँ प्रजातिहरु नेपालमा पाइन्छन्, जुन विश्वका धेरै देशभन्दा गुणात्मक र परिमाणात्मक दृष्टिले दसौं गुणा बढी छन् ।

आत्रेय राजले यार्सागुम्बालाई “भूसञ्जीवनी” अर्थात पृथ्वीमा पुनर्जीवन दिने शक्ति भएको वनौषधि भनेर व्याख्या गर्नुभएको छ । यसले नेपाललाई जडिबुटीका दृष्टिले गौरवमय राष्ट्र बनाएको छ । “भूपरीवेष्टितः राष्ट्रः वनौषध्यः पुरितम्” — अर्थात पर्वतहरुले घेरेको यो राष्ट्र वनौषधिले परिपूर्ण छ । तर विडम्बना, यति ठूलो प्राकृतिक सम्पदा भएर पनि हामी त्यसको सही उपयोग गर्न नसकेका कारण देश आर्थिक संकट र बेरोजगारीको दलदलमा फसेको छ ।

अब समय आएको छ—हामीले अर्गानिक कृषिको बाटो समातौं । जडिबुटी खेतीलाई व्यवस्थित, व्यावसायिक र अनुसन्धानमुखी बनाएर विदेशमा यसको माग अनुसार निर्यात गर्न सके, यो क्षेत्र देशको अर्थतन्त्रमा टेवा पु¥याउने प्रमुख आधार बन्न सक्छ । मेचीदेखि महाकालीसम्मका किसानलाई जडिबुटीका प्रजातिबारे जानकारी दिन, तिनको खेतीका लागि तालिम र प्रोत्साहन प्रदान गर्न राज्यले विशेष नीति अपनाउनुपर्छ ।

हामीले जडिबुटीलाई केवल वनमा उम्रिने बोट होइन, आर्थिक पुनर्जागरणको आधारका रुपमा हेर्न सक्नुपर्छ । यदि युवाशक्ति, विज्ञ, किसान र उद्यमीले मिलेर यस क्षेत्रमा लगानी गर्न थाले भने नेपालको आयातमुखी अर्थतन्त्र निर्यातमुखी बन्न सक्छ । यसका लागि सरकारले अनुसन्धान केन्द्र स्थापना गरी स्थानीय स्तरमा उत्पादन, प्रशोधन, प्याकेजिङ्ग र बजार व्यवस्थापनको संयन्त्र बनाउने खालको दीर्घकालीन योजना आवश्यक छ ।

नेपालको संविधान २०७२ ले पनि प्राकृतिक स्रोत, वन, बन्यजन्तु र जैविक विविधताको संरक्षण र उपयोगको नीति स्पष्ट रुपमा उल्लेख गरेको छ । नीति बुँदा ५ मा भनिएको छ—“जनसाधारणमा वातावरणीय स्वच्छता सम्बन्धी चेतना बढाई, औद्योगिक तथा भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिमलाई न्यूनिकरण गर्दै जैविक विविधताको संरक्षण, संवद्र्धन र उपयोग गर्नुपर्छ ।”

त्यसैले अब हाम्रो जिम्मेवारी हो—बनेका नीति कागजमा मात्र होइन, व्यवहारमा उतार्ने । जडिबुटी खेती र वनऔषधी उद्योगको स्थापना गरी हाम्रा जङ्गलमा सडेर नष्ट भइरहेका वनस्पतिहरुलाई नयाँ जीवन दिन सकिन्छ । यसले ग्रामीण क्षेत्रका किसानलाई आम्दानीका अवसर सिर्जना गर्नेछ, बेरोजगार युवालाई देशमै रोजगारी दिनेछ, र राष्ट्रलाई आत्मनिर्भर बनाउनेछ ।

नेपाललाई फेरि “सुनको थालमा माग्न बसेको” भन्ने व्यङ्ग््यात्मक भनाइबाट मुक्त गर्न यही बाटो अवलम्बन गर्नुपर्छ । राजनीतिक घोषणापत्रको खोस्टो भन्दा व्यवहारिक कार्य नै अबको आवश्यकता हो । युवाहरुले राष्ट्रको समृद्धि आफ्नै हातले लेख्ने सङ्कल्प गर्नुपर्छ—“स्वदेशमै काम गरौं, स्वदेशमै कमाऔं, र आफ्नै आँगनमा अभिमानले टेकेर बाँचौं ।”

हाम्रो माटो, पानी र हावामा असीम सम्भावना लुकेको छ । हामीले त्यो सम्भावनालाई पहिचान गरी जडिबुटी र अर्गानिक कृषिको बाटो समात्यौं भने नेपाल फेरि एकपटक “हरियो वन नेपालको धन” भन्ने उक्ति प्रमाणित गर्ने देश बन्न सक्छ । आत्मनिर्भरता र स्वाभिमानको यही बाटोले हामीलाई समृद्ध नेपालतिर डो–याउनेछ ।