गोरक्ष समाचारदाता
दाङ, २७ असोज । नेकपा एमाले दाङले घोराहीमा प्रदर्शन गरेको छ । जेन–जी आन्दोलनपछि पहिलो पटक एमालेले घोराहीमा शान्तिपूर्ण जागरण ¥याली गरेको हो ।
एमालेका २३ वटा जनवर्गीय संगठनको संयुक्त आयोजनामा घोराहीको ट्राफिक चोकबाट सुरु भएको प्रदर्शन घोराही बजारका विभिन्न स्थान परिक्रमा गरी तुलसीपुर चोक हुँदै विद्युत कार्यालय अघि पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै जनवर्गीय समन्वय संयन्त्रका इन्चार्ज मनोहर बुढाथोकीले सरकारलाई समाजमा सुरक्षाको प्रत्याभूति छ भनेर नागरिकलाई आभास दिलाउन आग्रह गरेका छन् । जेन–जी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीबन्दीसँगै आन्दोलनका क्रममा लुटपात, आगजानी र हत्यामा संलग्नलाई कारबाही गर्न सरकारले देखाएको उदासीनताका कारण नागरिकमा भय रहेको बताए ।
उनले अराजक गतिविधिमा संलग्नलाई यथासक्य कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका थिए । नेकपा एमाले दाङका उपाध्यक्षसमेत रहेका बुढाथोकीले एमालेको शक्तिलाई कमजोर नठान्न चेतावनी दिँदै एमालेप्रति प्रतिशोध नसाँध्न सरकारलाई आग्रह गरेका थिए । परिवर्तनका लागि भएको आन्दोलनलाई केही व्यक्तिले एमालेमाथि प्रतिषोध साँध्न खोजेको भन्दै विरोध गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय युवा संघ दाङका अध्यक्ष विवेक योगीले जेन–जीका मागप्रति युवा संघ सकरात्मक भएको भन्दै जेन–जीका नाममा हुने अराजकता स्वीकार्य नहुने बताए । जेन–जीका सकारात्मक माग पूरा हुनुपर्ने भन्दै जेन–जीको नाममा तोडफोड, आगजनी, लुटपात र हत्यामा संलग्नलाई छुट दिन नहुने बताए । अनेरास्वीयु दाङका अध्यक्ष प्रदीप बस्नेतले जेन–जी आन्दोलनमा भएका निजी, सार्वजनिक सम्पत्ति तोडफोड, लुटपात र आगजनीमा संलग्नलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघ दाङका अध्यक्ष केशव गिरी, भूमि अधिकार मञ्चकी केन्द्रीय सदस्य लीला नेपाली, जेन–जी प्रतिनिधि रोजिना चौधरी, एमाले संघका देवु बस्नेतलगायतले मन्तव्य व्यक्त गरेका थिए । उनीहरू राज्यलाई कारबाही नगरे युवा संघले कारबाही गर्ने चेतावनी दिएका थिए । ¥यालीमा सहभागीले सुशासन कायम गर्नुपर्ने, लुटिएको हतियार फिर्ता गर्न, संविधान, लोकतन्त्रको रक्षासँगै सरकारले किसानको माटो खोस्ने निर्णय गरेको भन्दै नारालगाएका थिए ।