७० लाखको खसी–बोका बिक्री

अमरराज आचार्य
दाङ, २७ असोज । देउखुरीका दुई पालिकाबाट करिब ७० लाख रुपैयाँको खसी–बोका बिक्री गरिएको छ । गढवा र राजपुर गाउँपालिकाबाट दसैँ अवधिभर ७० लाख रुपैयाँको खसी–बोका बिक्री गरिएको हो ।

गढवा गाउँपालिका भिटा परियोजना संयोजक गिरिराज भट्टका अनुसार दसैँमा आठ हजार नौ सय ९६ केजी खसी–बोका बिक्री गर्दा ४८ लाख ५७ हजार आठ सय रुपैयाँ किसानले आम्दानी गरेका छन् । उनका अनुसार अहिले पनि खसी–बोका खरिद बिक्री भइरहेको छ । यसैगरी गढवा गाउँपालिकाबाट दसैँमा एक सय ६६ वटा खसी–बोका बिक्री गरिएको छ ।

पालिकामा रहेको गढवा सामाजिक उद्यम महिला सहकारी संस्थामार्फत् किसानले खसी–बोका बिक्री गरेका हुन् । ५४ जना किसानले सहकारीमार्फत् तीन हजार आठ सय ३५ केजी खसी–बोका बिक्री गरेको गढवा सामाजिक उद्यम महिला सहकारी संस्थाका व्यवस्थापक वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार किसानले खसी–बोका बिक्रीबाट २१ लाख एक हजार रुपैयाँ आम्दानी गरेका छन् ।

सहकारीले खसी–बोका खरिद गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बिक्री गर्ने गरे पनि यस वर्ष भने खाद्यले खसी–बोका खरिद नगरेपछि व्यापारीलाई बिक्री गरेको व्यवस्थापक शर्माले बताए । सहकारीमार्फत् खरिद गरिएको खसी–बोका खाद्यलाई भन्दा कम मूल्यमा व्यापारीलाई बिक्री गरेको उनले बताए ।

‘खाद्यसँग प्रतिकेजी पाँच सय ८० रुपैयाँमा बिक्री गर्ने कुरा भएको थियो तर खाद्यले खरिद नगरेपछि व्यापारीलाई पाँच सय ५० रुपैयाँमै बिक्री ग¥यौँ’, व्यवस्थापक शर्माले भने । किसानको सहजताका लागि सहकारीले समन्वय गरिदिएको उनले बताए ।

हरेक वर्ष जिल्लाबाट खसी–बोका खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष खरिद गरेन । देशको अवस्थाका कारण केन्द्रबाट जिल्लामा खसी–बोका खरिद नगर्ने भनेपछि कम्पनीले खरिद नगरेको हो । जिल्लाबाट खसी–बोका खरिद गरेर हरेक वर्ष व्यापार कम्पनीले काठमाडौं पठाउँदै आएको थियो । जिल्लाबाट गत वर्ष दसैँका लागि तीन सय ८६ वटा खसी–बोका खरिद गरेर व्यापार कम्पनीले काठमाडौं पठाएको थियो । गत वर्ष व्यापार कम्पनीले तीन सय ४६ वटा खसी र ४० वटा बोका खरिद गरेर काठमाडौं पठाएको कम्पनीले जनाएको छ ।

जिल्लाका पशुपालक किसानले व्यावसायिक रूपमा बाख्रापालन गर्ने भएकाले खाद्यले हरेक वर्ष जिल्लाबाट खसी–बोका खरिद गर्दै आएको थियो । व्यापार कम्पनीले जिल्लाका तुलसीपुर, रिहार, सुनडबरी, बनघुस्रीलागयतका स्थानबाट खसी–बोका खरिद गर्दै आएको थियो । सरकारले चाडपर्वको समयमा व्यवसायीबाट हुने कृत्रिम मूल्य वृद्धि रोक्न खसी–बोका खरिद गरेर छुटसहित उपभोक्तालाई बिक्री गर्दै आएको छ ।

यसले मासुको मूल्य वृद्धि रोक्न सकिने सरकारले बताउँदै आएको छ । दसैँ–तिहारमा खसी–बोकाको कारोबार धैरै हुने र मनपरी मूल्यमा बिक्री वितरण हुने भएकाले सरकारले हरेक वर्ष खसी–बोका खरिद गरेर उपभोक्तालाई तोकेकै मूल्यमा बिक्री गर्ने गरेको छ । चाडपर्वमा बढी मात्रामा मासु खपत हुने भएकाले मूल्य बढाउन नदिनका लागि बजार मूल्य नियन्त्रण गर्न सरकार आफैँले खसी–बोका खरिद–बिक्री गर्दै आएको छ ।