टेकबहादुर पुन
देउखुरी, २६ असोज । लुम्बिनी प्रदेशका सभामुख तुलबहादुर घर्तीमगरले समाजमा विद्यमान उत्पीडित र उत्पीडक वर्गबीचको मनोवैज्ञानिक दरार नै विभेदको मूल कारण भएको बताउँदै विभेदरहित संस्कृति निर्माणमा लाग्न साहित्यकारलाई आग्रह गरेका छन् ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल दाङ शाखाले भक्ति थापा स्मृति पार्क लमहीमा आयोजना गरेको जिल्लाव्यापी मासिक शृङ्खला कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै सभामुख घर्तीले भने समाजमा अहिले पनि उत्पीडित वर्ग र उत्पीडक वर्गबीच मनोवैज्ञानिक दरार रहेको भन्दै यसलाई हटाउन आवश्यक रहेको बताए । उनले २०६३ सालको जनआन्दोलनले उत्पीडित वर्ग र समुदायलाई समानुपातिक समावेशीका आधारमा सत्तामा ल्याए पनि विभेद हटाउने विषयमा निष्ठापूर्वक काम हुन नसकेको बताए । जसका कारण अहिलेपनि समाजमा असन्तोष उत्पन्न हुने गरेको बताए ।
सभामुख घर्तीले पदानुक्रमिक विभेदको विषयमा छलफल चलाउँदै समतलीय संस्कृति निर्माणमा लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको प्रशंसा गर्दै वर्तमान अवस्थामा गरिँदै आएको उचनिचको संरचना हटाउनका लागि सचेतनामुलक कार्यक्रममा जोड दिनुपर्ने बताएका थिए । कार्यक्रममा दाङ जिल्लामा साधनारत नारी स्रष्टाहरूको पहिचान र योगदान विषयमा सन्ध्या रेग्मी र विभेदरहित संस्कृति निर्माणमा साहित्य र कलाको भूमिकाको विषयमा ऋषि आजादले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि बुनु लामिछानेले टिप्पणी गरेकी थिइन् भने विभेदरहित संस्कृति निर्माणको विषयमा सबै वक्ताहरूले आआफ्नो धारणा राखेका थिए।
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका संस्थापक पुरुषोत्तम खनालले आफूहरूले मेहनत गरेर स्थापना गरेको संस्था निरन्तर क्रियाशील भइरहँदा खुसी लागेको बताउँदै रचनात्मक क्रियाकलापमा यो संस्थाको भूमिका महत्वपूर्ण रहने कुरामा जोड दिए । साहित्यकार डा. टिकाराम उदासीले नारी स्रष्टाको विषयमा एकमुष्ट विवरणसहित तथ्य प्रस्तुत गरेकोमा सन्ध्या रेग्मी र टिप्पणीकर्ता बुनु लामिछानेलाई धन्यवाद दिँदै विभेदरहित संस्कृति निर्माणमा साहित्यकार र कलाकारले भूमिका खेल्नुपर्ने विषयमा महत्वका साथ विचार प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बरिष्ठ साहित्यकार उत्तम कृष्ण मजगैंयाले कार्यपत्रमाथि सुधारको सुझावसहित विभेदलाई एकमुष्ट रूपमा प्रस्तुत गरिएको भन्दै विभेदरहित संस्कृति निर्माणमा साहित्य र कलाको भूमिका रहने बताए । कार्यक्रम लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङका अध्यक्ष एवम् साहित्यकार नीमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा रामगोपाल यादव, केशरी यादव, शनिराम चौधरी, तीला पन्थी ‘सुस्मिता’, पुरन शर्मा, शारदा शर्मा, डा. कृष्णराज डि सी, चन्द्रबहादुर थापा, दीपक शर्मा समीरले कविता वाचन तथा विचार प्रस्तुत गरेका थिए। कार्यक्रममा केशरी यादव, शनिराम चौधरी र तीला पन्थी ’सुस्मिता’लाई संस्कृति संरक्षण र साहित्यमा विशेष योगदान दिएको भन्दै सम्मान गरिएको थियो। उपाध्यक्ष राधा गौतमको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिव गुरुप्रसाद कुमाल ‘बुलबुल’ले गरेका थिए।