गोरक्ष समाचारदाता
दाङ,२६ असोज । बुद्ध इन्टरनेशनल हस्पिटल प्रालि घोराहीको प्रमुख कार्यकारी अधिकृतमा किशोर आचार्य नियुक्त भएका छन् । अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवाको गुणस्तर सुधार र व्यवस्थापनमा सशक्त नेतृत्व प्रदान गर्ने उद्देश्यले जनस्वास्थ्य क्षेत्रमा लामो अनुभव लिएका आचार्यलाई अस्पताल सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
स्वास्थ्य कार्यालय दाङको प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गरेका आचार्य लामो समयदेखि जनस्वास्थ्य क्षेत्रसँग आबद्ध रहँदै उल्लेखनीय अनुभव हासिल गरेका अनुभवी स्वास्थ्य प्रशासकका रुपमा चिनिन्छन । विगतमा स्वास्थ्य कार्यालय दाङका प्रमुखका रूपमा कार्य गर्दै जिल्लाको स्वास्थ्य प्रणाली सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
पदभार ग्रहण गर्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत आचार्यले अस्पताललाई गुणस्तरीय,जनमैत्री र विश्वासिलो स्वास्थ्य सस्थाका रुपमा विकास गर्ने बताएका छन् । अस्पतालको सेवा सुधार, व्यवस्थापकीय पारदर्शिता कायम गर्दै जनविश्वास निर्माण प्रमुख प्राथमिकतामा रहने भन्दै नवनियुक्त प्रमुख आचार्यले भने,‘बुद्ध इन्टरनेशनल हस्पिटललाई गुणस्तरीय, जनमैत्री र विश्वासिलो स्वास्थ्य संस्थाको रूपमा विकास गर्न लाग्नेछु ।’ .
अस्पताल सञ्चालक समितिले आचार्यको जनस्वास्थ्य क्षेत्रमा रहेको लामो अनुभव, नेतृत्व क्षमता र कार्यसमर्पणको कदर गर्दै आचार्यको नेतृत्वमा संस्थाले स्वास्थ्य सेवा क्षेत्रमा नयाँ ऊर्जा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ । २०७४ सालमा स्थापना भएको बुद्ध इन्टरनेशनल हस्पिटलले दाङ तथा आसपासका जिल्लाका नागरिकलाई सेवा दिदै आएको छ ।