रफिकोलको २८ वर्ष : मृत्यु राहतदेखि सुत्केरीलाई प्रोत्साहन

खेमराज रिजाल
तुलसीपुर, २६ असोज । २०५४ सालमा तत्कालीन सरकार माओवादी द्वन्द्वबिच विधिवत रूपमा सञ्चालनमा आएको राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लि–रफिकोलले आफ्नो २८औँ साधारण सम्पन्न गर्दासम्म मृत्यु राहतदेखि सुत्केरी प्रोत्साहन कार्यक्रम समेत सञ्चालन गर्न सफल भएको छ ।

संस्थाको शेयर सदस्यको निधन भएमा प्रतिव्यक्ति एक लाख १० हजार मृत्यु राहत दिने कार्यक्रम ल्याइएको बताइएको छ । राप्ती अञ्चलमै ठुला सहकायी मध्येको रफिकोलले आफ्नो साधारणसभा यो वर्ष तीन स्थानमा सञ्चालन गरी शनिवार तुलसीपुरमा समापन भएको रफिकोलले जनाएको छ । असोज २३ गते रफिकोलले पश्चिम दाङको बबई गाउँपालिका हंशपुरमा साधारणसभा सम्पन्न गरेको थियो भने असोज २४ गते शान्तिनगर गाउँपालिकाको श्रीगाउँमा यस्तै कार्यक्रम सम्पन्न गरेको थियो ।

राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष इन्द्रबहादुर बुढाथोकीको अध्यक्षता तथा बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष हेमराज गौतमको प्रमुख आतिथ्यमा शनिवार तुलसीपुरको समिक्षालयमा भएको २८औँ साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव प्रल्हाद शाहले राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्थाले यहाँसम्म आइपुग्दा सदस्यहरूको मृत्यु राहतदेखि सुत्केरी प्रोत्साहन कार्यक्रम समेत सञ्चालनमा ल्याएको प्रतिवेदन प्रस्तुत गरे ।

साथै प्रतिवेदनमा आगामी दिनमा गरीने कार्यक्रमहरूको पनि फेहरिस्त प्रस्तुत गरे । ‘समुदायमा आधारित आत्मनिर्भर, उत्कृष्ठ र व्यवसायीक वित्तीय सहकारी संस्था’ भन्ने मुल नाराका साथ सन्चालनमा आएको सो सहकारीले यो वर्षदेखि शेयर सदस्यहरूलाई स्थानीयस्तरमै सेवा प्रदान गर्न बबई गाउँपालिकाको हंशपुर र शान्तिनगर गाउँपालिकाको रगैजामा समेत सेवा कार्यालय विस्तार गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी कोषाध्यक्ष कुमार बसन्त आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरे भने लेखा सुपरीवेक्षण समितिका संयोजक गुरुप्रसाद रेग्मीले लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गरे । ऋण तथा बचत सहकारीलाई नियमन गर्न सरकारले सहकारी प्राधिकरण गठन गरेसँगै संस्थाले साधारणसभा पनि प्राधिकरणकै मापदण्ड र निर्देशन बमोजिम सम्पन्न ग¥यो ।

मन्चमा बस्ने कसैलाई व्याच लगाइएको थिएन, खादा लगाइएको थिएन । अनि मन्च पनि रङ्गिन फूलहरूले सजिसज्जा थिएन । सहभागी शेयर सदस्यलाई यातायात वापत कर कट्टि गरेर आठ सय ५० रूपैयाँ बाहेक कार्यक्रममा चिया बिस्कुटको समेत व्यवस्थापन गरिएन । संस्थाका कोषाध्यक्ष कुमार बसन्त आचार्यका अनुसार वार्षिक साधारणसभामा व्याच र खादा तथा मन्च सजावटकै लागि मात्र न्यूनतम २५ हजार रूपैयाँ खर्च हुने गरेको थियो । संस्थाले साधारणसभाको खुला सत्र र बन्द सत्र समेत एउटै श्रृङ्खलामा सम्पन्न ग¥यो ।

खुला सत्रमा केही शुभकामना मन्तव्य र केहिलाई सम्मान गरिएसँगै सोझै सहभागी शेयर सदस्यहरूलाई साधारणसभामा प्रस्तुत भएका तीनवटै प्रतिवेदनका विषयमा सल्लाह र सुझावका लागि खुल्ला छलफल थालियो । खुल्ला छलफलमा आएका विषयहरूलाई सम्बोधन गर्ने गरी आगामी २८ गते संस्थाको सभाहलमा माइन्युट प्रस्तुत गरिने छ ।

माइन्युट लेखनका लागि पनि साधारणसभाकै हलबाट कम्तिमा २० जनाको नाम टिपोट गरिएको थियो । अठ्ठाइसौँ साधारणसभाले तीनवटै प्रतिवेदनलाई सल्लाह र सुझावसहित सर्वसम्मत रूपमा पारित गरी अनुमोदन गरेको छ । साधारणसभामा शेयर सदस्यहरू मध्येबाट दुर्गा डाँगी, गुमानसिंह खत्री, देवीलाल वली, सन्तकुमार केसी र सीमा वलीलाई सम्मान गरिएको छ । त्यसैगरी अशल ऋिणि शेयर सदस्यहरूमध्ये तोला बुढाथोकी, शोभा भण्डारी, वेदप्रसाद योगी, कुमारी गोमा धिताल र शोभा डाँगीलाई सम्मान गरियो ।

त्यसरी ज्येष्ठ सदस्यहरू मध्येबाट सुस्मा श्रेष्ठ र रामकुमार शर्मालाई सम्मानित गरियो । सोही अवसरमा संस्थामा स्थापना भएको रामप्रसाद राफिकोल छात्रवृत्ति गुरुजजुर मावि रक्षाचौरका छात्र आशन अधिकारी र पशुपति मावि हरिवौराका छात्र हेमराज पुनलाई प्रदान गरिएको छ । यी दुवैले २०८१ को एसइई परीक्षामा उत्कृष्ठ जिपिए ल्याएका थिए । त्यसैगरी तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले स्थापना गरेको अक्षयकोषबाट विष्णुप्रसाद केसी स्मृति छात्रवृत्ति पुरस्कार राप्ती बबई क्याम्पसका छात्र केशवराज महतरालाई प्रदान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष बिक्रमबहादुर सोमैको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शुभकामना दिनेहरूमा प्रमुख अतिथि हेमराज गौतम, जनप्रतिनिधिका तर्फबाट वडा सदस्य देवी पोख्रेल, शेयर सदस्य सुस्मा लामिछाने गिरी, पूर्व सल्लाहकारा ढुण्डिराज लामिछाने, पूर्व अध्यक्ष सुरेन्द्र खड्का, पूर्व सचिव विनोद पन्त, पूर्व कोषाध्यक्ष महेशप्रसाद आचार्य, पूर्व सल्लाहकार श्रीधर शर्मालगायत थिए । कार्यक्रमको सहजीकरण संस्थाका सचिव प्रल्हाद शाहले गरेका थिए ।