आत्मनिर्भरताका लागि स्थानीय उत्पादनलाई प्रवद्र्धन : मन्त्री न्यौपाने

आदिम केसी
दाङ, २६ असोज । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले आत्मनिर्भरका लागि स्थानीय उत्पादनमा जोड दिन आवश्यक रहेको बताएका छन् । नारायणपुर उद्योग वाणिज्य संघको २१औँ साधारण सभालाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले स्थानीय उत्पादनमा जोड दिन उद्यमी, व्यवसायी तथा सरोकारवालालाई सुझाएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले स्थानीय उत्पादनको सम्भावनाको खोजी गरी उद्योगी, व्यवसायी तथा सरोकारवालालाई त्यसतर्फ आकर्षण गर्न उद्योग वाणिज्य संघलाई सुझाए ।

‘उद्योग वाणिज्य संघले जिल्लालाई आत्मनिर्भर तथा समृद्ध बनाउनका लागि भूमिका खेल्नुपर्छ । जिल्लाभर रहेका उवासंघले आ–आफ्नो क्षेत्रमा स्थानीय उत्पादनको सम्भावना तयार गरी उद्योगीका लागि प्लेट फर्म निर्माण गर्नुहोस् । दाङ जिल्लाको पहिचानलाई स्थानीय उत्पादनसँग जोड्नका लागि प्रदेश सरकारको सधै साथ रहन्छ’, मन्त्री न्यौपानेले भने, ‘उद्योग, पर्यटन, कृषि तथा अन्य व्यवसायका क्षेत्रलाई विस्तार गर्न सकेका जिल्लालाई समृद्ध बनाउन सकिन्छ । रोजगार, स्वरोजगार सिर्जना गर्न सकिन्छ । यसका लागि उवासंघले भूमिका निर्माण गर्नुपर्छ सरकारको साथ रहन्छ ।’

मन्त्री न्यौपानेले दाङमा धार्मिक, सांस्कृतिक तथा पर्टकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सक्ने गरी काम गर्न आवश्यक रहेको बताए । त्यसका लागि सरोकारवाला संस्थाले लिड गर्नुपर्ने बताउँदै सरकारबाट हुने सहयोगमा कमी नरहने बताए । मन्त्री न्यौपानेले नागरिक सुरक्षाका लागि राज्य बलियो हुनुपर्नेमा जोड दिएका छन् । नागरिकको सुरक्षा र शान्ति स्थापना पहिलो प्राथमिकता हो । नागरिकको सुरक्षाका लागि राज्य बलियो हुनुपर्छ ।

जेन–जी आन्दोलनपश्चात राजनीतिक तरलता बढेको छ । यो राजनीतिक तरलतामा स्वार्थ पूरा गर्नेको भीड बाक्लो देखिन थालेको छ । मन्त्री न्यौपानेले भने,‘यो समय हामी सबै मिलेर राज्यलाई बलियो बनाउन लाग्नुपर्छ । हामी सच्चिनु पर्ने ठाउँमा सच्चिन पनि आवश्यक रहन्छ । जेन–जी आन्दोलन र आक्रोशबाट हामीले पाठ सिक्न आवश्यक छ ।’

कार्यक्रममा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी, घोराही उपमहानगरपालिका वडा नं. १० का अध्यक्ष दिपक पाण्डे, वडा नं. ११ का वडाध्यक्ष कुलबहादुर लामिछाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सल्लाहकार विपुल पोख्रेल, नारायणपुर उद्योग वाणिज्य संघका निवर्तमान अभियान बस्नेत, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठ, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशराज राज भण्डारीलेका थिए ।

त्यसैगरी बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्का, संघका पूर्व अध्यक्ष दानबहादुर बुढाथोकी, महेन्द्र दाहाल, प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, नेपाली कांग्रेस क्षेत्र नं. २ (२) का उपसभापति शरद समीप, नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नं. १० का अध्यक्ष तिलक महरा, राप्रपा केन्द्रीय सदस्य सरीता देवकोटा, पत्रकार सागर खनाल, इलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख प्रकाश शाही, सिद्ध रत्ननाथ नमुना माविका सहायक प्रधानाध्यापक भूपेन्द्रबहादुर रावत, साइन रेसुंगा बैंकका नारायणपुर शाखा प्रमुख बिमल भुसाल, नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण), दुरसचार टोल विकास संस्थाका मोहन आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा महासचिव जागेश्वर प्रसाद डाँगीले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष नारायण भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

व्यवसायीलाई सम्मान

महिला व्यवसायी गीता रावत, खेल क्षेत्रमा योगदान पु¥याएका तथा जिम क्लव सञ्चालक प्रदिप चन्दलाई संघको २१औँ साधारणसभामा सम्मान गरिएको थियो । चन्दले भारतमा सम्पन्न जुनियर ७५ केजी समूहबाट १०औँ विश्व वेट स्ट्रेन्थ लिफ्टिङमा गोल्ड मेडल प्राप्त गरेका थिए । संघले हरेक वर्ष व्यवसायीहरूलाई सम्मान गर्दै आएको छ ।

विद्यार्थीलाई सम्मान तथा पुरस्कार

यसैबिच संघले कक्षा १० को एसइई परीक्षामा नायणपुर क्षेत्र (साविक त्रिपुर) भित्र रहेका विद्यालयबाट उत्कृष्ट जिपए प्राप्त गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । संघले २०८० र २०८१ मा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । २०८० को एसइई परीक्षामा उत्कृष्ट जिपए प्राप्त गर्ने सामुदायिक विद्यालयतर्फ सिद्ध रत्ननाथ नमुना मावि नारायणपुरका उत्सव आचार्य, शिखा वली र मावि निघुवारका देवा बुढालाई सम्मानित भएका थिए ।

त्यस्तै २०८१ एसइई परीक्षामा उत्कृष्ट जिपए प्राप्त गर्ने सामुदायिक विद्यालयतर्फ सिद्धरत्ननाथ नमुना मावि नारायणपुरका भागवत थापा र सविना घर्तीमगर सम्मानित भएका थिए । संस्थागत विद्यालयतर्फ २०८० सालको एसइई परीक्षामा उत्कृष्ट जिपए प्राप्त गर्ने पशुपति विद्याश्रम नारायणपुरका इस्पिता सिजवाल, युनिक मिड वेस्टर्न एकेडेमीका अभिषेक केसी सम्मानित भएका थिए ।

त्यस्तै २०८१ सालको एसइई परीक्षामा उत्कृष्ट जिपए प्राप्त गर्ने ग्रेट बुद्ध एकेडेमीका भुवन पौडेल र पशुपति विद्याश्रमका जेनिशा डाँगी सम्मानित भएका थिए । संघका अध्यक्ष अनिलकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग उपाध्यक्ष बसन्त न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने सहजीकरण महासचिव जागेश्वरप्रसाद डाँगीले गरेका थिए ।