धनको क्षण भङ्गुरता

 

एकराज शर्मा अधिकारी

 

मानिसले धनलाई लक्ष्मी भन्दछन् । लक्ष्मी थिर रहँदैनन् । कमलको पातमा रहेको पानी जस्तो, समून्द्र तरंग जस्तो हुन्छ । बरु वायुलाई समाधिबाट रोक्न सकिएला तर धनलाई रोक्न सकिँदैन । धन कमाएर जो अमर हुन खोज्छ त्यो महा मुर्ख हो ।

 

धनले मानिसमा रहेको शुभ गुणलाई नष्ट गरिदिन्छ । मानिसलाई जड बनाइदिन्छ । जस्तो धेरै ठन्डी भयो भने पानी बरफ बन्छ । त्यस्तै धनले भोगको इच्छालाई बढाइदिन्छ । धनले संसारमा को सुखी भएको छ र ? जसले भोगको चाहना गर्छ, त्यसैले आफूलाई पनि बिर्सन्छ । ज्ञानीको जीवन सुखी हुन्छ । किनभने ज्ञानी पारसमणि जस्तो हुन्छ । पारसमणिले फलामलाई छोए, सुन बनाइदिन्छन् । त्यसैले ज्ञानीको संगत गर्नु जीवनलाई सार्थक बनाउनु हो । पढेर मात्र ज्ञान हुँदैन । ज्ञानमा शान्ति छ, धनमा शान्ति छैन । शास्त्र पढेर मात्र ज्ञान हुँदैन । सार तत्व बुझ्नु पर्छ । अज्ञानीको शिक्षा धार हो भने ज्ञानीको शिक्षा हार हो ।

 

जसले यो अमूल्य जीवन पाएर धन मात्र कमाउँछ, भोगको मात्र इच्छा गर्छ भने त्यसलाई अज्ञानी भनिन्छ । हामी सबै कालको मुखमा छौँ । हामीलाई होश छैन । जस्तो सर्पको मुख परेको भ्यागुताले माखो खान खोजे झै । जीवन रहँदासम्म धन कमाउनुमा नै दौडधुप गरिरहेका छौँ । तैपनि हामीलाई सुख छैन । यो मानव जीवन क्षण भंगुर छ । बालक, यौवन र वृद्ध अवस्था बिताउँदा बिताउँदै मृत्यु आइहाल्छ । धन कमाएर के भयो ? जस्तो भोग विलासमा रमाउने मानिसले सुन्दरी नारीलाई देखेर हेरिरहन्छ । त्यस्तै मृत्युले हामीलाई हेरिरहेको छ ।

 

मृत्युदेखि हामी टाढा छैनौँ । यो दुर्लभ शरीर पाएर हामीले सुखी जीवन बिताउन सकेका छैनौँ । जीवनको महत्व बुझ्न सकेका छैनौँ । आफ्नो नाश आफै गरेका छौँ । विषयको सेवनबाट सुख कहिले प्राप्त हुँदैन । धन पनि नाशवान छ, पद पनि नाशवान छ । मानिसलाई धन ज्यादै प्यारो लाग्छ । धन माया हो, त्यसले सबैलाई भुलाउँछ । यो सुन्दर छ, तर त्यसलाई हामीले माया गर्दै आइरहेका छौँ । अन्तिमा त्यसले हामीलाई खाइदिन्छ । भित्र–भित्र किराले काठलाई खाए झै, मृत्युले हामीलाई खाइरहेको छ । धनबाट सुख खोज्नु भुल हो । जुन युगमा हामी जन्मेका छौँ । त्यो कलियुग हो । धन कलिमा बसेको छ । धनको सदुपयोग गर्न जानेन भने त्यसले आफूलाई नै खाइदिन्छ तर यो युगमा धन नभई कुनै काम हुँदैन ।

 

सबै धर्म, कर्म, धनमा आधारित छन् । तापनि सत्कर्मबाट धन कमाउन पुरुषार्थ हो । धर्म, अर्थ, काम, मोक्षलाई पुरुषार्थ भनिन्छ । धनबाट नै पुरुषार्थ प्राप्त गर्न सकिन्छ । यो युगमा मानिसले बाटो बिराएको जस्तो लाग्छ । हामीले पूर्वीय दर्शन र पाश्चात्य दर्शनको मर्म नजानेर अल्झिएका छौँ । के गर्ने, के नगर्ने थाहा नै छैन । मानव दर्शन मान्ने कि ईश्वरीय दर्शनलाई मान्ने ? अहिले मानिसमा विवेक हराएको छ । त्यसैले विवेकशील हुन पूर्वीय दर्शनको अध्ययन गर्न आवश्यक छ । यसैबाट धनको क्षण भंगुरता र जीवनको अस्तित्व थाहा हुन्छ । धन र लक्ष्मी पर्यायाबाची शब्द हुन् ।

 

मानव जीवमा सुखपूर्वक बाच्नको लागि सबैलाई धन चाहिन्छ, तर धन शुद्ध हुनुपर्छ । मन शुद्ध हुनुपर्छ, तन पनि शुद्ध हुनुपर्छ । सुन आगोमा पोलेर शुद्ध हुन्छ, पानी छानेर शुद्ध हुन्छ, शरीर नुहाएर शुद्ध हुन्छ, मन ईश्वरको नाम जपेर शुद्ध हुन्छ । धन दान गरेर शुद्ध हुन्छ । जसले हातले काम गर्छ, ईश्वरलाई सम्झेर कर्म गर्छ, त्यो धन शुद्ध हुन्छ । त्यो धन थिर रहन्छ ।