तलसीपुर, २५ असोज । जलविन्दु अर्थात ग्लुकोमाका सम्वन्धि एक दिने सचेतना कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल ग्लुकोमा विभागद्वारा आयोजित सचेतना कार्यक्रममा अस्पतालका चिकित्सक स्वास्थ्यकर्मी, जलविन्दुका विरामी र उनीहरुका अभिभावकहरुको सहभागीता रहेको थियो ।
जलविन्दुका बिरामीहरू र उनीहरूका परिवारका सदस्यहरूमा ग्लुकोमाको बारेमा जागरूकता बढाउन, ग्लुकोमा रोगको प्रकृति, यसको प्रकार र रोकथामका पक्षहरूको बारेमा स्पष्ट जानकारी प्रदान गर्नका साथै नियमित अनुगमन र औषधिको उचित प्रयोगको लागि बिरामीहरूलाई प्रेरित गर्न यो कार्यक्रम आयोजना गरिएको राप्ती आँखा अस्पतालका मेडिकल डाइरेक्टर तथा जलविन्दु रोग विशेषज्ञ सहायक प्रा।डा रन्जितकुमार साहले जानकारी दिनुभएको छ ।
त्यस्तै यस्ता सचेतना कार्यक्रमले ग्लुकोमा हेरचाह टोलीसँग बिरामीको संलग्नता र सञ्चारलाई बलियो बनाउने डा। साहले बताए । कार्यक्रममा ग्लुकोमा रोग, यसका प्रकारहरु, जोखिम कारकहरू रोग पत्ता लगाउने र निरन्तर फलो–अपको महत्वलगायतका विषयमा सहायक प्रा डा साहले प्रशिक्षण दिएका थिए । ‘रोग लाग्नुभन्दा लाग्न नदिनुनै उत्तम उपायहो रोग लागि हालेपनि कसरी यसलाई न्यूनिकरण गर्ने र हेरचाह गर्ने भन्ने सचेतना आवश्यक पर्ने भएकाले यस्ता सचेतना कार्यक्रम आयोजना हामीले गरेका हौ’, डा साहले भने ।
त्यस्तै ग्लुकोबाट बच्ने उपाय,औषधिहरूको उचित प्रयोग फलो–अपको महत्व र जीवनशैली र आहार, विहार सल्लाह र यसमा परिवारको सहयोगको भूमिकाका विषयमा प्रशिक्षढण साथै जानकारी दिएको थियो । कार्यक्रममा अस्पतालका सहभागिहरूले यस्ता सचेतना कार्यक्रमले सवैलाई सचेत र उपचार लगायतका विषयमा जानकारी दिने भन्दै खुसी व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण बाह्य कार्यक्रम सहजीकरण सूचना अधिकारी वालाराम खड्काले गरेका थिए । राप्ती आँखा अस्पतालमा ग्लुकोमा सेवा सुरु भए संगै यस अघि घोराहीमा निःशुल्क आँखा जाँच परामर्ष सेवा र सचेतना कार्यक्रम भएको छ भने बार्षिक योजना अनुसार विभिन्न उपचारसंगै सचेतना कार्यक्रम गर्ने योजना बनाएको वरिष्ठ अनुगमन तथा मुल्याङकन अधिकृत सालिकराम गौतमले जानकारी दिए ।