जम्ल्याहा जन्माउने अनिताको चिन्ता, ‘जङ्गलमै व्यथा लागेको भए के हुँदो हो !’

  •   
  •  

डायरी

विपुल पोख्रेल
‘क्वारेण्टाइनमा बसेकी महिलाले जन्माइन् जम्ल्याह बच्चा ।’ यो समाचार शीर्षक आफैमा मन छुने र थप जिज्ञासु बनाउने प्रकारको छ । तुलसिपुर उपमहानगरपालिकाको रक्षाचौरमा अवस्थित क्वारेण्टाइनको जिम्मा अहिले तुलसिपुर उपमहानगर पालिकाका जनस्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक बिमल केसी, जो कोभिड १९ का फोकल पर्शन पनि हुन्, उनलाई रहेछ ।

मैले उनलाई फोन गरे र भने, ‘तपाईंकोमा त बिश्व रेकर्ड कायम भएछ ।’

उनी हाँस्दै प्रश्न गरे, ‘किन र सर ?’
उनको हाँसोले बुझाइसकेको थियो, मेरो सवाल कुन प्रशंगमा हो भन्ने उनलाई बोध भैसकेको छ ।

‘तपाईको जिम्माको क्वारेन्टाइनमा त जुम्ल्याहा जन्मिएछन्, संसारमा कतै नसुनिएको खबर सुनियो’ म पनि रमाइलो मुडमा जिज्ञासु बनेर कुरा गर्दै थिएँ ।

‘क्वारेण्टाइमै त हैन, यहाँवाट अस्पताल पु¥याएर हो सर’ उनी थप प्रष्ट्याउँदै गए ।

फूलवारी निवासी अनिता यादवको नाम अहिले संचारमाध्यममा छाइरहेको छ । उनीसंग जोडिएका दुईवटा सन्दर्भ छन् । एउटा क्वारेण्टाइनमा बसेको भोली पल्ट जम्ल्याह जन्माउने उनै हुन् । अर्को, उनी दुई दिनअघी झण्डै डेढ सय किलोमिटर पैदल हिडेर दाङ आइन् ।

फुलबारी बस्ने अनिता यादवको परिवारको ठेगाना कतै पनि फुलबारी भनेर उल्लेख छैन । गरिब परिवार, कामको खोजिमा त्यहाँ आएर बसेको । सामान्य खेतिपातीमा सहयोग गरेर गुजारा गरिरहेको परिवार हो उनको । गरिवी, लोग्नेको आदत मदिरामा पनि । यतिभनेपछि घरको ‘सुब्यवस्था’का बारेमा अनुमान लगाउन सकिन्छ ।

काम पनि गर्ने, केही सहज पनि हुने भनेर उनी माइती गइन्, भारतको रुपहडिया नजिकै बिलौनी भन्ने स्थानमा । केही समय त्यहीँ बसिन् । काम गर्न जान थालिन । तर, सुत्केरी हुने महिना लागेपछि काम पनि छुट्यो । लकडाउन भयो, बसाईं लम्बियो । दुई जिउकी उनी, माइतीमा पनि सहज भएन । बच्चा जन्मिने दिन आउनै लाग्दा, त्यहाँको वातावरण र व्यवहार अनिताका लागि ठिक भएन । ‘जस्तो भए पनि आफ्नै घर प्यारो’ उनको मनमा यो कुरा गड्यो र घर जाने निधो गरिन् । तर, जाने कसरी ? लकडाउन जो छ !

जहाँ इच्छा, त्यहाँ उपाए । अनीताले पैदल यात्रा थालिन् । दुइ जिउको शरीर, आफ्ना लुगाफाटोको पोको । यात्रा निरन्तर । दुई दिनमा दाङ आइपुगिन् ।

भारतमा कोरोना संक्रमितको संख्या बढ्दो, नेपालगञ्जमा पनि भुसको आगो जस्तो गरी फैलदै छ । दाङगालीले दुई दिनदेखि सुन्दै र तर्सदै आएको प्रशंग थियो यो । अनीतालाई सहजै गाँउलेले र परिवारले स्वीकार गर्न सकेन् । अलमल भयो, लोग्ने नै सहयोगी र आफ्नो झै महसुस भएन उनलाई । अलमलमा परिन् अनिता, संसार बिरानो अनुभव भयो । के गर्ने के नगर्ने ? आफ्नो विवेकले काम गर्न सकेन उनको ।

‘हामीलाई खबर आयो, स्थानीय मोहन पौडेलले सहयोग गर्नुभयो र क्वारेन्टाइनसम्म ल्यायौं’ बिमलले भने, ‘सामान्य जाँच गरेर राखेका थियौं ।’

‘जम्ल्याह बच्चा हुने कुराको कुनै पूर्व अनुमान थियो ?’

‘पेट ठूलो नै थियो, तर जम्ल्याह हुने कुरातर्फ ध्यान थिएन’ उनले भने ।

शुक्रबार व्यथाले च्यापेपछि प्रादेशिक अस्पतालमा ल्याइपुराइयो । रगतको मात्रा अत्यन्त कम । जोह भयो । अप्रेशन गर्न पर्ने अबस्था रहेको भनियो । त्यसका लागि नेपालगञ्ज पठाउनु पर्ने सुझाइयो । बिमल र क्वारेन्टाइनको टिम, अस्पताल, त्यहाँका स्वास्थ्यकर्मी, चिकित्सकहरुमात्रै हैन, तुलसिपुर उपमहानगर पालिकासमेत उनलाई सहयोग गर्न तल्लिन देखिए ।

‘सबै यसरी सहयोगी भावनाको साथमा आउनु भयो, मानवियताको उच्च अभिव्यक्ति प्रदर्शित भयो सर त्यहाँ त्यतिबेला’ बिमलले सन्तोषको शास फेर्दै सुनाए ।

तर, अनिताका आँखाले श्रीमान खोजिरहेकका थिए । केही आशा त थिएन, श्रीमानले व्यबस्था मिलाउन सक्छन् भन्ने कुरामा, तर सुत्केरी हुँदै गर्दा श्रीमतिको मनले श्रीमानलाई कति खोज्दो रहेछ भन्ने कुराको अनुमान लगाउन सकिन्थ्यो त्यो क्षण । श्रीमान त आए, अझ भनौ जवरजस्ता ल्याइए । तर अबस्था… उनैलाई सम्हाल्नु पर्ने । मदिराको नसाले उनलाई श्रीमतिको अबस्था बुझ्न र परिस्थितिलाई सम्हाल्न दिइरहेको थिएन ।

नियती देखेर दैव पनि टिठाए सायद । अप्रेशन, त्यो पनि नेपालगञ्ज पुगेर गर्नुपर्ने भनिरहँदा उनी यहीँ, त्यो पनि अप्रेशन बिना बच्चा जन्माउन सफल भइन् । त्यो पनि जम्ल्याहा । मध्यान्न १२ बजे अस्पताल पु¥याइएकी उनले शुक्रबार राती १० बजेतिर दुई छोरीलाई एकैपल्ट संसार देखाइन् । यसपूर्व उनले ४ सन्तान जन्माई सकेकी छिन् ।

नवजात शिसुहरुलाई एनआइयुसी माराख्नु पर्ने भएकाले डा.किशोर खत्री संझिइए त्यो बिचमा । शिसुहरुको तौल कम थियो । डा.खत्री त्यसै पनि सहयोगी स्वभावका मानिन्छन् नै । सबै बेलीबिस्तार सुनेपछि कत्ति पनि बिलम्ब नगरेरै उनले सहयोगको जिम्मा नै लिए । शनिबार बिहानदेखि शिसुहरु खत्रीको तुलसी अस्पतालमा उनैको अभिभावकत्वमा रहेका छन् ।

‘जहाँ पातलो, त्यहाँ भ्वाङ’ भने झै भएको छ अनिताको परिवारलाई । गरिवी र श्रीमानको त्यो हालतमा जम्ल्याहलाई कसरी हुर्काउने ? यो प्रश्न मडारिन थालेको छ अनिताको मस्तिष्कमा । यद्देपि अझैसम्म उनी सन्तान प्राप्तीको स्वर्गीय आनन्दमा मुस्कानका साथ प्रदर्शित भैरहेकी छिन् । आशिस दिदैंछिन् सहयोगमा तत्परता दिनेहरु सबैलाई । चिन्ता पनि देखिन्छ कतै कतै, ‘पैदल यात्रकै क्रममा जंगलमा व्यथा लागेको भए के हुन्थ्यो होला !’