नयाँ पुस्तासँगको सम्बन्ध

विनोद पोख्रेल

निबन्ध

आज अलि अलग विषयमा अभिव्यक्ति दिन मन लाग्यो । वास्तवमा हाम्रो समाजमा वर्तमान अवस्थामा जसलाई साधु वा सन्त भन्छन्, उनीहरूले समय–समयमा मानवीय संवेदनाका विषेश पक्षका बारेमा बोलेर अरूलाई सचेत बनाउने अथवा शिक्षा दिने काम गरिरहेका छन् ।

म त्यो हैसियतको त हैन भन्ने मलाई प्रष्टसँग थाहा छ । मैले व्यक्तिगतहरूमा आफ्नो भोगाइहरू यस्ता लेखहरूवाट अभिव्यक्त गर्न त्यति राम्रो पनि मान्दैन । यसको कारण मैले जे जस्तो भोगे, सबैले त्यस्तै भोगे भन्ने छैन तर समाजका बारेमा चिन्तन गर्दा सामुहिक समस्या र सामुहिक अनुभवको अभिव्यक्ति हुन्छ भन्ने मेरो विश्वास हो ।

मलाई लाग्छ, सन् १९१७ को सोभियत रुसमा भएको राजनीतिक परिवर्तनपछि विश्वमै एउटा यस्तो सोचको लहर आयो जुन सोच अनुसार पुराना मान्यताहरू भत्काएपछि नयाँ मान्यता स्थापित हुन्छन् भन्ने धारणा विकसित भयो । तर त्यो मेरो विचारमा अपूर्ण व्याख्या थियो । किनभने नयाँ मान्यताहरू स्थापित हुनु आफ्नो ठाउँमा छ, तर नयाँ मान्यता स्थापित गर्न खोज्ने हरेक सदस्यले ती मान्यताहरू मानवोचित र मानवहितका लागि छन् कि छैनन् भनेर सोच्न पर्ने हो ।

नयाँको नाममा सबै राम्रो हुँदैन । त्यसो भएर मान्यताहरूलाई भत्काउँदा पनि र बनाउँदा पनि नराम्रोलाई भत्काउने र राम्रो निर्माण गर्ने उद्देश्य आवश्यक पर्छ । हामी बच्चा हुँदा नयाँ लुगा लगाउन पाए त्यसै खुसी हुन्थ्यौँ । त्यो कपडाको गुणस्तर र डिजाइनमा हाम्रो मतलब नै हुँदैनथ्यो । त्यही प्रवृत्ति आज बढिरहेको छ र यसले समाजको सबै पक्षमा असर पारिरहेको देखिन्छ ।

भन्नलाई धेरै कुरालाई रुढिवादी पनि भनिन्छ र त्यसप्रति पूर्वधारणा बनाएर विरोध पनि गरिन्छ तर रुढिवादी कुराहरूलाई प्रतिस्थापन गर्दा त्यसको विकल्प पहिलेको भन्दा झनै गुणस्तरहिन भयो भने त्यसको परिणाम अझ डरलाग्दो हुन्छ । त्यसकारण हामीले के कुरालाई किन प्रतिस्थापन गर्ने हो ? प्रतिस्थापन गर्दाको विकल्प के हो ? त्यो विकल्प मानवोचित छ कि छैन ? नयाँ विकल्पको प्रयोग गर्दा हामीले पहिलेको भन्द धेरै लाभ पाउँछौ कि पाउँदैनौँ ? यी प्रश्नहरू माथि घोत्लिएर, त्यसलाई परिपक्व बनाएर मात्र हामीले नयाँको अभ्यास गर्नुपर्ने हुन्छ ।

आजको विश्वलाई ‘ग्लोबल’ शब्दबाट चिनाइन्छ । इन्टरनेटमा आधारित प्रविधिको यो ढङ्गको विकास र त्यो प्रविधि माथिको सबैको पहुँच बनिरहँदा संसारको सबै ठाउँको अवस्था जान्ने बुझ्ने अवसर सबैलाई प्राप्त भएको छ । यो अवसरका कारण हाम्रो भाषा, संस्कृति, जीवनशैली आदिमा एउटा मिश्रित प्रभाव देखिएको छ । त्यसले समाजलाई बृहत्तरहरू त दिन्छ, तर समाजको पुरानोहरूलाई पूर्णतया नष्ट गर्ने बाटो पकड्छ ।

मानव जीवन उच्च चिन्तन र उच्चशैली कै आधारमा मात्रै अरू (पशुपन्छी) को जीवनभन्दा अलग मानिन्छ तर यो मिश्रित समाजले त्यो कुरालाई महत्व दिएको जस्तो लाग्दैन । हिजोको जस्तो अनुशासन आजको पिडीँले स्वीकार गर्दैन । यो अस्वीकार्यले अनुशासको घेराभित्र बस्न नसक्ने र समाजलाई अराजक बनाउने संस्कृतिलाई बढावा दिन्छ ।
नयाँ पिडीँका कामहरूले कतै यस्तै संस्कृतिलाई बढावा त दिइरहेका छैनन् ? गम्भीरतापूर्वक सोचनीय विषय बनेको छ । ‘ग्लोबल मोभिलाइजेशन’ कै प्रभावमा परेर आजको दोस्रो पुस्ताले ‘पुराना मान्यता नमान्दा के हुन्छ ?’ भन्दै सामाजिक अनुशासन नाघ्दा दश कदम अनुशासनभन्दा बाहिर जान्छ भने तेस्रो पुस्ताले त्यही काम गर्दा सय कदम बाहिर गएको हुन्छ ।

अझ प्रष्टसँग भनौँ, अघिल्लो पुस्ताको सोचलाई पुरानो सोच भन्दै विरोध गरियो भने आउने पुस्ताले पनि अहिलेको पुस्ताको सोँचलाई त्यसरी नै पुरानो सोँच भनेर अङ्गाल्दैन र भिन्ने परिवेशमा पु¥याउँछ । यस्तो स्थितिले समाजलाई आफ्नो मौतिकताभन्दा धेरै टाढा लैजान्छ र त्यो यात्रा अराजक बन्दै जान्छ । कहिले काँही अराजकता परिवर्तनको बेलामा थोरै समयका लागि आवश्यक पनि हुनसक्छ तर अराजकताको उद्देश्य प्रष्ट भएन भने यसको परिणाम गलत नै हुन्छ ।

आज हाम्रो समाजले भोगिरहेको परिस्थिति यही हो भन्ने लाग्छ । हिजो हरकुरामा आफ्नो दोस्रो पिडीँलाई सिकाउने र परिआएमा हप्काएर भए पनि आफूले गरेको जस्तै गरी अनुशासनको घेराभित्र रहेर सोच्न वा काम गर्न लगाइन्थ्यो तर आज, माथि भनिए जस्तो, दोस्रो पिडीँले तेस्रो पिडीँलाई त्यसरी अनुशासनमा राख्न सकेको जस्तो देखिँदैन । यसले समाजको मूल्य र संस्कृति नयाँ पुस्तामा हस्तान्तरणको प्रक्तियामा व्यवधान खडा गर्छ ।

यो व्यवधान पनि आफैमा एक किसिमको अराजकता हो । समाज अराजक भयो भने नेतृत्वविहीन हुने गर्छ । नेतृत्व भएन भने नीति, नियम, विधान, कानुन, शैली केही बच्दैनन्, बचेकाले पनि राम्ररी काम गर्न सक्दैनन् । यस्तो स्थितिमा राजनीतिमा मनपरितन्त्र, सामाजिक सोचमा छाडावाद, आर्थिक पक्षमा चरम उपभोगवादको संस्कृति बढ्दै जान्छ । जसको परिणाम नेपालजस्ता अविकसित मुलुकमा स्पष्टहरूमा देखिने गरी नै नराम्रो हुने गर्दछ । केही यस्ता परिदृष्यहरू आजको नेपालमा पनि देखिइरहेका छन् ।

पहिलेको समाजमा अन्धविश्वास, अप्रमाणित कुराहरू पनि केही भएको हुनसक्छन् तर एउटा कुरा पक्काहरूमा भन्न सकिन्छ कि मथिल्लो पिडीँले आफ्नो तल्लो पिडीँलाई गलत कुरा सिकाउन कहिल्यै चाहन्न । यो मानवीय स्वभाव हो कि उसले आफ्नो सन्तानले गलत नगरोस्, उसको सोच राम्रो होस्, गतिविधि राम्रा होउन् र समाजमा राम्रो प्रभाव पार्न सकोस् भन्ने चाहन्छ । यो सोंचलाई विभिन्न कारणले हल्काहरूमा लिँदा अथवा कतिपल्ट त विरोध गर्दा राम्रो परिणाम आएको देखिएको छैन ।

धर्मको नाममा होस् अथवा जातिको नाममा होस् वा अन्य जेजस्ता मान्यता बोकेकाहरू सबैमा जहिले पनि मथिल्लो पिडीँको अपेक्षा आफ्नो सन्तान सदाचारी होस्, सद्गुणयुक्त होस्, आफ्नो कर्तव्यप्रति जिम्मेवार होस् र कर्तव्य निर्वाह गर्न सफल र सक्षम होस् भन्ने हुन्छ । यस्ता चाहनालाई साँघुरो सोंच अथवा पुरानो सोच भनेर पन्छाउँदा धेरै गल्तीहरू हुनसक्छन् । समाजका मान्यता र संस्कृति अर्को पूस्तामा हस्तान्तरणका क्रममा अतिआवश्यक केही कुरा फेर्न, सुधार्न वा हटाउन सकिन्छ । आवश्यक परेमा केही थप्न पनि सकिएला ।

यदी यस्तो गर्न सकिएन भने मलाई शङ्का लाग्छ, मेरो पिडीँभन्दा बढी मेरो दोस्रो पिडीँ र त्यो भन्दा बढी अर्को पिडीँले अझ धेरै समस्या र चिन्ताग्रस्त अवस्था भोग्ने छ । हुन त मेरो यो सोच धेरैलाई पुरानो सोंच लाग्न सक्छ, तर मेरो दृढ विश्वास छ कि समाजलाई सदाचारी बनाउने हो भने आउने पुस्ताको समस्या र चिन्ताको मात्रालाई धेरैहदसम्म कम गर्न सकिन्छ ।

यसको लागि आफ्नो सभ्यता, संस्कृति, सामाजिक मूल्य मान्यताहरूको वकालत गर्न सक्ने क्षमता भएको नयाँ पिडीँ निर्माण गर्नु अति आवश्यक हुन्छ । यो भन्दै गर्दा कसैको विरोध गर्न खोजेको हैन । अरूका सभ्यता, संस्कृतिलाई हलुका गराउने खोजेको पनि हैन तर आफ्नो सभ्यता, संस्कृतिलाई हलुक्याउन पनि हुँदैन । यसरी आफ्नो संस्कति र सभ्यतालाई जोगाउन, समयानुकुल बनाउँदै प्रवद्र्धन गर्नका लागि गहिरो अध्ययन, लगन, आत्मविश्वास, अनुशासन जस्ता गुणको आवश्यकता पर्दछ । अवको पुस्तालाई यसतर्फ ध्यानाकर्षण गराउन बिलम्व गर्नु हुँदैन, अघिल्लो पुस्ताको एउटा अनिवार्य दायित्व पनि हो यो ।