सामुदायिक सहकारीको २७औँ साधारणसभा

गोरक्ष समाचारदाता
दाङ, २५ असोज । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले एक कार्यक्रमको आयोजना गरी साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाका उपाध्यक्ष खिद्या चौधरीको अध्यक्षता एवम् संस्थाको संस्थापक अध्यक्ष बिमला योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले सहकारीले विपन्नवर्गका लागि सहयोगी भूमिका खेलेको बताएका थिए । उनीहरूले समुदायमा सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय साक्षरता, पारदर्शिता, सामूहिक जिम्मेवारी, सदस्यहरूको सहभागिता, सहकारी शिक्षा, ऋण व्यवस्थापनलगायतका विषयमा कार्य गर्दै आएको उनीहरूको भनाइ थियो ।
२०५४ सालमा स्थापना भएको सहकारी संस्थामा तीन हजार नौ सय ३० जना, हालसम्म संस्थाको शेयर पुँजी तीन करोड ७१ लाख १४ हजार रहेको, यस वर्षको अन्त्यसम्म २५ करोड ६९ लाख दुई हजार निक्षेप र हालसम्म २२ करोड ६९ लाख ६४ हजार ऋष लगानी रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा घोराही–१५ का ज्येष्ठ नागरिक ईश्वरादेवी उपाध्यक्ष र घोराही–१२ का डिल्लीराज बस्नेतलाई सम्मान गरिएको थियो । सुत्केरी पोषण कार्यक्रम अन्तर्गत घोराही–१५ का आरती नेपाली, घोराही–१८ का सिर्जना चौधरी, घोराही–१७ का शर्मिला पुन, घोराही–१३ का रजनी बोहरा, उत्कृष्ट बचतकर्ताहरू घोराही–१३ का तारा बुढाथोकी, घोराही–७ का बिमला चौधरी, उत्कृष्ट व्यवसायी शेयर सदस्यहरू घोराही–१७ का डम्मरनाथ योगी र शिवराज डाँगीलाई सम्मान गरिएको थियो ।

यसैगरी सदस्यका जेहेनदार बालबाकिलाहरू निर्मला सुनार, सीता चौधरी, सरिता चौधरी, पुरमला सुनार, नविना चौधरी, सीता चौधरी, शिवा गुरुङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव रिमालक्ष्मी जैशीले सञ्चालक समिति, लेखा समिति र कर्मचारीहरूका लागि रेटिङ, ऋण लगानी र असुली तालिम, ज्येष्ठ नागरिक तथ बालबालिकालाई कान तथा आँखा शिविर सञ्चालन गरिएको जानकारी दिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष बिमला योगीले सहकारीहरू आफ्नो सिद्धान्त र मूल्य अनुसार अगाडि बढ्नुपर्ने बताइन् ।

महिलाहरूले मात्र स्थापना गरेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरूको माग बमोजिम सेवा सुविधाहरू नियमबमोजिम परिमार्जन गर्दै आगाडि बढिरहेको बताइन् । पछिल्लो समय सहकारीमा केही चुनौतीहरू देखापरेकाले सहकारीले भ्रष्टाचाररहित सुशासन कायम गरेर अगाडि बढ्नुपर्ने बताइन् ।

कार्यक्रममा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा समितिका सदस्य अनु शर्मा, आर्थिक प्रतिवेदन कोषाध्यक्ष हेमन्ता योगीले प्रस्तुत गरेका थिए । आर्थिक वर्ष ०८२÷०८३ को प्रस्तावित योजना तथा बजेटबारे सहकारीका व्यवस्थापक विष्णु गिरीले जानकारी गराएकी थिइन् । कार्यक्रमको सहजीकरण लेखा तथा सुपरीवेक्षण समितिका संयोजक सुधा खनालले गरेकी थिइन् ।