श्रीयुत भाइ रमेश
शुभ आशिर्वाद
यहाँ हामी सबै आरामै छौ । अध्ययनार्थ अमेरिका गएका तिमी र तिम्रा साथीहरु सबैको सुस्वास्थ्य दीर्घायु साथै अध्ययनको सफलताको कामना गर्दछु । भाइ रमेश तिम्रो पत्र समय मै प्राप्त भयो । टाढा बसेर पनि देश र देशबासीको अवस्थाको विषयमा जान्ने जिज्ञासा राखेकोमा तिमीलाई
धन्यवाद दिन चाहन्छु । भाइ रमेश, अहिले देशमा ठुलो हलचल भएको छ, कहीँ नभएको जात्रा हाडिगाउँमा भने झै भएको छ । जेन–जी भन्ने युवा समूहले दुई दिनमै सरकारको छक्का छुटाइदिएको छ । यो जेन–जी भनेको सन् १९९७ देखि २०२५ सन्मा जन्मेका युवाहरु जो २८ वर्ष सम्मका छन् ।
देशमा भएको अन्याय अत्याचार वेथिति र लुटतन्त्रको खिलाप सञ्चार व्यवस्थामा लगाएको प्रतिबन्धको खिलाप तीनै युवाहरुको समूहले गरेको विद्रोह हो । यो विषयका साधारण नागरिकले अझै राम्ररी जानकारी पाउन सकेका छैनन् र यो समूह कहाँबाट कसले कसरी सञ्चालन गरेको छ भन्ने कुरा पनि स्पष्ट भएको छैन ।
विदेशहरुमा यस्ता युवा समूहले विद्रोह गरेको विज्ञहरुले बताइरहेका छन् । यस पटक हाम्रो काठमाडौँमा यस्तै अचम्म घटना घटेको देखिन्छ । यही भाद्र २३ गते काठमाडौँमा जेन–जी युवा समूहले शान्त रुपमा गरेको आन्दोलनलाई दबाउन सरकारले अन्धाधुन्दा गोली चलाउँदा हाम्रा विद्यार्थी भाइबहिनीहरुले मृत्युवरण गर्न पुगे ।
सरकारले गरेको यो नरसंहारलाई देखेर जेन–जी युवा समूहले आफूलाई आततायी तानाशाही सरकारको विरुद्ध हजारौँको सङ्ख्यामा मैदानमा उता¥यो । यो सरकारको दमनकारी तानाशाही प्रवृत्तिको विरुद्ध देशैभरी आन्दोलन भयो । हालसम्म ७३ जना हाम्रा सन्ततिहरु मारिए । सरकारी कार्यालय मात्र होइन कैयौँ निजी घर पसलहरु जलेर खरानी हुन पुगे ।
केपी ओलीको नेतृत्वको सरकार ढल्यो । सम्पूर्ण तत्कालीन नेतृत्व गणलाई सेनाले व्यारेक राखेर सुरक्षा दिएको अवस्था छ । घाइते बिरामीहरु अस्पतालमा छन् । ती मध्ये कतिको अवस्था चिन्ताजनक छ । यो मृत्यु हुनेहरुको संख्या अझै बढने सम्भावना छ ।
भाइ रमेश, हाल राष्ट्रपतिले अन्तरिम सरकार गठन गरेको अवस्था छ । यो अन्तरिम सरकारले आउँदो फागुन २१ गते निर्वाचन गराउने निर्णय गरेको छ तर देहमा यति ठूलो क्रान्तिले पनि खासै परिवर्तन ल्याउन सकेन । २०७२ सालको यो संविधान त्यो बेला कतिपयले विदेशीहरुले बनाइदिएको बताए भने हाम्रा नेताहरुले हामीले बनायौँ भने ।
भारतका उत्तर प्रदेश, बिहारभन्दा पनि सानो उद्योग कलकारखाना नभएको देश नेपालमा ७ सातवटा प्रदेश स्थानीय सरकार कसरी कहाँबाट चलाउँला भनेर ल्याएका हुन् । राष्ट्रले थेग्नै नसक्ने भारी बोकाइ दिएपछि राष्ट्र आफै फेल हुने नै भयो । यस्ता हाम्रा नेताहरुबाट के आशा गर्न सकिन्छ र केही विज्ञहरु भन्छन् स्थानीय तहमा जनप्रतिनीधि त चाहिन्छन् तर तलब खाने कर्मचारीको रुपमा होइन । यो भनाइ व्यावहारिक देखिन्छ ।
भाइ रमेश, अब जनताले नयाँ बनेको सुशीलाको नेतृत्वको अन्तरिम सरकारबाट देश बेचुवा सबै माथि राम्रोसँग छानविन गरी कडाभन्दा कडा सजाय दिएको देख्न चाहेका छन् । अपराधीहरुलाई दण्ड सजाए दिने समाजमा शान्ति कायम गर्ने चुनाव सम्पन्न गर्ने र जनताले सरकारबाट गाँस, बास, कपास शिक्षा स्वास्थ्य उपचार रोजगारीको व्यवस्थाको चाहना राखेको छ । अन्तरिम सरकारलाई कार्यकालको शुभकामना दिँदै यो पत्रको बीट मार्न चाहन्छु ।
तिम्रो माया गर्ने दाजु
खगराज न्यौपाने