तुफानबाबु श्रेष्ठ
धेरै समय पहिले, एक वृद्ध सन्यासी हिमालयको पहाडमा कतै बस्थे । उनी महान ज्ञानी थिए र उनको बुद्धिमत्ताको ख्याति टाढा–टाढासम्म फैलिएको थियो । एकदिन एकजना महिला ती सन्यासीको कुटीमा आइपुगिन् र रुन लागिन् । महिलाले भनिन्– ‘बाबा ! मेरो पति पहिले मलाई धेरै प्रेम गर्थे, तर युद्धबाट फर्किएपछि उनी अब मसँग ठीकसँग बोल्दैनन् ।’
सन्यासीले मुस्कुराउँदै भने– ‘युद्धले मानिससँग प्रायः यस्तै गर्छ, देवी ।’ महिलाले हात जोडेर भनिन्– ‘धेरैले भन्छन् तपाईको जडीबुटीले मानिसको मनमा फेरि प्रेम जगाइदिन सक्छ । कृपया मलाई त्यो जडीबुटी दिनुहोस् ।’
सन्यासी केहिबेर सोचमग्न भएर भने– ‘देवी, म तिमीलाई जडीबुटी त दिन्छु तर त्यसलाई बनाउन एउटा बस्तु चाहिन्छ, जुन अहिले मसँग छैन ।’ सन्यासीको यस्तो कुरा सुनेर महिला चकित भइन् र भनिन्– ‘के चाहिन्छ बाबा ?
म जसरी भए पनि त्यो चिज ल्याउँछु ।’ सन्यासीले गम्भीर हुँदै भने–‘मलाई बाघको जुँघाको एउटा रौँ चाहिन्छ ।’ भोलिपल्टदेखि नै महिला जंगल हिँडिन् । धेरै खोजेपछि उनले नदी किनारमा एउटा बाघ देखिन् । बाघ गुर्रायो र महिला डराएर भागिन् ।
यही प्रक्रिया धेरै दिनसम्म चलिरह्यो । महिला नजिक जान्थिन्, फेरि डराएर भाग्थिन् तर केही हप्ता बितेपछि बाघलाई पनि महिलाको उपस्थितिको बानी प¥यो । अब उनले बाघका लागि मासु लैजान थालिन्, बाघ खुसी भएर खान्थ्यो ।
धेरै समयपछि उनीहरूको बिचमा मित्रता बस्यो । महिला बाघलाई माया गर्दै हातले छुन पनि थालिन् र अन्ततः त्यो दिन पनि आयो– महिलाले साहस गरेर बाघको जुँघाको एउटा रौँ निकाल्न सफल भइन् । उत्साहित हुँदै महिला सन्यासीको कुटीमा पुगिन् र भनिन्–‘बाबा ! मैले बाघको जुँघाको रौँ लिएर आए ।’ सन्यासीले मुस्कुराउँदै त्यो रौँ लिए र आगोमा फ्याँकिदिए ।
महिला अचम्ममा परिन्– ‘अरे बाबा ! यो रौँ ल्याउन मैले कति साहस र परिश्रम गरेँ, अनि तपाईले यसलाई जलाइदिनुभयो ? अब मेरो जडीबुटी कसरी बन्छ ?’ सन्यासीले शान्त स्वरमा भने– ‘अब तिमीलाई कुनै जडीबुटीको आवश्यकता छैन, देवी ।
एकपटक राम्ररी सोचत तिमीले बाघ जस्तो हिंस्रक जनावरलाई धैर्य, माया र साहसले आफ्नो मित्र बनायौँ । जब बाघलाई आफ्नो बनाउन सकिन्छ भने के एक मानिसलाई प्रेमले फेरि आफ्नो बनाउन सकिँदैन र ? जाउ अनि यही धैर्य र माया प्रयोग गरेर आफ्नो पतिको मन फेरि जित ।’ महिलाले सन्यासीको कुरा गहिरो तरिकाले बुझिन् । अब उनलाई जडीबुटीभन्दा ठूलो उपाय मिलिसकेको थियो । यो प्रसंगले हामीलाई सिकाउँछ– ‘धैर्य, प्रेम र समझदारीले कुनै पनि सम्बन्धलाई फेरि जीवन्त बनाउन सकिन्छ ।’