सन्दर्भ : विश्व दृष्टि दिवस
बालाराम खड्का
तुलसीपुर, २४ असोज । मानव जीवनका लागि सबैभन्दा ठुलो संसार उसको आँखा हो । आँखा अर्थात् दृष्टि छ त संसार छ, दृष्टि छैन भने संसार फिक्का र उजाड अनि अँध्यारो हुन्छ । त्यसैले भनिन्छ ‘आँखा मानव जीवनको महत्वपूर्ण अङ्ग हो ।
आँखा जस्तो महत्वपूर्ण अङ्गसम्बन्धी जनचेतना तथा अस्पतालसम्म उपचारका लागि पहुँच नपुग्दा भने ग्रामीण क्षेत्रका धेरै मानिसको दृष्टि गुम्ने गरेको छ । आँखामा समस्या देखिनेबित्तिकै अस्पतालमा समयमै उपचारका लागि पुग्न सके धेरैको दृष्टि जोगाउन सकिने प्राडा प्रदीप बास्तोला बताउँछन् । लमही आँखा अस्पतालमा कार्यरत प्राडा बास्तोलाले नेपालसँगै विश्वभर अन्धोपनाको मुख्य कारण मोतियाविन्दु रहेको बताए ।
उनका अनुसार ७० प्रतिशत मानिसमा मोतियाविन्दु र अन्यमा जलविन्दु, मधुमेहलगायतका कारणले अन्धोपनको समस्या आउने गरेको छ । दृष्टिदोषको समस्या पनि रहेकाले समयमै पहिचान भई चश्मा लगाए दृष्टि सुधार हुने र अन्धोपनको समस्या सामाधान हुने उनी बताउँछन् । ‘धेरैजसो आँखाको रोगहरू उपचारबाट निवारण वा उपचारयोग्य हुन्छन्’, प्राडा बास्तोलाले भने । त्यस्तै राप्ती आँखा अस्पताल रक्षाचौरका मेडिकल डाइरेक्टर जलविन्दु रोग विशेषज्ञ सहायक प्राडा रञ्जितकुमार साहले आँखाको हेरचाह र सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउँछन् ।
उनका अनुसार विश्वका करिब चार करोड ३० लाखमा दृष्टिविहिनता छ भन्ने तथ्याङ्कले देखाएको छ भने करिब दुई दशमलव दुई अर्ब मानिसमा टाढा वा नजिकको दृष्टिदोषको समस्या छ । नेपालमा ५० वर्ष र त्यसभन्दा माथि उमेर समूहमा एक दशमलव एक प्रतिशत अनुमानित ६० हजार एक सय ३८ जनामा दृष्टिविहिनताको समस्या रहेको छ । सबै उमेर समूहका शून्य दशमलव २८ प्रतिशत अनुमानित एक हजार छ सय ६० जनामा दृष्टिविहिनताको समस्या रहेको पाइन्छ ।
लुम्बिनी प्रदेशमा ५० वर्ष र सोभन्दा माथि उमेर समूहका एक दशमलव आठ प्रतिशत अर्थात् करिव १६ हजार दुई सय ६२ जनामा दृष्टिविहिनताको समस्या रहेको तथ्याङ्कले देखाएको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा सम्शेर थापा बताउँछन् । उनका अनुसार दाङमा सबै उमेर समूहमा शून्य दशमलव २८ प्रतिशत अर्थात करिब एक हजार आठ सय ९० जनामा दृष्टिविहिनताको समस्या छ ।
यसैगरी दृष्टिदोषको समस्या देशभर रहेका बस्यकमा १५ वर्ष र सोभन्दा माथि ११ दशमलव दुई प्रतिशत अर्थात् २३ लाख ५७ हजार जना र आठ दशमलव चार प्रतिशत बालबालिकामा निकट दृष्टिदोषको समस्या छ । शून्यदेखि १४ वर्षसम्मका बाबालिकामध्ये सात दशमलव एक प्रतिशतमा दुरदृष्टिदोष र एक प्रतिशत असमान दृष्टिदोषको समस्या छ ।
जनचेतना तथा आँखाको सुरक्षा र उपचारका लागि विश्व दृष्टि दिवसका अवसरमा विभिन्न सचेतना कार्यक्रम सञ्चालन गरेको डा. थापाले बताए । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत लमही आँखा अस्पतालले विश्व दृष्टि दिवस २०८२ को अवसरमा लमही नगरपालिका–४ मा एनएबिपी नर्वेको आर्थिक सहयोगमा निःशुल्क आँखा जाँच कार्यक्रम गरेको छ ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाका कार्यवाहक सभापति रेशमबहादुर खड्काको अध्यक्षता तथा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता तथा उपप्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा. थापाले विश्व दृष्टि दिवसको औचित्य, नेपालमा दृष्टिविहिनताको अवस्था र कार्यक्रमबारेमा प्रकाश पारेका थिए । कार्यक्रममा नगर प्रमुख चौधरी, उपप्रमुख योगी, वडा नं. ४ का वडा सदस्य उमाकान्त चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्तगरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल नेत्रज्योति संघ दाङका कार्यसमिति सदस्य तथा लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक लीला शाहले गरेकी थिइन् ।
यसैबिच विश्व दृष्टि दिवस २०८२ को अवसरमा नेपाल नेत्रज्योति संघ, छन्द (कलेबाबु) नारायणी आँखा अस्पताल बहादुरगन्जको प्राविधिक सहयोग तथा एनएबिपी नर्वेको आर्थिक सहयोग र इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुको स्थानीय व्यवस्थापनमा प्रहरीहरूको निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारीको अध्यक्षता र नेपाल नेत्रज्योति संघ दाङ शाखाका आजीवन सदस्य उद्योग वाणिज्य संघ कृष्णनगर नगरपालिका बरिष्ठ उपाध्यक्ष नसरुल्लाह खानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४४ जना प्रहरीको आँखा जाँच गरिएको थियो । आठ जनालाई कामकाजीका लागि नजिकको चश्मा र आवश्यकता अनुसार औषधी वितरण गरिएको दृष्टि विषेशज्ञ सुजन रिजालले जानकारी दिए । कार्यक्रममा अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत जसराज बिश्वकर्मा, बाह्य कार्यक्रम संयोजक हरि भण्डारीलगायतले शुभकामना दिएका थिए ।
४१ लाख बढीलाई आँखा उपचार सेवा
नेपाल नेत्रज्योति संघ दाङ अन्तर्गत सञ्चालित आँखा अस्पताल र उपचार केन्द्रले हालसम्म ४१ लाख ६२ हजार बढीलाई आँखा उपचार सेवा दिएको छ । यसैगरी दुई लाख ५० हजार बढी मोतियाविन्दुको शल्यक्रिया गरेको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका बरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमले जानकारी दिए ।
जस अन्तर्गत राप्ती आँखा अस्पतालले साढे १२ लाख, छन्द कालेबाबु नारायणी आँखा अस्पतालले साढे ११ लाख, लमही आँखा अस्पतालले साढे चार लाख बढीलाई आँखा उपचार सेवा दिएको छ । यसैगरी पाँच लाख बढीलाई निःशुल्क शिविर गरी आँखा उपचार सेवा दिएको गौतमले जानकारी दिए । उनका अनुसार अस्पताल तथा उपचार केन्द्रबाट ४९ हजार बढीको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया सेवा उपलब्ध गराइएको छ ।
प्रहरीको निःशुल्क आँखा जाँच
विश्व दृष्टि दिवसका अवसरमा राप्ती आँखा अस्पतालले इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरीहरूको निःशुल्क आँखा जाँच गरेको छ । नेपाल नेत्रज्योति संघ दाङ शाखाका सहकोषाध्यक्ष प्रणवकुमार खड्काको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इलाका प्रहरी तथा ट्राफिक प्रहरीका ६८ जना सिनियर तथा जुनियर अधिकृत प्रहरीहरूको आँखा जाँच गरिएको थियो ।
कार्यक्रममा नेपाल नेत्र ज्योति संघका कार्यसमिति सदस्य यमप्रसाद शर्मा पाण्डे, राप्ती आँखा अस्पताल प्रशासनिक समितिका संयोजक तथा संघका सदस्य ध्रुव गौतम, संघका सदस्य ताराप्रसाद पोख्रेल, राप्ती आँखा अस्पतालका व्यवस्थापक शशि लामिछानेलगायतले शुभकामना दिएका थिए ।
आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका बरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमले विश्व दृष्टि दिवसको औचित्य र कार्यक्रमको बारेमा जानकारी गराएका थिए । एनएबिपी नर्वेको आर्थिक सहयोगमा भएको कार्यक्रममा प्रहरीलाई चस्मा र औषधीसमेत निःशुल्क रूपमा उपलब्ध गराइएको थियो । बाह्य कार्यक्रम संयोजक बिमल घिमिरे, रोहित कडायतसहितको प्राविधिक टोलीले आँखा जाँच सेवा दिएको थियो ।