गोरक्ष समाचारदाता
दाङ, २४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्राडा सङ्गीता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहिबार विशेष अदालतमा पूर्वउपकुलपति प्राडा भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूमाथि कम गुणस्तरको एमआरआई मेसिन खरिदमा १२ करोड सात लाख रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोप छ । अख्तियारले भण्डारीसहित प्रतिष्ठानका तत्कालीन कामु रजिस्ट्रार झन्कार लामिछाने, तत्कालीन फाइनान्स म्यानेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, त्रिवि शिक्षण अस्पताल महाराजगन्जका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरीलगायत विरुद्ध कैद र बिगो जरिवाना सजाय मागदाबी गरेको छ ।
यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डेपुटी फाइनान्स म्यानेजर नितिन कुर्मी, शाखा अधिकृत श्रीराम चौधरी, आइटी अफिसर हिरालाल भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारका अनुसार भ्रष्टाचार मुद्दा दायर गरिएकाहरूमा थप प्रतिष्ठानका तत्कालीन बरिष्ठ सहायक अञ्जु शर्मा, तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र लुम्बिनी हेल्थकेयर प्रालि तथा उक्त कम्पनीको मुख्य भई काम गर्ने अध्यक्ष पोस्टराज ज्ञवालीसमेत रहेका छन् । करिब तीन वर्ष अघि प्रतिष्ठानले एमआरआई मेसिन खरिद गरेको थियो ।