गोरक्ष समाचारदाता
दाङ,२४ असोज । घोराही उपमहानगरपालिका–१७ चौघेरामा आजदेखि श्री गणेशपुराण भक्ति ज्ञान महायज्ञ उत्सव हुने भएको छ । परोपकार अक्षयकोष स्थापना गर्ने उद्देश्यले दाङको चौघेरामा गणेश पुराण भक्ति ज्ञान उत्सव–२०८२ हुने भएको हो ।
विहीवार आयोजना गरिएको पत्रकार सम्मेलनमा असोज २४ गतेदेखि सञ्चालन हुने ज्ञान उत्सव कार्तिक १ गतेसम्म सञ्चालन हुने कथाबाचक पण्डित अमृतशरण देवाचार्यले जानकारी दिएका छन् ।
पण्डित देवाचार्यका अनुसार परोपकार अमृत नेपाल (बि.ए.नेपाल) को आयोजनामा चौघेरास्थित श्री गोरक्ष पात्रदेव श्री सिद्धरत्ननाथ मन्दिरमा सात दिनसम्म चल्ने ज्ञान उत्सवमा संकलन भएको रकम पोपकार अक्षयकोष स्थापनामा जम्मा गरिने छ । उक्त अक्षयकोषबाट विभिन्न सामाजिक तथा धार्मिक कार्यहरु गरिने समेत पाण्डित देवाचार्यले जानकारी दिए ।
ज्ञान उत्सवमा कथा प्रवचनमार्फत भक्तजनहरूलाई आध्यात्मिक ज्ञान बाचनसँगै प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ९ बजेसम्म धार्मिक गतिविधिहरु सञ्चालन हुनेछन् । पण्डित देवाचार्यका अनुसार प्रत्येक दिन बिहान ६ देखि ८ बजेसम्म पूजाआराधना, ८ देखि ११ बजेसम्म पाठ पारायण, ११ देखि ४ बजेसम्म कथा बाचन र ६ देखि ९ बजेसम्म महात्म्य सत्सग प्रवचन, गोरक्ष रत्ननाथ, योगी नरहरी नाथका बारेमा जानकारीसँगै भजनकृतन हुनेछ ।
आयोजक परोपकार अमृत नेपाल सस्थाले ज्ञान महायज्ञमा उपस्थीतिका लागि भक्तजन र स्थानीय समुदायमा आग्रह गरेको छ । ज्ञान उत्सवबाट समाजमा परोपकारको भावना अभिवृद्धि हुने र सामाजिक सद्भाव प्रवद्र्धन हुने विश्वास लिइएको छ ।