होटल व्यवसायीद्धारा सुरक्षा प्रमुखसँग भेटघाट

गोरक्ष समाचारदाता
दाङ, २४ असोज । दाङ देउखुरी होटल व्यवसायी समितिको आयोजनामा बिहिबार घोराहीमा दाङ जिल्लाका सुरक्षा प्रमुखसँग भेटघाट कार्यक्रम भएको छ । दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष ईश्वरकुमार बुढा मगरको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठलाई स्वागत तथा भेटघाट गरिएको हो ।

रात्रिकालीन सेवाको समयका बारेमा तिहार लगत्तै छलफल गर्ने प्रमुख जिल्ला अधिकारी अर्यालले प्रतिबद्धता जनाएका छन् । उनले व्यवसायीलाई सजिलो र नागरिकका शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी व्यवसाय सञ्चालन गर्न सकिने बताएका हुन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठले प्रहरीले कहीँकतै अनावश्यक दुःख दिए सिधै फोन सम्पर्क गर्न आग्रह गरेका थिए । अहिलेको रात्रिकालीन समय पुरानै अवस्थामा राख्न र छलफलपछि थप समय मिलाउने बताए ।

कार्यक्रममा व्यवसायीले न्यूनतम ११ बजेसम्म कारोबार गर्न दिन आग्रह गरेका थिए । कार्यक्रममा होटल व्यवसायी महासंघ लुम्बिनी सचिव महेश बेल्बासे, दाङ जिल्ला उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एवम् होटल व्यवसायी समितिका सल्लाहकार नरेशकुमार श्रेष्ठ, तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, लमहीका अध्यक्ष हिमन्तप्रसाद पाण्डे, गढवाका बरिष्ठ उपाध्यक्ष गोपालप्रसाद पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

दाङ देउखुरी होटल व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष खर्कसिंह पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव श्यामकुमार कुमाकीले गरेका थिए ।