नयाँ घरले दिएको खुसी

पार्वती बस्नेत
दाङ, २३ असोज । भूकम्प प्रतिरोधात्मक र अपाङ्गमैत्री घरको गृहप्रवेश गराई राजपुर गाउँपालिका–६ गंगदी निवासी दुर्गा चौधरीलाई घर हस्तान्तरण गरिएको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङ र निवास संस्थासँगको साझेदारीमा राजपुर गाउँपालिकामा महिला परिवारलाई सुरक्षित आवासमार्फत् सुदृढीकरण र भूमिमा महिलाको स्वामित्व सचेतना÷पैरवी परियोजना अन्तर्गत घर निर्माण गरेर दुर्गालाई घर हस्तान्तरण गरिएको हो ।

गृहप्रवेश तथा घर हस्तान्तरण कार्यक्रममा हर्षित मुद्रामा देखिएकी दुर्गालाई गृहप्रवेश गराउँदा खुसीले आँखा रसाएका थिए । दुःख र कष्ट भोगेकी दुर्गाको जीवनकथा भने कहालिलाग्दो छ । गरिबी र अभावमा गुज्रिरहेको दैनिकीमा तीन छोराछोरीलाई एक छाक खाना र शरीर ढाक्ने नाना पु¥याउन दुर्गालाई धौ धौ थियो । अरूले बनाइदिएको टहरोमा उनको बास थियो तर जग्गाको स्वामित्व भने दुर्गाकै नाममा थियो ।

त्यही जग्गामा परियोजनाले आफ्नो पूर्ण लगानीमा दुईकोठे भूकम्प प्रतिरोधात्मक र अपाङ्गमैत्री घर बनाइदियो । जसमा अट्याच्ड चर्पी र पसल गर्न मिल्ने एउटा कोठा रहेको छ । शारीरिक रूपमा अशक्त ३२ वर्षीया दुर्गा बिरामी भएपछि घरपरिवार, गाउँटोलले हेला गथ्र्यो भने उनका श्रीमान् जिम्मेवारीदेखि टाढा भए । ओछ्यानबाट उठ्न र बस्नसमेत अरूको सहारा चाहिने दुर्गाका जेठो छोरा १२ वर्ष, छोरी सात वर्ष र कान्छा छोरा पाँच वर्षका छन् ।

पढ्दापढदै भागीविवाह गरेकी दुर्गाको शरीर विवाहपूर्व स्वस्थ र फूर्तिलो थियो । तीनवटा सन्तानलाई जन्म दिएपछि उनी ईटा भट्टामा काम गर्दै गर्दा खुटा दुख्ने समस्या देखियो । त्यही खुट्टाको समस्या पछिल्लो समयमा लौरोबिना हिड्न नसक्ने अवस्थामा पु¥याएको छ । गरिबी र अभावले उपचार गर्न नेपालगन्जसम्म पनि जान नसकेकी दुर्गालाई राम्रो उपचार पाए आफ्नो खुट्टा सन्चो हुने आशा भने छ ।

‘मेरो नाममा भएको जग्गामा परियोजनाले आफ्नै खर्चमा सुविधाजनक घर बनाइदिएको छ । मलाई चर्पी जान समस्या थियो, अहिले घरभित्रै चर्पी भएकाले मलाई सजिलो भएको छ’, दुर्गाले भनिन् । कुनै बेला आफू भोकै हुँदा खाए नखाएको सोधीखोजी समेत नगर्ने घरपरिवार र छरछिमेक पनि अहिले खाए नखाएको सबैले सोध्ने गरेको बताउँदै दुर्गाले घरको आँगनमा आएर आफूसँगै बसेर कुराकानी गर्ने गरेको बताइन् । उनका अनुसार आजभोलि गाउँछिमेकले उनको दैनिकीमा हातेमाले गर्ने गर्छन् ।

गाउँमा हुने समूहमा बस्ने हो भनेर सोध्ने गरेको र गाउँ टोलमा कार्यक्रम हुँदा आफूलाई घरबाट लिएर जाने गरेको उनी बताउँछिन् । उसो त परियोजनाले दुर्गालाई जग्गाको स्वामित्व ग्रहण गर्नमा सहयोग गरेको थियो । परियोजनाले त्यही जग्गामा घर बनाइदिएपछि घरपरिवारका अन्य सदस्यहरूको व्यवहारमा समेत परिवर्तन भएको दुर्गा बताउँछिन् । ‘म अपाङ्ग भए पनि मलाई गर्वले बाँच्न पाएको अनुभूति भएको छ’, दुर्गाले भनिन् ।

परियोजनाको पूर्णलगानीमा निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक र अपाङ्गगमैत्री घरको गृहप्रवेश तथा घर हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष आसमानी चौधरीले परियोजनाबाट घर मात्र नभई घरभित्रका लागि आवश्यक फर्निचरहरू खाट दुईवटा, फाइबर सिरक दुई थान, डसना दुई थान, सिरानी दुई थान, तन्ना दुई थान र दराज एक थान दुर्गालाई हस्तान्तरण गरेको बताइन् ।

राजपुर, गढवा गाउँपालिका र यस वर्षदेखि घोराही उपमहानगरपालिकासँग पनि परियोजनाले कार्यक्रम सञ्चालन गर्न लागेको बताउँदै अध्यक्ष चौधरीले यस वर्ष राजपुर र गढवा गाउँपालिकामा सातवटा घर निर्माण गरिने बताइन् । करिब चार सय जना महिलाहरूलाई भूमि तथा आवाससम्बन्धी साक्षर बनाउन तालिमको आयोजना गरिने उनले बताइन् ।

राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले संस्थाले गत वर्षदेखि पालिकासँग समन्वय र साझेदारमार्फत् समुदायमा रहेका विपन्न समुदायका एकल महिला, १६ वर्ष मुनिका बालबालिकाका लागि सुरक्षित आवास र चर्पी निर्माण गरी हस्तान्तरण गर्दै आएको बताए । आगामी दिनमा पालिका साझेदारीमार्फत् काम गर्न प्रतिबद्ध रहेको पालिका अध्यक्ष बुढाथोकीले बताए ।

कार्यक्रममा पालिका उपाध्यक्ष धनपतीदेवी यादवले घरबारविहीन महिला तथा बालबालिकाका लागि घर निर्माण गरी हस्तान्तरण गर्न पाउँदा संस्थाप्रति आभार व्यक्त गरिन् । उनले आफ्नो पालिकामा रहेका विपन्न समुदायका एकल महिला र बालबालिकाका लागि आवास निर्माण गर्न पालिका सदैव तत्पर रहने बताइन् ।