गोरक्ष समाचारदाता
दाङ, २३ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले पार्टीमा सुधारसँगै नेताहरू सच्चिन आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस दाङले बुधवार घोराहीमा आयोजना गरेको बृहत बैठकलाई सम्बोधन गर्दै नेता गिरीले अहिलेको बदलिँदो परिस्थितिमा पार्टीलाई नयाँ ढङ्गले अघि बढाउन आवश्यक रहेको भन्दै त्यसका लागि पार्टीमा सुधारसँगै केन्द्रदेखि वडा तहसम्मका नेताहरूले आफ्नो आचरणमा सुधार गर्न आवश्यक रहेको बताएका हुन ।
पार्टीमा एकले अर्कोलाई सहयोग गर्ने संस्कार विकास गर्नुपर्ने भन्दै उनले संगठनका लागि आवश्यक परे पद त्याग्नसमेत तयार हुनुपर्ने बताए । निर्वाचनमा जनताको मत प्राप्त गर्न पार्टीमा रूपान्तरण आवश्यक रहेको भन्दै नेता गिरीले भने, ‘अहिलेकै लिडरसिपबाट निर्वाचनमा जानसक्ने अवस्था छैन । पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनका लागि सुधार आवश्यक छ ।’ जेन–जीको आन्दोलनका क्रममा अराजक व्यक्तिबाट पार्टी सभापतिमाथि भएको कुटपिट, पार्टी कार्यालय तथा नेताहरूका घरमा भएको तोडफाड र आगजनीबाट निराश भएका नागरिकलाई हौसला प्रदान गर्न पार्टीलाई एकताबद्ध बनाउँदै वडा तहसम्मै नेताहरू पुग्नुपर्ने आवश्यक रहेको बताए । पार्टीमा एकता कायम गर्दै जेन–जी पुस्तालाई समेटेर अघि बढ्न सके दाङमा कांग्रेसलाई हराउन कसैले नसक्ने नेता गिरीको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका नेता गिरीले देशमा स्थायी सरकारका लागि मिश्रित निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताए । मिश्रित निर्वाचन प्रणालीकै कारण कुनै पनि दलको स्पष्ट बहुमत नपुग्ने र सरकार गठनका लागि समेत दलहरू मिल्नुपर्ने अवस्था रहेको भन्दै यसको अन्त्य गर्नुपर्ने बताए । ‘निर्वाचन प्रणालीमा भएको गल्तीकै कारण एक वर्षसम्म टिक्ने सरकार बन्न सक्ने अवस्था छैन’, उनले भने, ‘यसमा सुधार गर्न आवश्यक छ, नत्र फेरि पनि कसैको बहुमत आउन सक्दैन ।’
उनले जेन–जीका नाममा अराजक व्यक्तिहरूले मौका उठाएर सरकारी संरचनासँगै निजी सम्पत्तिमाथि तोडफोड भएको भन्दै सरकारी तथा निजी सम्पत्ति तोडफोड, आगजनी र लुटपातमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्ने बताए । नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति एवम् पूर्वमन्त्री राजु खनालले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण निराश भएका नागरिकको गिरेको मनोबल उठाउने गरी नयाँ ढङ्गले पार्टीलाई अघि बढाउनुपर्ने बताए ।
देशमा स्थायी सरकारका लागि निर्वाचन प्रणालीमा सुधारसँगै विकास, समृद्धि र सुशासन कायमका लागि नेपाली कांग्रेस–एमाले बिच भएको सातबुँदे सहमतिलाई कार्यान्वयनमा चुक्दा अहिलेको विषम परिस्थिति निर्माण भएको भन्दै नेता खनालले अब सम्यमित भएर अघि बढ्नुपर्ने बताए । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेयले विगतका घट्नाबाट पाठ सिक्दै नयाँ परिवेशमा पार्टीलाई अघि बढाउन आवश्यक रहेको बताए । अहिलेको अवस्थामा एकले अर्कालाई दोषारोपण गर्नुभन्दा गल्तीको महसुस गरेर आआप्mनो तहबाट जनतालाई कन्भिन्स गर्दै पार्टी निर्माणमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्वसभापति विरकेशरी गौतमले संविधानसँगै देशलाई बचाउन समयमै निर्वाचन गराउने वातावारण निर्माणमा लाग्नुपर्ने बताए । संविधान र देश बचे जनता बच्ने भएकाले निर्वाचनलाई समयमा गर्न सके संसदीय व्यवस्थालाई ट्रयाकमा ल्याउन सकिने उनको भनाइ थियो । पूर्वजिल्ला सभापति गौतमले विगत भएका गल्तीको गम्भीर समीक्षा गर्दै नयाँ परिवेशमा नयाँ ढङ्गले अघि बढ्न आवश्यक रहेकाले पार्टीलाई नयाँ ढङ्गले अघि बढाउन तत्काल अर्लि महाधिवेशन घोषणा गरेर अघि बढ्नुपर्ने बताए ।
संविधान सभा सदस्य तथा राष्ट्रिय सभा पूर्वप्रमुख सचेतक अनिता देवकोटाले लोकतान्त्रिक व्यवस्थासँगै राष्ट्रियता नै खतरामा पर्ने अवस्था आएकाले यसलाई बचाउन तोकिएकै समयमा निर्वाचन गर्ने गरी लाग्नुपर्ने र पार्टी संरचना पनि त्यसको तयारीमा जुट्नुपर्ने बताइन् । देशमा सुशासन कायम गर्दै भ्रष्टाचारको अन्त्यलगायतका विषय उठाउँदै सुरु भएको जेन–जी आन्दोलनमा घुसपैठ भएकै कारण प्राप्त उपलब्धिसमेत खतरा पार्ने विध्वंस भएको र त्यसबाट पाठ सिकेर नयाँ ढङ्गले अघि बढन आवश्यक रहेकोे बताइन् ।
नेपाली कांग्रेसका नेता केशव आचार्यले कांग्रेसलाई रिभाइभ गर्न आवश्यक रहेको बताए । विगतमा जेल जानसक्ने अवस्था रहे पनि आज समय बदलिएकाले नयाँ ढङ्गले जनता र कार्यकर्ताको मन जित्ने नेता आवश्यक रहेकोे बताए । पूर्वसांसद बिमला नेपालीले पार्टीलाई रूपान्तरण गर्दै नयाँ पुस्तासँगै आर्थिक रूपमा विपन्न समुदायसँग जोड्ने गरी लाग्नुपर्ने बताइन् ।
कार्यक्रममा बोल्ने अन्य वक्ताले कांगे्रेसलाई जनतासँग जोड्न सबै तहका नेताले आचरणमा सुधार गर्नुपर्ने, पार्टी भित्रको गुटबन्दी अन्त्य गर्दै नेताभन्दा पार्टी र विधानलाई मान्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले अहिले पनि नेतृत्वका नजिक हुनेलाई अवसर दिने र पार्टीमा विधिको कुरा उठाउनेलाई दबाउन नहुने, लोकतान्त्रिक पार्टीमा खुल्ला छलफल हुनुपर्ने, नयाँ युवालाई पार्टीमा जोड्न सूचना प्रविधिको उच्च प्रयोगमा ध्यान दिनुपर्नेमा सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सचिव कमलकिशोर घिमिरे, नेपाली कांग्रेसका नेताहरू भूपबहादुर डाँगी, गोविन्द मजगैयाँ, बासुदेव जङ्गली, नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्का, नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगत खड्काले पार्टी बनाउनेभन्दा नेता बन्नमा मात्र ध्यान दिँदा पार्टी कमजोर भएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य पवन नेपाली, महाधिवेशन प्रतिनिधि घनश्याम ढकाल, बद्री खड्का, देवा डाँगी, देवका नेपाली, नेपाली कांग्रेस घोराहीका सभापति तिलक रावत, नेपाली कांग्रेस क्षेत्र नं. १ का सदस्य खुसल वली, नेपाली कांग्रेस क्षेत्र नं. २ (ख) का उपसभापति ज्ञानबहादुर केसी, नेपाली कांग्रेस क्षेत्र नं. २ (१) का सचिव शिशिर अधिकारी, नेपाली कांग्रेस क्षेत्र नं. १ (२) का सभापति दिनेश गिरी, नेपाली कांग्रेस क्षेत्र नं. ३ (२) का सभापति खिमबहादुर वली, नेपाली कांग्रेस दाङका सहसचिव सुबोध डाँगी, जिल्ला सदस्य भोला अधिकारी, तरुणदल दाङका अध्यक्ष टीका घर्ती, शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगी, नेविसंघका दाङका अध्यक्ष कुलराज पोख्रेल, बंगलाचुली गाउँपालिका कार्यपालिका सदस्य गणेश विश्वकर्मा, नेविसंघका पूर्व केन्द्रीय सदस्य कुलराज खनाललगायतले सुझाव सहितको मन्तव्य व्यक्त गरेका थिए ।