लमही बजार व्यवस्थापन गरिने

गोरक्ष समाचारदाता
लमही २३ असोज । लमही बजारलाई व्यवस्थित गरिने भएको छ । बुधवार भएको सरोकारवालाहरूको छलफलले जथाभाबी पार्किङ र ठुला सवारीका साधानको आवागमनले अस्तव्यस्त भएको लमही बजारलाई व्यवस्थित गर्ने निर्णय गरेको हो ।

सडकहरू साँघुरो भएको र जथाभावी पार्किङले नागरिकको आवागमनमा हुने समस्याको समाधान गर्न सरोकारबालाबिच भएको छलफलबाट ११ बुँदे निर्णय गरेको छ । बैठकले अटो तथा ई–रिक्साको पार्किङ र सञ्चालनलाई व्यवस्थित गर्न नगर विकास समिति सँगको सहकार्यमा धमिलाको रुखदेखि पछाडि रहेको नगर विकासको जग्गामा निःशुल्क पार्किङको व्यवस्था मिलाउने, कान्छीरोडदेखि शाहमार्गसम्मका सवारी साधनलाई सार्वजनिक बगैँचामा पार्किङ गर्ने निर्णय गरेको छ ।

अत्यावश्यक सामग्री लोड–अनलोड तोकिएको समयमा गर्न पाउने गरी मुख्य बजार क्षेत्र र कोइलाबास सडक खण्डमा बिहान ८ः०० देखि बेलुकी ५ः०० बजेसम्म ठुला सवारी साधनको प्रवेश निषेध गरिने, सडकको छेउछाउमा अनावश्यक रूपमा सवारी साधन पार्किङ गर्न नपाइने, घरको नालीभित्र मात्र मोटरसाइकल पार्किङ गर्न पाइने बैठकले निर्णय गरेको छ । बजार व्यवस्थापनका लागि प्रहरी, नगर प्रहरी तथा सरोकारवालाको संयुक्त टोली गठन गरी नियमित अनुगमन गर्ने र नियम उल्लङ्घन गर्ने विरुद्ध जरिमानासहितको कारबाही गरिने भएको छ ।

अटो व्यवसायीलाई छलफलमा सहभागी गराएर अटो व्यवसाय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि बनाएर दर्ता र नियमन प्रक्रियामा लैजाने र भाडादरमा एकरुपता गर्ने निर्णय बैठकले गरेको छ । यसैगरी पूर्व–पश्चिम राष्ट्रिय राजमार्ग र कोइलाबास सडक खण्डमा आवश्यकता अनुसार ट्राफिक चिह्न राख्ने, ‘नो पार्किङ’ बोर्ड राख्ने र नगरपालिकाको सहकार्यमा सडक सुरक्षासम्बन्धी व्यवस्था गर्ने निर्णय गरिएको छ ।

तिहार तथा छठ पर्वमा सयपत्री फूलको माला मात्र बिक्री वितरण गर्न पुष्प व्यवसायीलाई अनुरोध गर्ने निर्णय गरेको छ । यसैगरी पुष्पखेती प्रवर्धन गर्ने र वातावरण संरक्षण गर्ने उद्देश्यले प्लास्टिकका मालाको बिक्री वितरणमा रोक लगाउने बैठकले निर्णय गरेको छ । यसैगरी बजार क्षेत्रमा पसलहरूले फुटपाथमा सामान राख्न नपाउने, सडक पेटीमा व्यापारिक गतिविधि गर्न निषेध गरिएको, बजार क्षेत्रमा रहेका छाडा पशुचौपायालाई वडा नं. ६ स्थित रहेको दुमदुमा भवानी गौशालामा व्यवस्थापन गरिने बैठकले निर्णय गरेको छ । यसैगरी लमही बजार क्षेत्रलाई नियमित सफा राख्ने, बजार क्षेत्रमा रहेको सिसीटिभी क्यामेराको मर्मत र आवश्यकता अनुसार थप क्यामेरा जडान गरिने भएको छ ।

लमही नगरपालिका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा बसेको उक्त बैठकमा उपप्रमुख लक्ष्मी योगी, निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद शर्मा, सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्ट, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेय, देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरी, प्रशासन शाखा प्रमुख महेश थापा ठेडी, अस्थायी ट्राफिक कार्यालय लमहीका प्रमुख माधव रावत, देउखुरी सामुदायिक सेवा केन्द्र लमहीका अध्यक्ष किरणविक्रम शाहलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।