प्रजिअ अर्याल र जिल्ला प्रहरीलाई स्वागत

टेकबहादुर पुन
देउखुरी, २३ असोज । दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठलाई लमहीमा स्वागत गरिएको छ । देउखुरी उद्योग वाणिज्य संघ लमहीले जिल्लामा हालै सरुवा भएर आएका प्रजिअ अर्याल र जिल्ला प्रहरी प्रमुख श्रेष्ठलाई स्वागत तथा भेटघाट गरेको हो ।

संघले बुधवार लमहीमा एक कार्यक्रमको आयोजना गरी दाङको आर्थिक, औद्योगिक र सामाजिक विकासमा सहकार्यका सम्भावनाबारे विस्तृत छलफलसमेत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी अर्यालले प्रशासनिक रूपमा सक्षम, आर्थिक रूपमा सवल र नागरिकमैत्री जिल्ला बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘दाङले कृषि, उद्योग र व्यापारका क्षेत्रमा अपार सम्भावना बोकेको छ । यी सम्भावनाहरूलाई मूर्तरूप दिनका लागि सरकारी निकाय, निजी क्षेत्र र नागरिक समाजबिच सहकार्य अत्यावश्यक छ । प्रशासनले नीति निर्माण र कार्यान्वयनमा निष्पक्षता र पारदर्शिता अपनाउने छ ।’ उनले दाङलाई प्रदेशको आर्थिक केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनाको चर्चा गर्दै संघलाई यस दिशामा नेतृत्वकारी भूमिका खेल्न आग्रह गरे ।

जिल्ला प्रहरी प्रमुख श्रेष्ठले दाङमा शान्ति, सुरक्षा कायम राख्न प्रहरी सदैव सक्रिय रहेको बताउँदै व्यापारिक समुदायलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाए । उनले भने, ‘सुरक्षा र शान्तिबिना व्यवसाय सम्भव हुँदैन । हामी अपराध नियन्त्रण, ठगी, चोरी र अवैध कारोबार जस्ता गतिविधिमा शून्य सहनशीलता नीति अपनाउँछौँ । व्यापारीहरू निश्चिन्त भएर आफ्नो व्यवसाय विस्तार गर्न सक्नुहुन्छ ।’

कार्यक्रममा अध्यक्ष कमलजंग सिंह ठकुरीले दाङ र देउखुरीको आर्थिक उत्थानमा संघले निर्वाह गरिरहेको भूमिकालाई अझ प्रभावकारी बनाउन प्रशासन र सुरक्षासँगको सहकार्यलाई प्राथमिकता दिने बताए । अध्यक्ष ठकुरीले भने, ‘हामी प्रशासन र सुरक्षासँग हातेमालो गरेर व्यापारिक हितसँगै सामुदायिक विकासका अभियानमा पनि अगाडि बढ्नेछौँ ।’ संघका बरिष्ठ उपाध्यक्ष केशवराज पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव हरिबहादुर थापाले गरका थिए ।