मतदाता नामावली दर्ताका लागि बढ्न थाल्यो चहलपहल

गोरक्ष समाचारदाता
दाङ, २२ असोज । सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन घोषणा गरेसँगै निर्वाचन कार्यालय घोराहीमा मतदाता नामावली दर्ता गराउनेको चहलपहल बढ्न थालेको छ । कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णयसँगै दाङमा नयाँ मतदाता नामावली दर्ताका लागि नागरिक कार्यालय पुग्न थालेका छन् ।

फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्नेलाई मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगले आग्रह गरेको छ । निर्वाचनको मिति घोषणा गरेर आवश्यक तयारीका लागि मतदाता नामावली दर्ता गर्न आग्रह गरेसँगै दाङमा नयाँ मतदाता नामावली दर्ता गराउन नयाँ मतदाता कार्यालय आउन सुरु गरेको प्रदेश निर्वाचन कार्यालय घोराही दाङका सूचना अधिकारी गेहेन्द्र कवरले जानकारी दिएका छन् ।

प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कवरका अनुसार पाँच दिनको अवधिमा जिल्लामा एक सय ९९ जना नयाँ मतादाता थपिएका छन् । जसमा एक सय ४१ जना पुरुष र ५८ जना महिला रहेका छन् । उनका अनुसार करिब दुई सय बढीले नयाँ मतदाता नामावली दर्ता गराउन अग्रिम फारम भरेको र बायोमेट्रिक बाँकी रहेको बताए ।

२०७९ सालको निर्वाचनमा जिल्लामा चार लाख १४ हजार नौ सय ५६ मतदाता सङ्ख्या रहेको थियो । जसमा दाङको निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ३४ हजार सात सय ३३, क्षेत्र नं. २ मा एक लाख ३३ हजार सात सय ४८ र क्षेत्र नं. ३ मा एक लाख ४६ हजार चार सय ७५ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने छ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।