टेकबहादुर पुन
देउखुरी, २२ असोज । देउखुरीको लमहीमा धुमधामका साथ मङ्गलवार सराय नाच अर्थात् खड्कजात्रा निकालिएको छ । दसैँको टीकापछि पूर्णिमासम्म पहाडका टाकुरामा शक्तिपीठका रूपमा रहेका कोटमा सराय हुने प्रचलन रहेको छ । पन्चेबाजा बजाएर हतियारसहित गरिने नृत्य, गीत र खेलको संयुक्तरूप हो, सराय । सराय, बसाइँ सराइका कारण तराईलगायतका क्षेत्रमा विस्तार भएको पाइन्छ ।
खास गरी सराय पहाडी जिल्लामा मनाइए पनि तराईलगायतका क्षेत्रमा बसाइँ सरेर बसोबास गर्नेहरूले सरायको मौलिकता जोगाइराख्न खड्कजात्रा निकाल्ने गरेका छन् । सराय नाचमा मनोरञ्जन मात्र नभई सामाजिक एकता र मेलमिलाप बढाउन योगदान पु¥याउने खड्कजात्रामा सहभागीले बताएका छन् ।
यो नाचले ऐतिहासिक मूल्य, मान्यता बोक्नुका साथै शक्तिको उपासना, हतियार तथा औजारहरूको प्रदर्शनले विगतका राज्य बिचको लडाइँ, विजयोत्सव, युद्धको तयारीको झल्को दिने गरेको बुढापाकाले बताउँछन् । यस नाचले सामाजिक एकता र सहकार्यको सन्देश, परम्परागत मूल्य, मान्यता र पुर्खाको गौरवलाई उजागर गरेको छ । समय क्रममा सराय नाच विस्तार भएको भए पनि मौलिकता हराउँदै गएको, नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकेकाले लोपो हुने खतरा देखिएको सरायमा सहभागीले बताए ।
पछिल्लो समय मौलिक कला, संस्कृति हराउँदै जान थालेपछि सरायको संरक्षण र संवर्धनमा युवाहरूले चासो बढाउन खड्कजात्राको आयोजना गर्ने गरिएको हो । लमही, भालुबाङ र सिसहनियामा हरेक वर्ष दसैंको पूर्णिमाको दिन सराय नाच तथा खड्गजात्रा निकाल्ने गरिन्छ । यो वर्ष पनि सराय नाच निकालिएको छ । कालिका भगवती मन्दिर लमहीले यस वर्ष सराय नाचको आयेजना गरेको हो । यो सँगै नवौँ पटक सराय निकालिएको मन्दिर व्यस्थापन समितिका अध्यक्ष हिमन्तप्रसाद पाण्डेले बताए ।
‘पहाडी जिल्लामा बाउबाजेले सराया नाच नाचेको देखेका थियौँ । हामी बसाइँ सरेर दाङ आएपछि हाम्रो पुर्खाले सुरु गरेको संस्कृति संरक्षण गर्ने उद्देश्यले युवाहरू सङ्गठित भएर खड्कजात्रा आयोजना गरेका हौँ’, पाण्डेले भने, ‘यस वर्ष सराय नाच हेर्न आउनेको सङ्ख्या पहिलेभन्दा धेरै छ ।’ दसैँको बिदाई गर्न र देवी भगवतीलाई खुसी पार्न सराय तथा खड्गजात्रा निकाल्ने परम्परा रहेको उनले बताए ।
पहाडी जिल्लामा यसको विशेष महत्व रहे तापनि बसाइँ सराई गरेर धेरै मानिस तराई झरेपछि आफ्नो परम्परा जोगाउन उनीहरूले आफ्नै ठाउँमा मन्दिर स्थापना गरेर सराय नाच्ने गरेको उनले बताए । तरवार नचाएर एकआपसमा खुसी साटासाट गर्ने सराय नाँच देउखुरीलगायत आसपासका क्षेत्रमा मान्ने गरिन्छ । प्रायः सराय नाच दसैँको टीकादेखि पूर्णिमाको दिनसम्म नाच्ने गरिन्छ । मन्दिरमा चढाइएको खुँडा र दसैँको बेलामा राखिएको जमराको माला र धोती पासा सहितको एउटै पहिरनमा सराय नाच नाचिन्छ ।
सराय नाच प्रदर्शनमा युवाहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । परापूर्वकालदेखि नाच्ने गरिएको सराय नाचले घरबाट टाढा गएकाहरू दसैँमा घर आएका साथीभाइ, आफन्तसँग भेट्ने अवसर पनि जुराउने गरेको छ । लमहीमा खेलिने सराय नाच केही ठाउँमा नयाँ पुस्ताले अनुसरण नगर्दा लोप हुने अवस्थामा पुगेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पाडेले बताए । उनका अनुसार सराय नाच्ने भन्दा हेर्नेको घुइचो धेरै देखिने गरेका छन् ।
युवाहरूको राम्रै उपस्थिति र सहभागिता रहे पनि नाच्न आनकान गर्ने गरेको बताउँदै पाण्डेले यसले सराय नाच लोप हुने सङ्कट आउनेसक्ने बताए । लमही नगरपालिका–५ लमही निवासी मोतिराम खनालले सराय नाचलाई जोगाउन युवा जमातलाई सक्रिय रूपमा सहभागी गराउन आवश्यक रहेको बताए ।
उनले पुराना पुस्ता सकिँदै जाँदा पुराना कला, संस्कृति पनि मेटिने भएकाले यसको संरक्षणमा युवा जमातको सक्रियता आवश्यक पर्ने बताए । खड्कजात्राको मौलिकता जोगाइराख्न सांस्कृतिक सचेतना तथा नयाँ पुस्तामा पुस्तान्तरण र सराय नाचलाई व्यवस्थित गर्न आवश्यक रहेको उनले बताए ।
यसका साथै नयाँ पुस्तालाई सराय नाचको प्रशिक्षणका लागि अभियानै चलाउनु पर्ने अवस्था आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पाण्डेले बताए ।