आँखालाई माया गराै, अन्धविश्वासका कारण ज्योति नगुमाऔँ : आँखा रोग अध्येता थापा[अन्तर्वार्ता]
असोज २३ गते विश्व दृष्टि दिवस परेको छ । नेपालमा पनि विश्व दृष्टि दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका देशभरका आँखा अस्पतालमा पनि यो कार्यक्रम गर्ने तयारी छ । यही दिवसकै सन्दर्भ पारेर नेपालमा अन्धोपनाको अवस्था कस्तो छ भनेर नेपालमा आँखा स्वास्थ्य सेवाको विकासमा दुई दशकभन्दा बढी समय समर्पित आँखाको क्षेत्रमा रिसर्च गरेका नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा. सम्शेर थापासँग विश्व दृष्टि दिवस र विश्व तथा नेपालको आँखा स्वास्थ्य सेवाको उपचार र आँखाको समस्या र सचेतना सम्बन्धमा गोरक्षकर्मी खेमराज रिजालले डा. सम्शेर थापासँग गरिएको कुराकानीको सार सङ्क्षेप ।
विश्व दृष्टि दिवस कसरी मनाउदै हुनुहुन्छ ?
यस बर्षपनि असोज २३ गते २०२५ अक्टोबर ९ मा बिहीबारका दिन विश्व दृष्टि दिवस परेको छ । हरेक वर्षको अक्टोबर महिनामा विश्व दृष्टि दिवस मनाइन्छ । मानिसहरुलाई आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ भन्ने जानकारी गराउने उद्देश्यका साथ ‘आफ्नो आँखाको माया गरौं’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै यस वर्षको विश्व दृष्टि दिवस २०८२ असोज २३ गते विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।
जस अन्तर्गत नेपाल नेत्रज्योति संघ केन्द्रिय कार्यलयले पनि हामीलाई परिपत्र गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागमा असोज ८ गते बसेको बैठकले गरेको निर्णयानुसार देशभरी रहेका नेपाल प्रहरीहरुको आँखा जाँच गरी निःशुल्क रिडिङ ग्लास र औषधी वितरण गरी मनाउन अनुरोध गर्ने भन्ने निर्णय बमोजिम हामीहरुले पनि विभिन्न कार्यक्रम सोहि अनुसार कार्यक्रम गर्ने भएका छौ ।
विश्वभरी दृष्टिविहीनताको अवस्था कस्तो छ ?
विश्वका करिब चार करोड ३० लाख दृष्टिविहीनता छ भन्ने तथ्याङ्कले देखाएको छ भने करिब २.२ अर्ब मानिसमा टाढा वा नजिकको दृष्टिदोषको समस्या रहेको छ । यो सन् २०२३÷२४ को तथ्याङ्ले देखाएको छ । लापरवाही गर्नाले र सबै ठाउँमा उपचारको सहज पहुँच नहुनाले यो समस्या झन विकराल बन्दै गएको पाएको छ ।
नेपालमा दृष्टिविहीनताको समस्या कस्तो छ ?
नेपाल अधिराज्यभरी ५० वर्ष र सो भन्दामाथि उमेर समूहमा १.१ प्रतिशत अनुमानित ६० हजार एक सय ३८ जनामा दृष्टिविहीनताको समस्या रहेको छ । सबै उमेर समूहका ०.२८ प्रतिशत अनुमानित ८१ हजार ६ सय ६० जनामा दृष्टिविहीनताको समस्या रहेको पाइन्छ । कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । त्यस्तै यस लुम्बिनी प्रदेशमा ५० वर्ष र सो भन्दा माथि उमेर समूहका १.८ प्रतिशत अनुमानित जनसंख्या १६ हजार दुई सय ६२ जनामा दृष्टिविहीनताको समस्या रहेको छ ।
दाङमा सबै उमेर समूहमा ०.२८ प्रतिशत अनुमानित एक हजार आठ सय ९० मा कुल जनसंख्या दृष्टिविहीनताको समस्या तथ्याङ्कले देखाउँछ । त्यस्तै दृष्टिदोषको समस्या नेपाल अधिराज्यभरी वयस्कमा १५ वर्ष र सो भन्दा माथि ११.२ प्रतिशत २३ लाख ५७ हजार जनामा रहेको छ । नेपालमा बालबालिकाहरूमा ८.४ प्रतिशत निकट दृष्टिदोष छ भने ७.१ प्रतिशत दुरदृष्टि दोष र १ प्रतिशत असमान दृष्टिदोष करिब ६.८ लाख (० देखि १४ वर्ष समूहका) बालबालिकामा छ ।
विश्वका साथै नेपालमा अन्धोपनको मुख्य कारण के हो ?
विश्वभर तथा नेपालमा पनि अन्धोपनाको मुख्य कारणमा मोतिविन्दु रहेको छ । त्यस्तै जलविन्दु, म्याकुलर डिजेनेरेसन, मधुमेह, चाइल्डहुड व्लाइन्नेस लगायतका अन्धोपनका मुख्य कारण रहेका छन् । जसमा ९० प्रतिशत अन्धोपन निवारण वा उपचार योग्य रहेका छन् । पछिल्लो समयमा ट्राकोमा नेपालबाट उनमुलन भइसकेको अवस्था छ ।
नेपाल नेत्रज्योति संघ अन्तर्गत देशभरी कति आँखा अस्पताल र उपचार केन्द्रबाट आँखा स्वास्थ्य सेवा दिनुभएको छ ?
नेपालमा नेपाल नेत्रज्योति संघले हाल सम्म २८ वटा आँखा अस्पताल र २ सय बढी आँखा उपचार केन्द्रमार्फत आँखा स्वास्थ्य सेवा दिएको अवस्था छ । त्यस्तै नेपालभरि करिव ५० भन्दा बढी आँखा अस्पताल र ५०० भन्दा बढी आँखा उपचार केन्द्रहरूले आँखा स्वास्थ्य सेवा दिएको अनुमान गरिएको छ ।
नेपाल नेत्रज्योति संघ दाङ अन्तर्गत कहाँ–कहाँ सेवा दिइरहनुभएको छ ?
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत हामीहरूले अहिले लुम्बिनी प्रदेशमा राप्ती आँखा अस्पताल तुलसीपुर, लमही आँखा अस्पताल लमही दाङ, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्ज कपिलवस्तुका साथै आँखा उपचारको सेवालाई दुर दराजको विकट क्षेत्रमा आँखा उपचार सेवा केन्द्रको माध्यमबाट सेवा उपलब्ध गराउँदै आएको छ भने रुकुमपश्चिम आँखा उपचार केन्द्र, सुलिचौर आँखा उपचार केन्द्र, घोराही आँखा उपचार केन्द्र र कोइलाबास आँखा उपचार केन्द्रमा अत्याधुनिक फेको प्रविधिबाट शल्यक्रियाको सेवा उपलब्ध गराएको छ ।
कर्णाली प्रदेशको सुर्खेत जिल्लामा रहेको गुर्भाकोट सर्जिकल सेन्टरलाई राप्ती आँखा अस्पतालको व्यवस्थापकीय जिम्मेवारीमा जिल्ला अस्पतालको रूपमा विकास र विस्तार कार्य भइरहेको छ । रुकुम पूर्व, भालुवाङ आँखा उपचार केन्द्र, राजपुर गाउँपालिकामा २ वटा आँखा उपचार केन्द्र, गढवा गाउँपालिकाको गोवरडिया आँखा उपचार केन्द्रबाट सेवा दिएका छौँ भने कपिलवस्तुमा विजय नगरगाउँपालिका र बुद्धभूमी नगरपालिकाका पनि साप्ताहिक आँखा उपचार केन्द्र सञ्चालन गरिरहेका छौँ ।
हामीहरूले दृष्टिविहीन न्यूनीकरण गर्नमा सााविक राप्ती अञ्चलको पाँचवटै जिल्लाको दुर दराज जिल्लामा आँखा सेवाको पहुँच पु¥याएको कारणनै दृष्टि विहीनताको व्यापकतालाई ०.८७ प्रतिशतबाट ०.१३ प्रतिशतमा कम गर्न सफल भएको छ ।
हिजो वार्षिक पाँच हजारलाई सेवा पु¥याउँदै आएको राप्ती आँखा अस्पतालले आज वार्षिक ७० हजारभन्दा बढीलाई आँखा उपचारको सेवा उपलब्ध गराउँदै आएको छ, तीनवटै आँखा अस्पतालले आज वार्षिक रूपमा दुई लाखभन्दा बढीलाई आँखा उपचारको सेवा प्रदान गरिरहेको छ भने राप्ती आँखा अस्पतालले मात्र वार्षिक तीन हजारभन्दा बढीको शल्यक्रिया गर्दै आएको छ र तीनवटै आँखा अस्पतालले वार्षिक १७ हजारभन्दा बढी शल्यक्रिया गर्दै आएको छ ।
आँखा स्वास्थ्य सेवाको अतिरिक्त लमही आँखा अस्पतालमा नाक, कान तथा घाँटी विभागको स्थापना भई नाक, कान घाँटी विशेषज्ञबाट नियमित सेवा उपलब्ध भइरहेको छ भने राप्ती आँखा अस्पताल तथा छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालमा कानकोरिफरल सेवा उपलब्ध रहेको छ ।
अस्पताल र उपचार केन्द्रबाट उपचारसँगै अन्य कुरा केही छन् ?
विभिन्न समयमा विकट क्षेत्रमा आँखा शिविरहरू सञ्चालन गर्नुका साथै अस्पतालले विभिन्न दातृ निकायहरूको सहयोगबाट आँखा शिविरका साथै अन्य जनचेतनामूलक र पैरवी कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ । अस्पतालले सुगममा मात्र नभई लुम्बिनी तथा कर्णाली प्रदेशको विभिन्न दुर दराजको दुर्गभ क्षेत्रमा पुगेर आँखा चेकजाँच शिविरहरू सञ्चालन गरी हजाराँैलाई उज्यालो प्रर्दान गरिरहेको छौँ ।
हामीले नेपालमा दृष्टिविहीनता न्यूनीकरण गर्नको लागि आन्तरिक एवम् बाह्य सहयोगका माध्यमबाट आँखा स्वास्थ्यको क्षेत्रमा अहोरात्र खटी उपचारात्मक, निवारक, पुनः स्थापना तथा सचेतनात्मक सेवा गर्दै आइरहेका छौँ । जनचेतनाको अभावका कारण कोही कसैले पनि दृष्टि गुमाउन नपरोस् भन्ने हेतुले समाजका विभिन्न सरोकारवालालाई आधारभूत आँखा स्वास्थ्य शिक्षा दिने गरेका छौँ ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालको आयोजना तथा दातृ निकाय एनएवीपी नर्वेको आर्थिक सहयोग विभिन्न स्थानमा तालिम दिने गरेका छौँ । सामुदायिक विद्यालयका शिक्षक, आमा समूह, महिला स्वास्थ्य स्वंयमसेविका, हेल्थपोष्ट इन्चार्ज स्वास्थ्यकर्मी र धामी झाँग्रीहरूलाई तालिम दिने गरेका छौँ ।
जनचेतनाको अभावका कारण कोही कसैले पनि दृष्टि गुमाउन नपरोस् भनेर हामीहरूले समाजका विभिन्न सरोकारवालालाई आधारभूत आँखा स्वास्थ्य शिक्षा दिने गरेका छौँ । यसले गर्दा अन्धविश्वासका कारण घरमा नै उपचार गर्नुपर्छ भन्ने र बस्ने तथा अस्पतालसम्म पहुँच नपुगेकाहरूलाई अस्पतालसम्म पहुँच पु¥याउने गरेको छ ।
‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी आँखा स्वास्थ्यमा साझेदारी’ भन्ने मुल नारालाई साकार पार्न स्थानीय पालिकासँगको सहकार्य गरी साझेदारी कार्यक्रम अन्तर्गत दृष्टिविहीनता अर्थात् अन्धोपनको समस्यालाई न्यूनीकरण गर्न प्रत्येक पालिकामा एउटा एकीकृत आँखा उपचार केन्द्र स्थापना गर्ने उद्देश्य अनुरूप एकीकृत आँखा उपचार केन्द्रहरू पनि विस्तार गर्दै आएको र त्यसले पनि आँखा स्वास्थ्यको पहुँचलाई गाउँ तहसम्म विस्तार गरेको छ ।
अन्तमा केही भन्नु छ ?
अन्तमा म दृष्टिविहीनता अर्थात् आँखाको समस्या र हामीहरूले दिएको सेवा लगायत विश्व दृष्टि दिवसको अवसरमा आफ्ना कुराहरू राख्न दिएकोमा धन्यवाद दिन चाहान्छु । हामीहरू सबै दृष्टिविहीनता न्यूनीकरण कसरी गर्न सक्छौँ भन्ने अभियानमा लागेका छौँ ।
उपचारबाट सन्चो हुने दृष्टिविहीनता न्यूनीकरणमा हामी सबै जुटाँै र सबैले ‘आफ्नो आँखाको माया गरौँ’ आँखामा कुनै समस्या आए तुरुन्त नजिकैको आँखा अस्पताल र उपचार केन्द्रमा गएर समयमै उपचार गरौँ भन्न चाहान्छु । साथै विश्व दृष्टि दिवसको अवसरमा सबैलाई हजुरको सञ्चार माध्यमबाट शुभकामना दिन चाहान्छु ।
