मिति अहिले स्मरण भएन, सायद त्यो बेला मुलुकमा भर्खर सरकार एमाओवादी सशस्त्र द्वन्द्व सुरु भएको थियो । सायद ५४ सालको जाडो महिना । म कान्तिपुर दैनिकमा रिसेप्सनिष्टका रूपमा जागिरे थिएँ । पत्रिकामा काम गर्ने विभिन्न विभाग थिए तर खास महत्व न्युज रुमकै देखिन्थ्यो, त्यो बेला । कार्यालय तीन कुनेमा थियो । पत्रिकामा जति मान्छे कसैलाई भेट्न आउँथे भने ती प्राय न्युज रुमकै पत्रकारलाई ।
रिसिप्सनमा काम गरिरहँदा मलाई पनि पत्रकारिताको भूत चढिसकेको थियो । रिसिप्सनमै समाचार आउने एउटा फ्याक्स मेसिन थियो । त्यही विदेशबाट समाचार आउने टेलेक्श मेसिन पनि थियो । टेलेक्स मेसिनमा विश्वभरका न्युज एजेन्सीबाट समाचार आइरहन्थ्यो र क्यार–क्यार छापिइरहन्थ्यो, अङ्ग्रेजी भाषामा । मैले त्यसलाई रोल बनाएर सम्पादक ज्युकोमा पु¥याइदिनु पथ्र्यो ।
फ्याक्स सुविधा नभएका जिल्लाबाट फोनमा समाचार टिप्नु पथ्र्यो । फोन पनि नभएका अति दुर्गम जिल्लाबाट भने आवाजमा समाचार आउथ्यो । त्यो बेला समाचारको यति महत्व थियो कि हरेक फ्याक्स, हरेक फोन र हरेक आवाजका खबर सबैभन्दा पहिने मैले नै थाहा पाउँथे । त्यसैले पनि मलाई रिसेप्सनमा काम गर्दा गर्दै पत्रकार बन्ने धोको जाग्यो ।
त्यो बेला पत्रकारिताको पढाइ क्याम्पसमा सायद क्याम्पसमा सुरु भइसकेको थिएन । पत्रकारिता सिकाउने संस्था नेपाल प्रेस इन्स्टिच्युट खुलेको थियो । जसले शुल्क लिएर १२ महिने पत्रकारिता सिकाउथ्यो । केही कोटा स्कलरसिपका पनि हुन्थे भन्ने मैले चाल पाइसकेको थिएँ । तत्कालीन संपादक योगेश उपाध्याय थिए । उनले नेपाल प्रेस इन्सिटीच्युटका सञ्चालकलाई चिनेका थिए ।
उनैको शोर्षबाट मैले नेपाल प्रेस इन्सिटिच्युटमा १२ महिने पत्रकारिता सिक्न थालेँ । छात्रवृत्ति कोटामा मेरो नाम निस्किएको थियो । त्यो वापत मैले पकेट खर्च पनि केही रकम पाउथेँ अर्थात् मासिक ६ सय रूपैयाँ । त्यो बेला ६ सय रूप्पेले मेरो खाजा खर्च टथ्र्यो । ६ रूप्पे प्लेट मम, १० रूप्पेको मालपुवा चना, वीस रूप्पे खर्च गरे चना अण्डा ।
पत्रकारिताका गुरु गोकुल पोख्रेल, पि खरेल, भागिरथ योगीलगायत । म आफै पत्रिकाको अफिसमा काम गर्ने भएकाले पढ्न धेरै गाह्रो हुने कुरा भएन तर जब अन्तिम तीन महिना पत्रिकाकै अफिसमा ओजेटी गर्नुपर्छ त्यो बेला भने पत्रिकामा समाचार छपाउन निकै कठिन हुँदो रहेछ ।
मैले दिनभर लगाएर समाचार खोज्थेँ, तर साँझ ती हस्तलिखित समाचारमा गोला लगाएर यो यो कोड पुगेन भनेर फिर्ता दिइन्थ्यो । भोलिपल्ट ती बाँकी स्रोतहरू खोज्नु पथ्र्यो । मुस्किलले कार्यालयमा एउटा ल्यान्डलाईन फोन हुन्थ्यो । त्यसमा सम्पर्क नभएपछि कार्यालयमै पुग्नु पथ्र्यो, कोड लिन ।
तीन चार पटक मैले लेखेका समाचार च्यातिएपछि एउटा समाचार छाफियो, कान्तिपुरको पहिलो पृष्टमा एंकर न्युज । समाचारको शिर्षक थियो ‘प्रहरीले दिएको ग्रिन स्टीकर र धुवाको मुस्लो’ त्यो बेला मैले वातावरण सम्बन्धी समाचार लेख्ने जमर्को गरेको थिएँ । त्यसैबेला काठमाडौँमा धुवाको पोलुशन बढ्यो भनेर प्रहरीले हरेक सवारी साधनलाई इन्जिनले फाल्ने धुवाका आधारमा तीन थरी स्टीकर दिन्थ्यो ।
ग्रिन स्टीकर, एलो स्टीकर र रेड स्टीकर । ग्रिन स्टीकर सिँहदरबारसम्म पनि छिर्न पाउथे । एलो स्टीकर पाउने सवारी साधन निश्चित तोकिएको क्षेत्रमा मात्रै र रेड स्टीकर पाउने सवारी साधनले सवारी साधन मर्मत गरी सुधार हुनै पथ्र्यो । त्यो समाचार लेख्न मैले वातावरण क्षेत्रमा काम गर्ने आइयुसियन, ट्राफिक प्रहरी, गाडि मर्मत गर्ने ग्यारेज, वातावरण हेर्ने स्वास्थ्य मन्त्रालय लगायतका निकाय ।
त्यो समाचार पनि मेरा पत्रकारिताका अग्रज दाजु तारानाथ दाहालले तीन पटक रिसाइट गर्न लगाएपछि मात्र छापिएको थियो । त्यो समाचार छापिएपछि मात्र मेरो पत्रकारिताको रेखा कोरिएको थियो, यद्धपि जागिर भने रिसेप्सनबाट बल्ल तल्ल जिल्ला समाचार ब्युरोमा सरुवा भएको थियो ।
जिल्ला ब्युरोमा समाचार सम्पादन गर्न नभएर पत्रकारहरूले जिल्लाबाट पठाएका समाचार सम्बन्धित बिट हेर्ने ब्युरोमा पठाउने र प्रकाशित समाचारका आधारमा स्केलले नापेर पत्रकारलाई पैसा हालिदिन सिफारिस गर्ने । त्यसो त ओजेटिकै क्रममा मैले कान्तिपुरमा करिब दुई दर्जन समाचार लेखेँ हुँला तर मलाई त्यो एङ्कर न्युज सबैभन्दा खुसीको क्षण बन्यो । मैले त्यो दिनको पत्रिका अझै पनि सुरक्षित राखेको छु । मेरो खुसी त्यही दिनको पत्रिका बन्यो । समाचार छापिएको दिन मैले रुममा फर्केर सानो तिनो पार्टी पनि दिएको थिएँ । किनकि एङ्कर न्युज छापिएपछि मैले त्यसको पारिश्रमिक ४ सय रूपैयाँ पाउँथे ।
अहिले म त्यही एङ्कर न्युजको बलमा पत्रकारितामा छँु । यद्धपि मैले खासमा कान्तिपुरमा पत्रकारका रूपमा भने काम गर्ने अवसर पाइन । दाङ फर्केपछि गोरक्षमा जोडिएपछि नै मेरो खास पत्रकारिता सुरु भएको थियो । मलाई पत्रकारिता सिकाउन हौस्याउने, अग्रज दाजुहरू तारानाथ दाहाल, कृष्ण मुरारी भण्डारी, हरिबहादुर थापा, दिल भुषण पाठक, सुभाष पाठक, प्रशान्त अर्याल लयायत सबैलाई स्मरण पनि गर्न चाहन्छु ।
त्यो बेलाको आवाज पत्रकारिताबाट सुरु भएको पत्रकारिता अहिले डिजिटल पत्रकारिता भएको छ । सूचना खोज्न कहाँ–कहाँ भौतारीनु पथ्र्यो, अहिले मोबाइलको स्क्रीनमा क्लीक गरे सूचना आइहाल्छ । कति सहज बनेको छ आजको पत्रकारिता । सायद अहिले भर्खरैको पत्रकारिताको पुस्तालाई थाहा नहुन सक्छ, मास्ट हेड न्युज, व्यानर न्युज, मेन न्युज र एङ्कर न्युजका बारेमा । अचेल प्रायः त्यो अभ्यास हराउँदै गएको छ । मिडियालाई प्राप्त विज्ञापनका आधारमा पेज सेटिङ भइदिन्छन् । समाचारभन्दा पहिलेको पेजमा फुलपेज एड पनि हामीले देखेका हुन्छौँ ।
मान्छेलाई सानो कुराले पनि अविस्मरणीय खुसी दिने रहेछ । सानोमा बुवाको खल्तीबाट तीन मोहर चोरेर भेली किनेर बाँडेको त्यो क्षण होस् वा खोलामा हत्केला खेल्दा कुर भरी माछा फेला परेका यादले मलाई बालापनको खुसी सम्झाइदिन्छ । पौडि खेल्दा बल्लतल्ल उर्लेको भेलमा मुस्किलले खोला पार गरेको त्यो लुंगखोलाको किनारालाई पनि मैले अविस्मरणीय क्षणका रूपमा लिन्छु । सायद अनुभूति हो खुसी ।
गाई चराएर फर्कदा मालि गाइको पुटुल्ल परेको पेट र राय गोरुको भरिलो पेटले पनि कति खुसी मिल्थ्यो मनमा । त्यो बेला प्युठान जिल्लाको खलंगामा आयोजना भएको जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा दोस्रो भएको क्षणले मलाई चार घण्टाको पैदल यात्रा तय गरी घर पुगेको कत्ति पनि थकान महसुस भएन । सायद त्यो पनि खुसीको अनुभूतिले होला, कष्ट भुलाई दियो ।
अर्थात कष्ट भुल्न सक्नु पनि खुसी हँुदो रहेछ । समस्याबाट मुक्ति पाउनु पनि खुसीकै परिभाषा हो सायद । समस्याले नै सम्भावनाको ढोका खोलिदिँदो रहेछ, सायद समस्या पनि खुसीको आमन्त्रण हो । आवश्यकता पनि खुसी हो, कारण आवश्यकताबाटै आविष्कार हुने रहेछ । अर्थात् परिभाषा र अर्थ लगाउन नसकिने खुसी अनुभूतिको क्षण मात्रै हो ।
अहिलेको पत्रकारिताको परिभाषा त डिजिटल पत्रकारितामा सीमित हुन पुगेको अनुभूति हुन्छ । पठन संस्कृति भड्किएको देखिन्छ । मोबाइलको स्क्रीनमा औँला माथि लग्दै जाने पुस्ताले पढाइको संस्कारलाई पछि धकेलेको जस्तो अनुभूति हुन्छ तर मलाई लाग्छ, मोबाइलमा देखिने सुन्दरता मात्रै हो, तर पत्रिका र पुस्ताकमा सुन्दरतासँगै सुगन्ध पनि हुने गर्दछ ।
मेरो नाम खेमराज रिजाल । गाउँमा मलाई कुमार भनेर चिन्छन् धेरैले । जन्मथलो प्युठान जिल्लाको साविक लुङ गाविस–३ हो । प्राथमिक शिक्षादेखि ७ कक्षासम्म गाउँकै त्रिभुवन निमावी लुङमा, हाइस्कुल गंगा मावि लुङ बाहनेबाट । एसएलसी परीक्षा दिएको जनता मावि बाग्दुलाबाट । आइएससी अध्ययन गर्न काठमाडौँ उपत्यकाको पाटन क्याम्पस । त्यसपछि पढाइ बिकमतिर मोडिए । शंकरदेव क्याम्पसबाट विकम उत्तीर्ण गरेपछिको पढाइ भनेको पत्रपत्रिका र समसामयिक उपन्यास र कृतिहरू ।