नारायणप्रसाद श्रेष्ठ
समय परिवर्तनशील छ । हिजो भएको अवस्था आज हुँदैन र आज देखिएको अवस्था भोलि नरहन सक्छ । बगेको खोला फर्किदैन, गएको समय फेरि आउँदैन । सत्य डगदैन, झुट लुक्दैन, यो सर्व मान्य सिद्धान्त पनि हो र यसै अनुरुप वर्तमान पनि गुज्रिरहेको हुन्छ ।
त्यसैगरी समय र परिवेशले दिने अवसर र चुनौती पनि विविध किसिमले देखा परेको हुन्छ । जुन समयले जुन कार्य गर्न उत्प्रेरित गरेको हुन्छ, यदि त्यो समयमा त्यो कार्य गर्न सकिएन वा गर्न चासो दिइएन भने त्यसले ल्याउने परिणाम डर लाग्दो मात्रा हुँदैन भयावह पनि हुन सक्छ । अवसर पटक–पटक आउँछ तर त्यसलार्ई सदुपयोग गर्न सकिएन भने त्यो आफैमा हानीकारक बन्न पुग्दछ ।
मानिसको चाहाना र इच्छाले हिजो जसरी बितायो त्यसरी नै जीवनभर त्यसरी नै बितोस भन्ने चाहान्छ । त्यति मात्र होइन सधैभरी म दासको मालिक बनिरहँु भन्ने चाहान राख्दछ । म र मेरो बाहेक अरु कसैको नहोस भन्ने उसको चाहाना पनि हुन्छ ।
हो ! सुख सुविधा र सम्पन्नता मानिसको चाहाना हुनु नराम्रो नहुन सक्छ, मान प्रतिष्ठा र इज्जत साथ जिउने उसको चाहाना नराम्रो पनि होइन तर मै खाउ, मै लाउ, मै मोज मजा गरु भन्ने अहंकार युक्त जुन किसिमको चाहाना मानिसले राख्छ त्यहाँ दुर्गती पनि हुन्छ भन्ने सत्य उसले बुझेको हुँदैन । फलस्वरुप जीवन मरनको इतिहासमा उ कलङ्कित भएर बाच्नु पर्ने हुन्छ ।
यो कसैले भुल्नु हुँदैन । जसको ज्वलन्त प्रमाण भरखरै २०८२÷५÷२३ र २४ गते को घटनाले प्रष्ट देखाइसकेको छ । उत्कृष्ट संविधान भनी बनाइएको २०७२ सालको संविधान अहिले अस्पतालको सैयामा पुगेको अवस्था छ । संविधान सम्मत निर्वाचन हुनुपर्छ भनी एकथरी भन्दै छन् भने जेन–जी भाइहरु संविधानको धारा उपधारा कहाँ बदलेर हुन्छ, प्रत्यक्ष कार्यकारी प्रमुखको अवधारणा अनुरुप निर्वाचन हुनुपर्छ भन्दै छन् । यो विषय पेचिलो बन्दै छ । जे होस यसको समाधान होला नै । यो बहस हुँदै गर्ला । अब लागौँ २३ र २४ गते को घटनातर्फ ।
त्यसबेला जेन–जी भाइहरुको शान्तिपूर्ण आन्दोलनभित्र भएको घुस पैठले राष्ट्रमा धेरै धनजनको नोक्सान भयो । हिजो पटक–पटक भ्रष्टाचार न्यूनीकरण गरी देशमा सुशासन कायम हुनुपर्छ भनी वारम्बार जन आवाज उठ्दा पनि नेतृत्वले नसुन्दा र स्वतन्त्र विचारलार्ई दबाउन खोज्दाको परिणाम राष्ट्रले ठूलो क्षति व्यहोर्नु प¥यो ।
भ्रष्ट आचरण र नैतिकताको प्रश्न उठ्दा पनि नीति निर्माता केवल आफ्नो स्वार्थमा अल्झी सबै निकायलार्ई मेरो पेवा गराउँछु भन्ने दम्भले राष्ट्रले व्यवस्थापिका, प्रशासनिक निकायलगायत न्यायालय पनि ध्वस्त हुन पुग्यो । अहिले आएर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका माथि नै प्रश्न उठ्ने गरी जनतामा अविश्वास बढ्न गएको छ ।
नेपाल न्याय हराएको मुलुक भनेर चिनिने अवस्थासम्म पुगेको अवस्था छ । यसलार्ई कसरी विश्वास र भरोसा योग्य बनाउनु पर्छ यो गम्भीर प्रश्न अहिले पेचिलो बनेर उठेको छ । आजको अवस्थासम्म पनि हामीले गलत निर्णय गरेछौँ भनी कुनै दलले गल्ती स्वीकार गरेको अवस्था छैन । समय र परिस्थितिको आंकलन गर्न नसक्दा अहिले राष्ट्रले धेरै भौतिक क्षती व्यहोर्नु प¥यो । साथै जनताको नजरमा नेताहरु लखेटिनु प¥यो । ज्यान जोगाउन सुरक्षा निकायको शरणमा पुग्नु प¥यो ।
आन्दोलनको कारण अहिले नयाँ शासक बनाई जिम्मेवारी सुम्पिएको अवस्था छ । आन्दोलनको जगमा बनेको सरकारले अब पनि समयको गतिशिलता र जन आवाज र समाजले खोजेको सुशासन र न्यायोचित मागलार्ई बुझ्न सकेन वा बुझ्ने प्रयास गरेन भने भोलि आउने समय अझ कति कठिन हुनेछ यो कुरा कल्पना गर्न गाह्रो छ ।
अहिले सुरुकै अवस्थामा भातको पहिलो गास मा ढुङ्गा भनेझै सरकार एकातिर जेन–जी भाइहरुको माग एकातिर देखिन सुरु भइसकेको छ । यसलाई समय मै सम्बोधन हुन सकेन, प्राप्त उपलब्धीलाई सदुपयोग गर्न सकिएन भने त्यो आफैमा प्रतित्पादक भएर देखा पर्न नसक्ला भन्न सकिन्न । यसैले वर्तमान समयले देखाएको सत्यलाई बुझी सबै पक्ष जिम्मेवार भएर अघि बढ्नु परेको छ ।
नेता हिजो जसरी आफूलाई सुख सुविधा र सम्पन्नता कायम राखी अगाडि बढ्ने लालशमा देखिएका थिए आज पनि यदि त्यही अवस्था र हैकम कायम गरेर अगाडि बढ्न कोशिस गरे भने दुर्घटना नजिक हुने कुरामा दुई मत नहुन सक्छ । किनकी स्वभाव र विचारले पार्ने प्रभावले ल्याउने परिणाम जस्तो पनि हुन सक्ने सत्य हामीले देखिसकेका छौँ । मन ताक्छ मुढो बन्चरो ताक्छ घुडो भनेझै बाह्य आवरणमा देखिने चरित्र एउटा व्यवहारमा देखिने कर्म अलग भयो भने निश्चय पनि दुर्घटना हुने खतरा बढेको हुन्छ ।
जसलाई हामीले भरखरै देखिसकेका छौँ । कर्म र व्यवहारमा तादाम्य मिलेन भने मानिसले चाहादा नचाहाँदै पनि परिस्थितिले अर्कै मोड लिइसकेको हुन्छ । यति मात्र होइन विचार र कर्ममा हुने भिन्नताले समाजमा दुर्गन्ध बढ्न गई गलत कर्मतिर मानिसको सोच न बढ्ला भन्न सकिन्न । किनकी हामीले सुशासनको नाराले मात्र केही नहुने कुरा देखिसक्यौँ । भाषण र ललिपप दिँदैमा केही नहुने कुरा देखिसक्यौँ ।
तसर्थ समय र परिस्थितिको आंकलन गरी अब सबै जिम्मेवार हुनु परेको छ । दलहरु सच्चिनु पर्ने अवस्था छ । यदि आज एक दिन भोलि एक दिन भन्दै पुरानो भएपछि बिर्सने मानिसको स्वभावै हो भनी समयलाई ख्याल नगर्ने हो भने राजनीतिले कता कोल्टे फेर्ने हो, राष्ट्र र राष्ट्रियताप्रति कस्तो आँच आउने हो, बाह्य हस्तक्षेप बढ्ने होला नहोला, फेरि जनधनको क्षति होला नहोला गम्भीर प्रश्न उठने अवस्था छ ।
सबैले गम्भीर भएर चिन्तन गर्न जरुरी छ । अहिले कुर्सी दौड होइन जन आकांक्षा र जेन–जीले गरेको आन्दोलनको मर्म बुझी राज्यको नीतिमा पुनः संरचना गरेर पनि भ्रष्टाचार मुक्त सुशासन र आमजनको आकांक्षा मुताविकको निर्वाचन प्रणाली नीति बनाउन जरुरी देखिन्छ ।
त्यसैले साधनलाई साध्य बनाउने विवेकलाई समय अनुकुल परिचालन गर्नु र समयले दिएको अवसर र जिम्मेवारीलाई यो मेरो परीक्षाको घडी हो, अहिले नगरे कहिले गर्ने भनी सकारात्मक चिन्तनका साथ दम्भ र प्रतिशोधले होइन स्वच्छ विचार र सकारात्मक कर्म र व्यवहारले हाम्रो राष्ट्र हाम्रो स्वाभिमान, हाम्रो कुशल कर्म हाम्रो प्रतिष्ठा भनी सबै लागि पर्नु परेको छ । मुल कानुनलाई कसरी मर्यादित र समय सुहाउँदो बनाउन सकिन्छ त्यतातिर ध्यान जान जरुरी छ ।
कर्म र व्यवहारमा देखिने भिन्नताले मानिसले नचाहाँदा नचाहाँदै पनि परिस्थितिले अर्कै मोड लिएको प्रशस्तै उदाहरण छन् । समयको माग अनुसार जुन कर्म र व्यवहार गर्नु पर्ने हो यदि त्यसलाई सदुपयोग गर्न जानिएन भने प्राप्त उपलब्धी त गुम्यो–गुम्यो व्यक्तिको जीवन पनि नरक तुल्य भई न घरको न घाटको बन्न पुग्द्छ । यसको मुल जड भनेको मानिसको क्षणिक स्वार्थ र चिन्तन हो । जहाँ स्वार्थ हुन्छ त्यहाँ विचार पनि स्वार्थ मा परिणत हुन्छ ।
स्वार्थीले आफूलाई जति नै इमानदार देखाउन खोजे पनि यो कहीँ न कतैबाट चुहेर गन्याउने भइसकेको हुन्छ । किनकी स्वार्थले मानिसलाई अन्धो बनाएको हुन्छ । सोच र चिन्तनमा बदला र प्रतिशोध एवम् कर्ममा गलत मानसिकता जगाएको हुन्छ । साधन त उ सँग प्रशस्तै रहेको हुन्छ तर साधनलाई साध्य गराउने बुद्धिमा ताला लागेको हुन्छ ।
फल स्वरुप उ आफू पनि डुब्छ र अरुलाई पनि उसले डुबाउँछ । यो सत्य कहिले बिर्सनु हुँदैन । बिनासेकाले विपरित बुद्धि भन्ने उखान त्यसै बनेको होइन । अहिले राज्य भीषण वर्षाले पनि पीडित छ । यस अवस्था सबै जिम्मेवार हुनुपर्छ । फेरि पनि यो केही पनि होइन भनी झोल, चम्छे, हुक्केको कुरा सुनी जन आवाज कुण्ठित गराउने कोशिस भए ‘कली धपक्क बल्ने छ, यो सबैले बुझ्न जरुरी छ । चेतना भया ।