सुखद् रहोस् दसैँ

नेपालीहरुको महान चाड विजयादशमीको सङ्घारमा छौँ । आज बडा दसैँँको सप्तमी तिथि, अर्थात् आम नेपालीले आआफ्नो घरमा फूलपाती भित्रयाउने दिन । रोजगारी तथा अध्ययनका क्रममा घर बाहिर रहेका आफन्त आउने क्रम करिब करिब सकिइसकेको छ ।
गाउँघर र सहरबजारमा चहलपहल केही बढी छ । दसैँका लागि लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्री किनमेलले बजारमा भिडभाड बढिसकेको छ । घरआँगन सफा गर्ने र दुर्गादेवीको आराधना गर्ने क्रम घटस्थापनाकै दिनदेखि सुरु भएको छ । हिन्दु धर्मावलम्बीहरुका मठमन्दिरमा पूजाआजाको भिड देखिन्छ । दुर्गा देवीलाई शक्तिकी देवीका रुपमा पुजिने भएकाले शक्तिपीठहरुमा अरु थप रौनक देखिन्छ ।
दसैँ असत्यका विरुद्ध सत्यको पर्व पनि हो । धार्मिक एवम् पौराणिक इतिहास केलाउने हो भने यो पर्व रामायणसँग जोडिएको पर्व हो । असत्यका विरुद्ध सत्यको पर्व अर्थात् रावणलाई रामले मृत्युवरण गराएको दिन । आम नेपालीले यो वर्षको महान चाड दसैँ मनाइरहँदा अहिले मुलुक शोकमग्न छ ।
भ्रष्टाचारको अन्त्य गरी सुशासन तथा सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउनुपर्ने माग गर्दै जेन–जी समूहको आन्दोलनले उग्र रुप लिएपछि सुरक्षाकर्मी र जेन–जी पुस्ताबिचको भिडन्तमा गोली लागेर कम्तीमा ७५ जना नागरिकको निधन भएको छ । त्यस्तै जेन–जी आन्दोलनमा आवान्छित गतिविधि गर्ने समूहको घुसपैठ हुँदा मुलुकका कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिका तीन वटै निकायहरु तोडफोड र आगजनीमा खरानी भएका छन् । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि सर्वोच्च अदालत र संसद् भवनसमेत आगजनीमा खरानी भएको छ ।
यस्तो विवशताबिच हामीले महान पर्व दसैँलाई स्वागत गर्नुपर्ने र परम्परालाई निरन्तरता दिनुपर्ने बाध्यता हामी सामु छ । हामीले दसैँ मनाइरहँदा सयौँ आमाहरुको काख रित्तिएको छ । कतिपय घाइतेहरु उपचारका क्रममा अझै अस्पतालमा छन् । कतिले त घरमै उपचारका क्रममा रहेका छन् ।
परिस्थिति जस्तोसुकै भए पनि हामी पुनः उठ्नुको कुनै विकल्प छैन । मनमा धीरता र शरीरमा नयाँ उर्जा लिएर हामी पुनः मुलुकको स्थायी शान्ति र समृद्धिको महान अभियानमा जोडिनु पर्नेछ । देश खरानी भइरहेका बेला अघिल्ला वर्षहरुमा भन्दा यो वर्ष महान चाड बडा दसैँ केही खल्लो हुनु स्वाभाविक हो तर पनि यसलाई हामीले पर्वका रुपमा स्वीकार गर्न विवश छौँ ।
पर्वलाई सहज र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु हामी आम नेपालीको सामूहिक दायित्व हो । त्यसैले यो वर्षको महान चाड बडा दसैँलाई विल्कुलै तडकभडक नभएर संस्कृतिको जगेर्नामा लाग्नुपर्ने हामी सबैको कर्तव्य हो । ‘घाँटी हेरेर हाड निल्नु’ भन्ने उखानलाई हामीले यो महान पर्वमा आत्मसात गर्न जरुरी छ । अहिले जेन–जी आन्दोलनका क्रममा फरार कैदीबन्दीले पर्वको समयमा आवान्छित गतिविधिहरु गर्न सक्नेतर्फ हाम्रो गम्भीर ध्यान जान आवश्यक छ । यसमा आम नागरिक र सुरक्षा निकायको हातेमालो पनि आवश्यक देखिन्छ । यसमा हामी सबैले सहकार्य गर्नेछौँ भन्ने हामीलाई विश्वास छ । हरेक नागरिक आफू सुरक्षित हुँदै टोल सुरक्षा तथा गाउँबस्ती सुरक्षामा लाग्न उत्तिकै आवश्यक देखिन्छ ।
अर्को समस्या भनेको पर्वको उन्मादमा मादक पदार्थको सेवन गर्ने र जुवातास खेल्ने खेलाउने अभ्यासहरु यस अघिका पर्वहरुमा नभएका होइनन् । यसमा हामी बढी सचेत हुन जरुरी छ । आम नेपालीको महान चाड बडा दसैँं हर तवरले सुखद् रहोस्, यही शुभकामना व्यक्त गर्दछौँ ।