आगामी निर्वाचन अर्जुनदृष्टि : पूर्व मन्त्री खनाल

दाङ,१२ असोज । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजु खनालले आगामी निर्वाचन पार्टीको अर्जुनदृष्टि हुनुपर्ने बताएका छन् ।

दशैं, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभाति समेत रहेका पूर्वमन्त्री खनालले निर्वाचनलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताएका हुन । हालै घोषणा भएको निर्वाचनलाई सफल बनाउन लामो संघर्षपछि प्राप्त संविधानको रक्षा गर्दै नयाँ ढंगले एकताबद्ध पार्टी निर्माण गर्नु नेतृत्वको गम्भीर जिम्मेवारी भएको भन्दै खनालले भने,‘आगामी निर्वाचन हाम्रो अर्जुन दृष्टि हुनुपर्छ ।

विगतका कमजोरी सच्याउँदै पार्टीलाई अझ सबल बनाउन नेतृत्वलाई प्रेरित गर्ने शक्ति विजया दशमीले दिनेछ भन्ने विश्वास लिएको छु ।’ पूर्वमन्त्री खनालले साझा संघर्षबाट मुलुक समृद्धिको बाटोमा अघि बढ्न सक्ने विश्वास व्यक्त गर्दै व्यक्तिगत पीडाभन्दा ठूलो मुलुकको हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

घर पुख्यौली सम्पती

यसैविच पूर्वमन्त्री खनालले जेनजी आन्दोलनका क्रममा तोडफोड भएको घर पुख्र्यौली सम्पती र आफ्नै पसिनाले बनाएको बताए । जेनजी आन्दोलनका क्रममा आफ्नो घरसमेत तोडफोडको भएको भन्दै प्रदेशसभा सदस्य खनालले सार्वजनिक र निजी सम्पत्ति क्षतिको विषयमा दुःख व्यक्त गर्दै आन्दोलनले देशलाई नयाँ चेतना र परिवर्तनको गहिरो सन्देश दिएको बताएका छन् । प्रदेशसभा सदस्य खनालले भने,‘यो घर मैले कुनै गैरकानुनी स्रोत प्रयोग गरेर होइन, पुख्र्यौली सम्पत्ति र आफ्नै पसिनाले बनाएको हो । व्यक्तिगत पीडा सजिलो छैन, तर देशभर देखिएको पीडामा मेरो व्यक्तिगत पीडा सानो मात्र हो भन्ने महसुस गरेको छु ।’

प्रदेश सदस्य खनालले देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई बडा दशैं, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै चाडपर्वले आपसी सद्भाव, भाईचारा, माया–ममता र सहकार्यलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै र असमानता अन्त्य गरेर राष्ट्रिय एकता, शान्ति र समृद्धिको नयाँ आधारशिला निर्माण गर्ने विश्वास व्यक्त गरेका छन् । साथै जेन्जी आन्दोलनका सहादत प्राप्त विद्यार्थी, युवाहरू, सुरक्षाकर्मी तथा सर्वसाधारणप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

यस्तो छ, प्रेस बिज्ञप्ति

शुभकामना :
देश विदेशमा रहनुभएका सम्पूर्ण आमा बुवा, दिदीबहिनी, दाजुभाइ तथा समस्त नेपालीहरूमा २०८२ सालको बडा दशैं, तिहार, नेपाल संवत र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
यस दशैंको पूर्वसन्ध्यामा हामी जेन्जी आन्दोलनको गम्भीर परिस्थितिबाट भर्खरै सम्हालिँदै छौँ । यस आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण विद्यार्थी, तरुण, सुरक्षाकर्मी तथा सर्वसाधारणमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना र घाइतेहरूकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु । आन्दाेलनका क्रममा भएका सार्वजनिक र ब्यक्तिगत सम्पतीकाे क्षेती प्रती दुःख ब्यक्त गर्दछु ।
हाम्रो समाजले हालै अनुभूत गरेको जेन्जी आन्दोलन कुनै सामान्य आन्दोलन थिएन, यो आन्दोलनले देशलाई नयाँ चेतना, नयाँ मार्ग र परिवर्तनको गहिरो सन्देश दिएको छ । यस क्रममा मेरो आफ्नै घरसमेत तोडफोड र क्षतिको शिकार हुनपरेको यथार्थ छ । त्यो घर मैले कुनै गैरकानुनी स्रोत वा अनुचित आम्दानी प्रयोग गरेर निर्माण गरेको होइन, पुर्ख्याैली सम्पती सँगै आफ्नै पसिना, मेहनत र श्रमको परिणाम थियो। यथार्थमा, यस्तो पीडा कसैलाई पनि सहज लाग्दैन तर आज देशभरि देखिएको पीडा, तडप र असमानताको आगोमा मेरो व्यक्तिगत पीडा सानो मात्र छ भन्ने महसुस गरेको छु ।
यदि हाम्रो साझा संघर्षले देशलाई नयाँ ढङ्गले समृद्धिको दिशातर्फ अघि बढाउन सक्छ भने, हामी सबैले आफ्ना व्यक्तिगत पीडाहरूलाई सहर्ष स्वीकार गरेरै अगाडि बढ्नुपर्छ भन्ने दृढ विश्वास राख्दछु । अब देशमा नयाँ निर्वाचन घोषणा भएको छ । लामाे संघर्षबाट प्राप्त संविधानकाे रक्षा गर्दै विगतका कमी कमजोरीहरूलाई सच्यायर नयाँ र एकताबद्ध पार्टी निर्माण गर्दै घोषित निर्वाचनलाई सफलतातर्फ पुर्याउन नै हाम्रो अर्जुन दृष्टि रहनुपर्छ ।
हामीसँग समय पनि छ, पार्टीलाई नयाँ ढंगले अझ एकीकृत र मजबुत बनाउँदै पार्टीका तमाम साथीहरूमा उत्साहको सन्देश दिन सक्ने गम्भीर जिम्मेवारी अब नेतृत्वको काँधमा आइपुगेको छ । नेतृत्वलाई त्यो क्षमता पनि यो विजया दशमीले प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ । यस पवित्र चाडपर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, भाईचारा, माया–ममता र सहकार्यलाई अझ प्रगाढ बनाओस् । सामाजिक अन्याय, विभेद र असमानतालाई अन्त्य गर्दै राष्ट्रिय एकता, शान्ति र समृद्धिको नयाँ आधारशिला निर्माण होस् ,
हार्दिक शुभकामना ।
— 
राजु खनाल
पूर्वमन्त्री तथा
प्रदेश सभा सदस्य, लुम्बिनी प्रदेश