आगजनी भएका संरचना निरीक्षण

गोरक्ष समाचारदाता
तुलसीपुर, १२ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले जेन–जी आन्दोलनका क्रममा आगजनी गरिएका नेताका घर पार्टी कार्यालय तथा संरचनाको शनिवार अनुगमन गरेका छन् । विगठित प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता गिरीले तुलसीपुरस्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीको रिसोर्टमा पुगेको क्षतिको अवलोकन गरेका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका नेता गिरी नेकपा एमालेका महासचिव शंकर पोख्रेलको आगजनी भएको तुलसीपुरको बिजौरीस्थित निवासका साथै घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको आगजनी भएको निवासको पनि अवलोकन गरेका थिए । यसैगरी नेपाली कांग्रेस क्षेत्र नं। ३, तुलसीपुर नगर कार्यालय, नेपाली कांग्रेस क्षेत्र नं। २ ख, नेपाली कांग्रेसको पार्टी कार्यालय र घोराहीस्थित मालाइनमा पुगी अवलोकन गरेका थिए ।
अनुगमनका क्रममा विभिन्न ठाउँमा ध्वस्त पारिएका संरचना तथा आगजनी गरिएको संरचना केही हटाइसकेको र केही पूनःनिर्माण हुँदै गरेको अवस्था थियो । अधिकांशले पुनःनिर्माणको प्रक्रिया थालनी गरेको, रङरोगन गरिरहेको, झ्याल ढोकाहरू नयाँ फेरिएको देखिएका थिए । सो अवसरमा बोल्दै गिरीले व्यक्तिगत घरहरू तथा संरचना जलाउनु अमानवीय भएको बताए ।
उनले व्यक्तिगत र दुराआग्रह पूर्णरूपले जेन–जीको नाममा संरचना जलाउनु राम्रो नभएको बताए । उनले जेन–जीका सटिक मागहरू उचित भएको भन्दै जेन–जीको नाममा अराजकता र घुसपैठ भएर संरचनाहरू जलाउनुलाई दुःखद् भएको बताए । ‘राष्ट्रभरी व्यक्ति र अन्य संरचना जलाएको छ यसको छानबिन हुनेछ, गर्नुपर्छ’, गरीले भने ।