दाङमा चाडपर्व सुरक्षा योजना, नौ सय सुरक्षाकर्मी परिचालन

गोरक्ष समाचारदाता
दाङ, १२ असोज । दाङमा चाडपर्वको समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नौ सय बढी सुरक्षाकर्मी परिचालन भएका छन् । दसैँ तथा तिहार पर्वको समयमा हुनसक्ने आपराधिक क्रियाकलापसँगै सडक दुर्घटना, लुटपात, चोरी, डकैटीलगायतका घटना हुन नदिन जिल्लामा सुरक्षा योजना अनुसार नौ सय ७४ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।
चाडपर्व लक्षित सुरक्षा योजना अनुसार जिल्लामा हुनसक्ने आपराधिक क्रियाकलापसँगै सट्टेबाजी तथा जुवातास, चोरी, डकैती, चिट्ठाको नाममा हुने ठगी नियन्त्रण, सरकारी कार्यालय, भिभिआइपी एवम् भिआइपीको सुरक्षा र आपतकालीन सेवा प्रवाहका लागि जिल्लामा नौ सय ७४ जना सुरक्षाकर्मी परिचालन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् ।
शनिवार आयोजित सञ्चारकर्मीसँग भेटघाट तथा परिचयात्मक कार्यक्रममा भर्खरै सुरुवा भएर दाङ आएका प्रहरी उपरीक्षक श्रेष्ठले सुरक्षाका लागि आवश्यकता अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै आवश्यकता अनुसार नेपाली सेनाको टोलीसमेत खटिने बताएका हुन् । प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार चाडपर्वको समयमा जिल्लाका विभिन्न स्थानमा ६१ वटा पिकेट ड्युटीमा एक सय ९२ जना सुरक्षाकर्मीको टोली खटिने भएको छ ।
ग्रामीण क्षेत्रमा परिचालन हुने ३५ वटा गस्ती टोलीमा एक सय पाँच जना, सरकारी कार्यालय तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षाका लागि जिल्लाका २० स्थानमा एक सय ४३ जना खटिने भएका छन् । यसैगरी १० वटा मोबाइल गस्ती टोलीमा ६६ जना, ४४ वटा क्युआरटी टोलीमा ८८ जना, २५ वटा पैदल गस्ती ९क्रस पेट्रोलिङ० मा ९५ जना, बजार अनुगमन टोलीमा ३० जना, पाँच वटा सादा पोसाक टोलीमा १३ जना, १७ वटा ट्राफिकसहितको संयुक्त चेकिङ टोलीमा ५१ जना, सीमा नाका सुरक्षाका लागि ३४ जना र सीमा नाकामा स्थापना गरिएको चार वटा नागरिक सहायता कक्षमा १२ जनाको टोली परिचालन गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
यसैगरी रातको समयमा चेकिङ ड्युटी, राजमार्ग सुरक्षा, औद्योगिक क्षेत्रलगायतका क्षेत्रमा आवश्यकता अनुसार सुरक्षाकर्मीको टोली परिचालन गरिने बताए । चाडपर्वको समयमा हुने अराजक र आपराधिक गतिविधिलाई नियन्त्रण गर्न चाडपर्व सुरक्षा योजना लागु गरिएको भन्दै प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘चाडपर्वको समयमा हुनसक्ने आपराधिक तथा चोरीका घट्ना रोक्नका लागि सुरक्षा योजना अनुसार प्रहरी खटिसकेको छ । सिसी क्यामेराको पहुँच हुने ठाउँमा सिसी क्यामेराबाटै निगरानीसमेत गरिरहेका छौँ ।’ चाडपर्वको समयमा सर्वसाधारण नागरिकको बढी भिडभाड हुने बैंक, सुनचाँदी पसल, यातायात क्षेत्रलगायतका स्थानमा सुरक्षालाई थप कडाइ गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, महासंघका पूर्वअध्यक्ष एवम् सल्लाहकार डा। सुदीप गौतम, महासंघ दाङका ओपेन्द्र बस्नेतलगायतका सञ्चारकर्मीले सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण प्रहरी निरीक्षक कविराज रोकायाले गरेका थिए ।