शान्ति सुरक्षा कायम गर्न सबैको सहयोग आवश्यक

बालाराम खड्का
तुलसीपुर, ११ असोज । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले आफ्नो पहिलो प्राथमिकताका रूपमा दशैँ–तिहार लक्षित सुरक्षा योजना कार्यान्वयन गर्ने घोषणा गरेका छन् ।
काज सरुवाबाट तुलसीपुर आएका डीएसपी पराजुलीले तुलसीपुर क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुलाई आफ्नो मुख्य प्राथमिकताका रूपमा राखेको बताए । शुक्रवार पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उनले तुलसीपुर क्षेत्रका चुनौतीलाई अवसरका रूपमा लिने बताए । पछिल्लो समयमा देशको विषम परिस्थितिका कारण उत्पन्न अवस्थामा शान्ति सुरक्षा कायम राख्नुका साथै चोरी, लुटपाटलगायतका घटना नहुन दिन प्रयास गर्ने उनको भनाइ थियो । ‘तुलसीपुर दाङको आधाभन्दा बढी क्षेत्राधिकार भएको चुनौतीपूर्ण र पुलिसिङका हिसाबले निकै महत्वपूर्ण क्षेत्र हो भन्ने सुनेको छु’,उनले भने,‘हाम्रो पुलिस करियरमा जति चुनौतीपूर्ण क्षेत्र हुन्छ, त्यति नै अवसर पनि हुन्छ ।’
प्रहरीका ब्यारेक जलाइएको, गाडी जलाइएको वर्तमान विषम परिस्थितिमा सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताए । ‘अन्य स्थानका कार्यालय खरानी भएका छन्, कम्तीमा पनि यहाँ इलाका प्रहरी कार्यालयमा त्यस्तो केही भएको छैन । यसका लागि म यहाँका जनतालाई धन्यवाद दिन चाहन्छु’ उनले भने । प्रहरी नायव उपरीक्षक पराजुलीले प्रहरी बिनाको राज्य हुन नसक्ने भन्दै प्रहरी र नागरिकबीच सुमधुर सम्बन्धका माध्यमबाट समाजमा शान्ति सुरक्षाका साथै भ्रष्टाचार, लागुऔषध, चोरी लगायतका कार्यलाई रोक्न सकिने बताए ।
उनले प्रहरी पेसा मात्र नभएर जनताको सेवा पनि भएको बताए । सन् २०१२ मा स्थापना भएको प्रहरी सङ्गठन जस्तोसुकै विषम परिस्थितिमा पनि पार गर्दै यहाँसम्म आइपुगेको भन्दै अहिलेको चुनौतीलाई नयाँ अवसरका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाए । तुलसीपुर क्षेत्रमा हुने जुवा, गुन्डागर्दी, लागुऔषधको कारोबार न्यूनीकरणका लागि प्रयास गर्ने उनले प्रतिबद्धता जाहेर गरे । ‘म अहिले नै यो गर्छु, त्यो गर्छु भन्दिन, तर म यहाँ बस्दासम्म राम्रो काम गर्नेछु’,पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक पराजुलीले भने,‘तपाईंहरूको पनि निष्पक्ष सहयोग चाहिन्छ । प्रहरीलाई सही सूचना आवश्यक पर्छ, त्यो सबैले दिनुपर्छ ।’
भेटघाट तथा दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा पत्रकारले नयाँ सरुवा भएर आएका डीएसपी पराजुलीलाई तुलसीपुर क्षेत्रको अवस्था, यस क्षेत्रका प्रमुख समस्या र गर्नु पर्ने कामका बारेमा सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण प्रहरी नायव निरीक्षक भरतनाथ योगीले गरेका थिए ।