बुदादेवी गोराथोकी उत्कृष्ट महिला पुरस्कार थापालाई

गोरक्ष समाचारदाता
दाङ, ११ असोज । दाङ महिला जेसीजले प्रदान गर्ने बुदादेवी गोराथोकी उत्कृष्ट महिला पुरस्कार २०२५ विष्णु थापालाई प्रदान गरिएको छ । महिला जेसीजले शुक्रवार एक कार्यक्रमको आयोजना गरी थापालाई सम्मान गरेको हो ।
थापा विगत लामो सयमदेखि महिला उद्यमी उत्पादन तथा सामाजिक कार्यमा काम गदै आएकी छिन् । आफु सानैदेखि उद्यमशीलतामा लागेको उनले बताइन् । आफू मात्र नभई धेरै महिला उद्यमी उद्यमशीलतामा जोड्ने काम गरेको उनको भनाइ छ । जेसीजले उत्कृष्ट महिला छनोटका लागि निवेदन माग गरेको थियो । परेका निवेदनहरू मध्येबाट छनोट गरेर सम्मान गरिएको हो । कार्यक्रम दाङ महिला जेसीजका अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा संविधान सभा सदस्य अनिता देवकोटाको प्रमुख आतिथ्यता एवम् पुरस्कार अक्षयकोष दाता बुदादेवी गोराथोकीको विशिष्ट आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले यस प्रकारको कार्यले काम गर्ने व्यक्तिलाई प्रोत्साहन गर्ने बताएका थिए । कार्यक्रम संयोजक आरधनासिंह ठकुरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव भीमा डिसीले गरेकी थिइन् । दाङ महिला जेसीजले सन २०२३ देखि उत्कृष्ट महिला पुरस्कार प्रदान गर्दै आएको छ । विभिन्न क्षेत्रमा काम गरेका महिलाबाट छनोट गरेर पुरस्कृत गर्दै आएको दाङ महिला जेसीजले जनाएको छ ।