calander

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  

Goraksha

National Daily

चाडपर्व लक्षित मात्र होइन, सधैँभरिलाई सहुलियत मूल्यको पसल चलाउने तयारी छ : प्रमुख गुप्ता

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चाडपर्व लक्षित गर्दै देशका विभिन्न ठाउँमा सहुलियत मूल्यका पसल सञ्चालन गरेको छ । दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै नागरिकको सहजताका लागि साल्ट ट्रेडिङले प्रत्येक वर्ष चाडपर्वको समयमा नुन, चिनी, तेललगायतका खाद्यान्न उपलब्ध गराउने उद्देश्य अनुसार सहुलियत मूल्यको पसल सञ्चालन गर्ने गरेको छ ।

सोही अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दाङ शाखाले गत भदौको ३० गतेदेखि कात्तिक ७ गतेसम्मका लागि घोराहीमा सहुलियत मूल्यको पसल सञ्चालन गरेको छ । गत वर्षसम्म नुन, चिनीलगायतका सामग्री बिक्री गर्दै आएको दाङ शाखाले यो वर्ष भने सहुलियत मूल्यको पसलबाट नुन मात्र बिक्री गरिरहेको छ ? चाडपर्वको समयमा नागरिकलाई सहजताका लागि सञ्चालन भएको सहुलियत मूल्यको पसलबाट किन नुन मात्र बिक्री गर्नुपर्ने अवस्था आइपुग्यो ? यही सन्दर्भमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दाङ शाखाका प्रमुख
रामबाबुप्रसाद गुप्तासँग गोरक्षकर्मी लीलाधर वलीले गरेको कुराकानीको सार सङ्क्षेप ।

— चाडपर्व लक्षित सहुलियत मूल्यको पसल सञ्चालन भइरहेको छ, ग्राहक कत्तिको आउनुहुन्छ ?

विगतका वर्षहरू जस्तै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले देशभर दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर पसल सञ्चालन गरेको छ । त्यहीअन्तर्गत भदौँको ३० गतेदेखि दाङ शाखाद्वारा हामीले पनि घोराहीमा सहुलित मूल्यको पसल सञ्चालन गरेका छौँ । घोराहीको तुलसीपुर चोक (भानुचोक) नजिकै सञ्चालन भइरहेको सहुलियत मूल्यको पसल कात्तिकको ७ गतेसम्म सञ्चालन हुनेछ ।

— सहुलियत मूल्यको पसलबाट के के सामान बिक्री गरिरहनुभएको छ ?

दुःखका साथ भन्नुपर्छ, यो वर्ष अहिलेसम्म नुन मात्र बिक्री गरिरहेका छौँ । गतवर्ष जस्तै नागरिकलाई चाडपर्वको समयमा नुनसँगै चिनी, बाल्ट्रा कम्पनीका खाना पकाउने सामग्रीहरू बिक्री गर्ने तयारी थियो । तर केही समयअघि भएको जेन–जी आन्दोलनसँगै देशमा उत्पन्न असज परिस्थीतिका कारण सामान आयातमा ढिलाइ हुँदा दाङमा नुन मात्र बिक्री गरिरहेका छौँ । पसलमा आउने प्रत्येक नागरिकलाई बजार मूल्यभन्दा दुई रुपैयाँ कम मूल्यमा प्रतिकेजी २४ रुपैयाँका दरले नुन बिक्री गरिरहेका छौँ । चिनी आयो भने तिहारसम्मलाई बिक्री गर्ने छौँ ।

— अहिलेसम्म कति नुन बिक्री गर्नुभयो ?

सहुलियत मूल्यको पसल सञ्चालन भएको करिव एक हप्ताको समय वित्यो । यो विचमा एक सय २९ जनाले प्रति प्रति व्यक्ति ६ किलोका दरले सात सय ७४ किलो नुन लग्नुभएको छ । नुन धेरै खाने चिज होइन, त्यही भएर पनि थोरै बिक्री भएको देखिन्छ । तर दैनिक २० देखि ५० जनासम्म स्थानीय आएर पसलबाट नुन लग्ने गर्नुभएको छ ।

गत वर्ष करिव सुपथ मूल्यको पसलबाट एक हजार आठ सय ६७ जनालाई ११ हजार दुई केजी नुन र दुई हजार छ सय ९२ जनालाई १६ हजार एक सय ५२ किलो चिनी बिक्री गरेका थियौँ । अहिले पनि चिनीलगायतका सामानहरू राख्न सकेको भए राम्रो कारोबार हुने थियो भन्ने लागेको छ । तर हामीले मात्र चाहेर नहुने रहेछ, माथिबाट सामग्री नआएपछि चाहेर पनि बिक्री गर्न सक्ने अवस्था नहुँदो रहेछ ।

— सहुलियत पसलमा नुन खरिदका लागि आउने ग्राहकले के भन्नुहुन्छ ?

सहुलियत मूल्यको पसलमा आउने अधिकांश ग्राहकले चिनी खोजिरहनुभएको छ । चिनी नपाउँदा नुन मात्रै भएपनि लाग्नुभएको छ । चाडपर्वको समयमा केजीमा दुई रुपैयाँ छुट पाउँदा पनि नागरिक खुसी हुनुभएको छ । काठमाडौँंलगायतका देशका अन्य ठाउँहरूमा सञ्चालन भएका सहुलियत मूल्यका पसलहरूमा जस्तै दाङमा पनि नुन, निचीलगायतका खाद्यान्न सामग्री भइदिए हुने थियो भन्नुहुन्छ ।

प्रत्येक वर्ष नुनसँगै चिनी लगेर फर्किने गरेका ग्राहकहरूलाई यो वर्ष नुन मात्र दिदा आफूलाई समेत नराम्रो लाग्ने गरेको छ । तर देशको विषय अवस्थाका कारण चिनी समयमा आइनपुग्दा पसलबाट बिक्री गर्न सकेका छैनौँ ।

— साल्ट ट्रेडिङले चाडपर्वको समयमा प्रत्येक वर्ष सुपथ मूल्यको पसल चलाउने गरेको छ, यो पसललाई अन्य समयमा चलाउन सकिदैन ?

वर्षभरी नै चलाउन सकिन्छ । जस्तै हामीले नुन वर्षभरि बिक्री गरिरहेका छौँ । यसैगरी चामल, चिनी, घिउ, चिउरालगायतका सामग्री बिक्री गर्न सकिन्छ । त्यो काठमाडौंलगायतका ठाउँमा चल्ने गरेको छ । घोराहीमा रहेको जिल्ला अदालतको अगाडी भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको पाँच कट्ठा जग्गामा व्यावसायिक भवन निर्माण गरेर वर्षभरी नै पसल सञ्चालन गर्ने तयारी गरेका छौँ ।

त्यही अनुसार डिपिआर बनाएर केन्द्रमा पठाएका छौँ । आशा छ, आगामी वर्षदेखि त्यही स्थानबाट सुपथ मूल्यको पसल सञ्चालन गर्ने छौँ । त्यहाँ नुन मात्र होइन, चामल, चिउरा, चिनी, सावुन, तेललगायतका सामग्री बिक्री गर्ने छौँ । अन्य समयको तुलनामा चाडपर्वको समयमा विशेष छुटका साथ सामानहरू बिक्री गर्ने गछौँ । सहुलियत मूल्यको पसलबाटै दाङको तोरीको तेललाई समेत बिक्री गर्ने गरि सोचेका छौँ । त्यसका लागि स्थानीय तहले सहयोग गरिदिए धेरै सहज हुने थियो । त्यसको लाभ किसानले समेत लिन पाउने अवस्था बन्ने थियो ।

— सहलियत मूल्यको पसल घोराहीलाई मात्र भयो, देउखुरी र पश्चिम क्षेत्रका नागरिकलाई सेवा लिन अप्ठेरो भयो भन्ने गुनासो सुनिन्छ नि ?

हो, सहुलियत मूल्यको पसल सञ्चालन गर्दा मात्र होइन, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले किसानलाई कृषि पेसाका लागि उपलव्ध गराउने रासानिक मल बिक्रीका लागि समेत समस्या हुने गरेको छ । देउखुरी र तुलसीपुर क्षेत्रमा रहेका सहकारीलाई मल ल्याउनका लागि घोराही आउनुपर्ने बाध्यता छ । किसानलाई सहजताका लागि लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिका नगर प्रमुखलाई जग्गा उपलव्ध गराउन पटक पटक आग्रह गरेको छु तर जग्गा पाइएको छैन ।

जग्गा पाइएको अवस्थामा मलका लागि सहकारीलाई घोराही आउनुपर्ने बाध्यता हुने थिएन । देउखुरी क्षेत्रका किसानले लमही र तुलसीपुरदेखि पश्चिमतिरका सहकारीले तुलसीपुरबाटै मल पाउनु अवस्था बन्ने थियो । त्यसले किसानलाई सहज हुने थियो । दाङसँगै रोल्पाका किसानलाई समेत सहज हुने गरी पसल राख्ने सोचेका छौँ ।

— प्रसङ्ग बद्लौँ साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले दाङमा रासायनिक मल पनि बिक्री गर्ने गर्दछ नि ?

दाङमा साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले नुनसँगै रासायनिक मल बिक्री गर्दै आएका छौँ । नुन र रासायनिक मल वर्षभरी नै चल्ने गर्दछ । नुन र रासायनिक मल दाङसहित रोल्पा, रुकुम पर्व, सल्यान र प्युठानमा पनि बिक्री गर्ने गरेका छौँ । पहाडी जिल्लाहरूमा पनि दाङबाटै पठाउने गरेका छौँ । नेपाल सरकारको तोकेको रेटमै साल्ट ट्रेडिङले आवश्यकताको करिव ३० प्रतिशत मल बिक्री गर्ने गरेको छ । दाङमा पनि त्यही अनुसार करिव ३० प्रतिशत मल साल्ट ट्रेडिङले सहकारी सस्थाहरूलाई वितरण गर्ने गरेको छ । साविक राप्तीका पाँचवटै जिल्लामा आयो नुन बिक्री गर्ने गर्दै आएको छ ।

— दाङमा रासायनिक मलको प्रयोगबारे किसान कत्तिको सचेत देख्नुहुन्छ ?

दाङ मात्र होइन, देशभरकै ट्रेन हेर्ने हो भने रासायनिक मलको प्रयोग बिना कृषि उत्पादन हुँदैन भनने किसानमा भ्रम छ । त्यो भ्रम चिर्ने काम साल्ट ट्रेडिङ कर्पाेरेसनका माध्यमबाट मैले जिल्लामा गरिरहेको छु । मल लग्ने प्रत्येक सहकारी सस्थालाई युरिया, डिएपीसँगै पोटास, सल्फर प्रयोग गर्नुपर्छ भनेर बिक्री पनि गरिरहेका छौँ ।

त्यस बारेमा सम्भव भएसम्म जिल्लाका विभिन्न सहकारी सस्था, कृषि समूहलाई सचेतनाका लागि जानकारी समेत गराउने गर्दै आएका छौँ । बुझेका किसानले पछिल्लो समय थोरै भएपनि पोटास, सल्फर प्रयोग गर्न थाल्नुभएको छ । यो राम्रो काम हो । यसले माटोको ऊर्वराशक्ति बढाउनका साथै नागरिकको स्वास्थ्यमा समेत सहयोग गर्नेछ ।