निर्वाचनका लागि दलहरूलाई विश्वासमा लिन आयोगको आग्रह

गोरक्ष समाचारदाता
दाङ, ८ असोज । निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबिच छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार भएको भेटमा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिएको सन्दर्भमा गर्नका लागि आवश्यक कानुन संशोधन, निर्वाचन व्यवस्थापन र स्रोत परिचालनलगायत विषयमा छलफल भएको हो ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीसँगको छलफलमा निर्वाचनको तयारी गर्नैपर्ने र तयारीका सम्बन्धमा कुनै अवरोधहरू छन भने त्यसलाई पहिचान गरेर सम्बोधन गर्नुपर्ने विषयमा छलफल भएको थियो । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनका लागि प्रभावकारी समन्वय गर्न प्रारम्भिक कुराकानी भएको जनाउँदै पछि आउने चुनौतीका विषयमा नेपाल सरकारसँग निरन्तर छलफल हुने बताए ।
निर्वाचनको कार्यभार पूर्ण रुपमा सम्पन्न गर्नुपर्नेमा सरकार र आयोग स्पष्ट रहेको बताउँदै उनले स्वच्छ, निष्पक्ष र स्वतन्त्र एवं मितव्ययी निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको स्पष्ट गरे । आयोगले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न मतदाता नामावली ऐन, २०७३ मा संशोधनलगायत आवश्यक स्रोतसाधनको सुनिश्चितताका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएको छ ।
हाल आगामी कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको संख्या एक करोड १ लाख ६ हजार २३० रहेका छन् । यसअघि यही असोज २ गते आयोगले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेको थियो । उपनिर्वाचनको मिति तोकिएको सन्दर्भमा गत असार १६ गतेदेखि मतदाता नामावली सङ्कलन स्थगन भएकाले मध्यावधि निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली सङ्कलन खुला गर्न कानुनी प्रबन्ध गर्नुपर्नेछ । उक्त ऐनको दफा ४ को उपदफा २ को सो व्यवस्था संशोधनका लागि अध्यादेशबाट कानुन संशोधन गर्न आयोग र सरकारबीच छलफल भएको हो ।
गृहमन्त्री अर्यालले सर्वोच्च अदालतको आदेशबमोजिम विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिने उपायबारे सोच्न भनेपछि आयोगले त्यसका लागि कानुनी विज्ञसँग छलफल गरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिसकेको छ ।
प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा स्वच्छ, स्वतन्त्र, भयरहिछ, निष्पक्ष र विश्वसनीय रूपमा निर्वाचन सम्पन्न गर्नका लागि उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत र साधनको व्यवस्थाका लागि आयोगका पदाधिकारीले आग्रह गरेका थिए ।
निर्वाचन आयोगले फागुन २१ गतेको निर्वाचनका लागि सरकारलाई मुख्य गरी निर्वाचनको माहोल बनाउन र सुरक्षा व्यवस्था मिलाउन विशेष आग्रह गरेका थिए । ‘हामीले निर्वाचनको प्रमुख सरोकारावाला भनेका राजनीतिक दलहरू हुन् । दलका एउटा मात्र हिस्सा बाहिर रह्यो भने पनि निर्वाचन गराउन गाह्रो हुन्छ भनेर सरकारलाई भनेका छौँ’, भेटमा सहभागी आयुक्तले भने, ‘त्यसैले निर्वाचनको माहौल बनाउनुहोस् भनेर भनेका छौँ ।’
आयुक्तहरूले निर्वाचनको अर्को पक्ष सुरक्षा भएकाले सरकारले ध्यान दिनुपर्ने भनेको छ । निर्वाचनको प्रसारप्रसारदेखि मतदान र मतगणनासम्का लागि सुरक्षाको भरपर्दो योजना बनाउन आयोगले सरकारलाई आग्रह गरेको हो ।’ देशभरका प्रहरी चौकीहरू जलेको र सुरक्षा अंगको मनोबल खस्किएको अवस्थामा निर्वाचनमा परिचालित हुने गरी सुरक्षा अंगको मनोबल बढाउन आयोगले आग्रह गरेको छ । भेटपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा पनि नेपाल सरकारको तर्फबाट भरपर्दो सुरक्षा प्रबन्ध मिलाइदिन अनुरोध गरेको उल्लेख छ ।