calander

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  

Goraksha

National Daily

लमही अस्पतालमा लुमिनोमेट्रिक इम्युनोएसस ल्याब सेवा

प्रिया स्मृती गजमेर
लमही, ८ असोज । लमही अस्पतालमा अत्याधुनिक ल्याब सेवा सुरु भएको छ । अस्पतालमा सुरु भएको अत्याधुनिक ल्याब सेवाको लमही नगरपालिका प्रमुख जोगराज चौधरीले मङ्गलवार उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै नगर प्रमुख चौधरीले बिरामीलाई सहज स्वास्थ्य सेवाका लागि अत्याधुनिक ल्याव सेवाले सहज हुने बताए । उनले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए । लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले अत्याधुनिक ल्याव सेवाको उद्घाटन कार्यक्रममा बिरामीले महँगो शुल्क तिरेर बाहिरी संस्थामा स्वास्थ्य जाँच गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरिन् । उनले नगरबासीलाई लक्षित गर्दै अस्पतालमै सर्वसुलभ दरमा सेवा उपलब्ध हुने भएकाले स्वास्थ्योपचारमा सहजता आउने बताइन् ।

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले लमही अस्पतालमा स्थापना गरिएको अत्याधुनिक ल्याब सेवा जिल्लामै उदाहरणीय हुने बताए । लमही नगरपालिका वडा नं. ४ का वडाध्यक्ष सुवास न्यौपानेले लमही अस्पताल क्रमिक रूपमा सुधारोन्मुख हुँदै गएको बताए । अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका दैनिक बिरामीको चाप बढ्दै गएकाले भौतिक पूर्वाधार विस्तारमा समिति र नगरपालिकाले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।

लमही अस्पतालले थाइराइडका बिरामी पत्ता लगाउन अहिले लुमिनोमेट्रिक इम्युनोएससे (क्लिया) नामक नयाँ प्रविधि भित्राएको छ । अब देउखुरी क्षेत्रमा रहेका थाइराइडका बिरामीलाई स्वास्थ्य जाँचका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने भएको छ ।

लमही अस्पतालका ल्याब टेक्सिनिसियन निरीक्षक शंकर भण्डारीका अनुसार लुमिनोमेट्रिक इम्युनोएससे टेक्नोलोजीमार्फत् अब लमही अस्पतालमा थाइराइड हर्मोनको जाँच हुनेछ । यो टेक्नोलोजीबाट क्यान्सर मार्कर, कार्डिएक मार्कर, भिटामिन–डी, भिटामिन–बी १२, सिआरपी, एलडिएच, अटो इम्युनोडिजिजसम्बन्धी यो मेसिनबाट जाँच गर्न सकिन्छ तर अहिले थाइराइड मात्र जाँच हुँदै आएको छ ।

अन्य जाँचका लागि केमिकल ल्याएपछि सुरुवात गरिने भएको उनले बताए । उक्त प्रविधिबाट एक पटकमा १५ वटा फरक फरक जाँच हुनुका साथै एक सय ४४ जना बिरामीको समेत एकै पटक जाँच गर्न सकिन्छ ।