करिब ७० वर्ष पुग्दासम्म उनी एक पटक पनि अस्पतालमा पुगेका थिइनन् । दाङ जिल्लाको शान्तिनगर–४ मा बस्दै आएका ७० वर्षीय उदयबहादुर पुन जीवनभरी मेहनत र संघर्षमा रमाएका थिए । गाउँमा बस्ने निम्न वर्गीय नागरिक उदयबहादुरको जीवनका प्रत्येक बिहान उनका लागि श्रमको अर्को अध्याय बनिन्थ्यो । दुई छोरा र चार छोरीका पिता उदयबहादुरले कहिल्यै विद्यालयसम्म पढ्नका लागि ढोका टेक्न पाएनन् । तर, आफ्ना छोराछोरीलाई शिक्षित बनाउने उनको सपन भने थियो । गरिबीको कठोर दाँतले त्यो सपना चपाइदियो ।
बिहानदेखि बेलुकासम्म दैनिक ज्याला मजदुरी गर्नु उनको लागि दिनचर्या थियो । श्रम नै जीवनको आधार बन्यो । गाउँघरको परम्परागत ऐँचोपैँचो संस्कार अनुसार एक दिन छिमेकिको घर छाउने क्रममा छतबाट खस्नुभयो । करिब ७ फिटको उचाइबाट भुईँमा पछारिएपछि उनको मेरुदण्ड, हातखुट्टा र टाउकोमा गम्भीर चोट लाग्यो । शरीरको कुनै अङ्ग सकुशल रहेन ।
त्यसपछि उनको जीवनसाथी श्रीमती पुष्पाको सहारामा निर्भर हुन पुग्यो । न त हिँड्न सक्ने, न त दिशा–पिसाव गर्न, सबै कुरा एउटै ओछ्यानमै गर्नु पर्ने बाध्यता आयो ।
शारीरिक अशक्तताको पीडामा बाँचेका उदयबहादुरको जीवनमा अर्को बज्रपात प¥यो, आँखाले देख्न पनि छाडे र बिस्तारै उनले दिनरातको भिन्नता पनि छुट्याउन छोडेको उनी बताउँछन् । अरूले दिएको खाना देख्न, आफैँलाई हेर्न, संसार नियाल्न सक्ने दृष्टि विस्तारै हराउँदै गएको उनको भनाइ छ । उनी एकान्त कुनामा बसेर आफ्नो भाग्यलाई धिक्कार्दै उनको मन भक्कानिथ्यो । अब म कहिले पहिले जस्तै आँखा देख्ने हुला भनेर ।
तर आशा कहिल्यै मर्दैन । कोही नहुनेको भगवान् हुन्छ भने जस्तै नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालको आयोजना तथा एनएवीपी नर्वेको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क आँखा शिविरमा पुगेका उदयबहादुर पुनको आँखामा मोतियाविन्दु भएको पत्ता लाग्यो । नेत्र सहायक रोहित कडायतले उनलाई तुरुन्त शल्यक्रियाका लागि अस्पताल रिफर गरे ।
उनको जीवनमा अलिकति भए पनि आसा पलायो र अब मैले आँखा देख्ने हुन्छु भन्ने मनमा लाग्यो । राप्ती आँखा अस्पतालमा उनको शल्यक्रिया भयो । सहायक प्रा. डा. रन्जितकुमार शाहसहित नेत्रविशेषज्ञ डा. उज्ज्वल गिरीको टोलीले अत्यन्त सफलतापूर्वक आँखाको शल्यक्रिया गरेपछि अर्को दिन शल्यक्रिया पछि जब आँखाको पट्टी खोलियो, उदयबहादुरको अनुहारमा वर्षौँदेखिको पहिलो सच्चा मुस्कान फक्रियो ।
उनी निकै खुसी भए । उनले गुमाएको दृष्टि फेरि देख्दा निकै खुसी भए । ‘अहिले त मैले आँखाको नानी समेत देख्न थालेँ । आँखाको परेला पनि देख्न थालेँ । जब म अस्पताल आउँदा मान्छेको स्वरूप पनि देख्दैनथे, आज त डाक्टर आफैँलाई देखेँ भन्दै उनी निकै खुसी भए । यो खुसी म कसरी बाँडौँ भन्नै सकेको छैन ।’
७० वर्षको उमेरमा उनले पहिलो पटक आँखा अस्पतालको प्राङ्गण टेकेर र जीवनको नयाँ सुरुवात गरेका अनुभव गरे । ‘मैले पहिले जस्तै आँखा देखे मलाई पुनर्जन्म दिनुभयो डाक्टरले, खुला मन र बचनले मलाई संसार देखाउनुभयो भन्दै उनीले खुसीले गधगध ए ।’ उनको यो वाक्यमा पुनः प्राप्त दृष्टिको गहिरो मूल्य झल्किन्छ ।
आज उदयबहादुर पुन दृष्टिविहीनताको अँध्यारोबाट बाहिर निस्किएर उज्यालोमा फर्किनुभएकोमा निकै खुसी हुनुभएको थियो । यो केवल व्यक्तिगत सफलता मात्र होइन, चिकित्सा सेवा, सामाजिक उत्तरदायित्व, र मानवीय सेवाको एक प्रेरणादायी उदाहरण हो । पुनले खुसी हुँदै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए र उनको मनमा निकै खुसी छाएको थियो ।
प्रस्तुति : निरला अर्याल