हाम्रो सांस्कृतिक पर्व बडा दसैँ २०८२

नारायणप्रसाद श्रेष्ठ

वर्षायाम सकि नै (भाद्र २३ र २४ गते) लाग्दा हाम्रो देशमा भएको अप्रत्यासित घटनाक्रमले अहिले सबैको मन दुःखीद छ । यसै बखत हाम्रो घर आगनमा २०८२ सालको बडा दसैँ पनि भित्रिएको छ । यसबेला हामी सबैले शोकलाई शक्तिमा बदल्दै जीवनलाई सहज बनाउन संकल्प गर्नु परेको छ ।

चहराइ रहेको मनको घाउमा सबैले मल्हमपट्टि गर्नुपर्ने छ । तसर्थ यस अवस्थामा हामी त्यो अमरत्व प्राप्त आत्माको शान्ति र शोकमा रहनु भएका सबैप्रति हार्दिक सद्भाव व्यक्त गर्दछौँ । जस्तोसुकै र जुनसुकै परिस्थिति भएर पनि समस्यासँग जुधेर मुकाबिला गर्न सक्ने नेपाली परम्परा र संस्कृतिलाई खुसीमा परिणत गर्दै दुःख, सुख, जीवनमा आइ पर्ने प्रकृतिको नियम नै हुन् भने स्वीकार्दै, जीवनलाई सहज र खुसी बनाउन अब हामीले आफूलाई धैर्य र सहनशिल बनाउनु परेको छ ।

जीवनको हरेक मोडलाइ सुन्दर, शान्त र सकारात्मक बाटो मा लैजानु परेको छ । अहिले हाम्रो सामु २०८२ सालको बडा दसैँ पनि आएको छ । तसर्थ यस अवस्थामा सम्पूर्ण हिन्दु अनुयायीहरुमा बडा दसैँ २०८२ को हार्दिक मङ्लमय शुभकामना पनि व्यक्त गर्दछौँ । बडा दसैँले सुखद् भविष्य निर्धारण गर्न सबैमा सतविचार प्रदान गरोस् कामना पनि ।

सँगै बाचौँ, सँगै कर्म गरौँ र सँगसँगै मोक्ष प्राप्त गरौँ भन्ने पवित्र विचार र उद्देश्य बोकी आपसी सम्बन्धलाई अझ मजबुद र भरोसा कायम गराउन सनातन संस्कृतिभित्रको बडा दसैँ पर्व अहिले हाम्रो घर आँगनमा छ । आसुरी शक्तिको समुल नष्ट गरी दैवीय शक्ति, सत्यको विजय हुने मान्यता बोकेर आएको यस पर्वले सबैलाई उत्साह र उमङ्ग दियोस्, सबैमा सम न्याय र सदभावको सन्देश प्रवाह गर्न सफल रहोस् यो पनि हामी शुभकामना व्यक्त गर्न चाहन्छौँ ।

आपसी भाइचाराको सम्बन्ध वृद्धिसँगै छाडा संस्कृति र विकृति जन्य विचारको समूल नष्ट गरी समुन्नत आदर्श विचार सम्प्रेषण गर्न यो पर्व कोशेढुंगा सावित होस्, यो पनि कामना गर्दछु । विछोड पछिको मिलनले ल्याउने आत्मसन्तुष्टिलाई आत्मसाथ गर्दै, आफू एक्लोमा होइन अरुको आनन्दमा रमाउन सिक्नुपर्छ, दुःख, सुखमा एकाकार भई मल्हम लगाउने ठाउमा मल्हम, रमाउने ठाउँमा रमाइलो बनाउन सक्नु पर्छ ।

यही शिक्षा प्रदान गर्न यो पर्व सक्षम रहोस्, श्रद्धा र समर्पण तथा अनुशासित आचरण नै मानवीय मूल्य र मान्यताभित्र रहेको यो पर्वले सबैलाई सतबुद्धि प्रदान गरोस् । हृदयदेखि आशा र भरोसा राख्दै पर्वको उद्देश्य सत्यमा आधारित छ भन्ने कुरा राख्दै यस पर्वले सबैलाई सचेत गराओस् । हार्दिक शुभकामना । मनुष्य जीवनको सफलता, अहंकार र घमण्डमा होइन मानवोचित, सगुन साकार कर्म र चिन्तन गर्नमा लागि परेको हुन्छ ।

तसर्थ यस पर्वले हामीलाई दिने उत्साह र हौसला चीर काल सम्न जिवन्त रहोस् । जीवनलाई सहज गति उन्मुख गराउन तथा यथार्थ र सत्यवादी चरित्र निर्वाह गर्न यस पर्वले हामी सबैलाई प्रेरणादिन सफल बनोस् यही कामना गर्दछु । सनातनदेखि आस्थाको प्रतिक स्वरुप मनाइँदै आएको वेदशास्त्र र त्यही शास्त्रले निर्देश गरेको सांस्कृतिक पर्व बडा दसैँ (विजया दशमी) खुसीको पर्वको रुपमा यस वर्ष स्थापित हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ।

सेवा र सद्भाव, समर्पण र विश्वासको भावना अभिवृिद्धसँगै भाइचारा र मित्रता अभिवृद्धि गर्न यो पर्व कोशेढुंगा सावित हुने छ । यो कुरालाई स्वीकार गर्दै गलत संस्कार र स्वभावलाई निर्मूल गर्न हामी सबैले एकैबद्धता जनाऔँ, दशैंको उद्देश्य र यसभित्र लुकेको सत्यलाई सबैले ग्रहण गर्ने, क्षमता बढाऔँ । आपसी सद्भाव र शक्ति बढाउन हामी सक्षम बनौँ र आपसी सम्बन्धले ल्याउने न्यानो अनुभूति सबैमा जागृत होस् ।

यो पनि यस अवसरमा व्यक्त गर्न चाहन्छु । तँ ठूलो, म सानो, त धनी, म गरिब जस्ता विभेदकारी विचारले ग्रस्त रुढीवादी सामाजिक परम्परालाइ चुनौती दिँदै यस्ता कु भावना हटाउन र गलत मानसिकता हटाउन यो पर्वले सबैलाई जागृत गराइरहेको छ । पवित्र सम्बन्ध र नाता कायम गरी सामाजिक सुसभ्यतालाई आदर्श गति उन्मुख गराउन हाम्रो सांस्कृतिक बडा दसैँ पर्वले हामीलाई प्रेरणा दिँदै यो अवस्थासम्म आइपुगेको छ ।

हुन त विविध विचारभित्र हुर्केको मानव स्वभावले यसको गरिमा र विशेषतालाई आफू अनुकूल व्याख्या गर्दै विलासी र मनोरञ्जनतर्फ विश्लेषण नगरेका पनि होइनन् ? विविध धर्म र संस्कृतिलाई व्याख्या गर्छु भन्ने गुरु कहलिएका केही व्यक्तिले समेत यसको महिमालाई विश्लेषण गरी हाम्रो परम्परागत संस्कृति र संस्कारमाथि हिलो छ्याप्ने काम नगरेका पनि होइनन् ?

स्वार्थ र अहंकारले परिपोसित विचारका नाइके ठहरिएका नेताको छदम भेसी आचरणले यसको महिमा तथा पौराणिक सत्यमा आधारित युगौँदेखि चल्दै आएको संस्कृतिमाथि धावा न बोलेका पनि होइनन् । तथापि सूर्य पूर्वबाट उदाएर पश्चिममा अस्ताउँछ भन्ने सत्यलाई जसरी हामी स्वीकारेका छौँ त्यसरी नै हाम्रो संस्कृति पर्वले पनि हामी सबैलाई त्यही सत्यभित्र रहेर कर्म गर्न सिकाइरहेको कुरा बिर्सनु हुँदैन ।

मानिसलाई घृणाले होइन प्रेम र पवित्र विचारले जित्न सकिन्छ भन्ने सुविचार प्रवाह गर्दै अरुलाई गलत भन्नुभन्दा पहिले आफूले आफैलाई सकारात्मक कर्म र विचारबाट परिपोषित गरी अरुको विचारलाई सम्मान गर्न जान्नुपर्दछ भन्ने असल विचार बढाउन सक्नु हाम्रो दायित्व पनि हो । हिन्दु संस्कृति भित्रको बडा दसैँ, सांस्कृतिक पर्वले हामीलाई यही शिक्षा प्रदान गरेको छ । मानिसको चाहना, प्रेम, सम्मान, आत्मसन्तुष्टि पनि हो ।

यही प्राप्तिको लागि मानिसले अहोरात्र आफूलाई समर्पण गरेका पनि हुन्छन् । यही प्राप्तिको लागि हुने र नहुने कर्म र व्यवहार पनि गरेको देखिन्छ । आफूलाई सन्तुष्टि गराउन आफूले गर्नु पर्ने कार्य, चाहे त्यो दुष्कर्म किन नहोस्, आफ्नो सन्तुष्टि नै सबैको सन्तुष्टि हो भन्ने किसिमले त्यस्ता व्यक्तिले काम नगरेका पनि होइनन् । दृष्टि भ्रमका कारणले सत्यमा आधारित विचारलाई क्षणिक स्वार्थमा प्रेरित गर्दै मानिसको विशिष्ट प्रतिभा आफूले आफैको नोक्सान गर्नतर्फ मानिस लागिरहेको पनि देखिन्छ, यति मात्र होइन गलत विचार समेत उसले हार्दिकतापूर्वक अनुमोदन गर्न पनि लागि परेको हुन्छ ।

बास्तवमा यस्तो मानसिकता भनेको स्वार्थले निम्त्याउने परिणामको असर हो । यस्तै कुविचारले आफू भित्रको कमजोरी लुकाउन अपराधमाथि अपराधी प्रवृत्तितर्फ मानिस आकृष्ट हुन खोजिरहेको देखिन्छ । त्यसैले यस्तो विषम परिस्थितिमा हाम्रो संस्कृतिले ल्याउन खोजेको सकारात्मक प्रवृत्ति साँच्चिकै मानव जीवनको लागि प्रेरणाको स्रोत बन्न अब सबैले यसभित्र लुकेको सत्य, सचेतन आत्माले स्वीकार्नु गर्नुपर्ने अवस्था छ ।

सामाजिक सुसंस्कृतिभित्र निरन्तर गतिशील भइरहेको सामाजिक एकता र सद्भावलाई कायम राख्दै मानवीय मूल्य र मान्यताभित्रको असल संस्कार प्रत्याभूत गर्न हाम्रो पर्वले हामीलाई सजग र सचेत गराइरहेको पनि छ । अब हामीले हाम्रो पर्वलाई सुदृढ गर्दै यसको संरक्षण र सुधार गर्नु हाम्रो जिम्मेवारी हो, संस्कृति हाम्रो धरोहर हो भनी यसको संरक्षण र सम्बर्धन गर्न जरुरी छ । यो हामीले स्वीकार गर्नु पनि पर्दछ ।

पर्व आयो ढोल बजाई, पर्व गयो ऋण बोकाई भन्ने उखान हटाई पर्व आयो प्रेम र सद्भाव बढाई, पर्व गयो सामाजिक प्रतिष्ठा र चेतना बढाई भन्ने उखान चरितार्थ गराई सकारात्मक चिन्तनका साथ आफ्नो गक्ष अनुसार सांस्कृतिक पर्वलाई मनाउनु अहिले हाम्रो जिम्मेवारी बनेको छ । मनोरञ्जन प्रधानको रुपमा होइन, यसको मूल्य र मान्यताको विशेषतालाई आत्मसात गरी, यसलाई अंगीकार गर्नु परेको छ ।

नेपाली घर आँगनमा भित्रिने जति पनि सांस्कृतिक पर्वहरु छन् यसले मानव जीवन र जगतलाई आदर्श र सकारात्मक चिन्तनतर्फ गतिशील रहन प्रेरित गर्दै आएको कुरा भुल्नु हुँदैन । मन, बचन र कर्मद्वारा सर्वेभवन्तु सुखिनको आचरण गर्न सबैलाई यस पर्वले उत्प्रेरित र उत्साह जगाइरहेको पनि छ भन्ने सन्देश प्रवाह गर्न अहिले जरुरी छ । साथै यसको गरिमा र महत्व सबैले बुझ्न जरुरी पनि छ ।

जीवनको पूर्वार्थदेखि उत्तरार्धसम्म मानव मानवबिच हुनु पर्ने सम्बन्ध र सम्बन्धले ल्याउने सुखद क्षणको परिकल्पना गर्न यो पर्व सक्षम भएर सशक्त रुपले अहिलेसम्म जीवन्त छ । तसर्थ सत्य अविनाशी र अपरिवर्तनीय हुने हुँदा यही सत्यभित्र रहेर सांस्कृतिक पर्वको महत्वलाई स्वीकार गर्न सिकौँ । यसको महिमा र गरिमालाई बुझी आफ्नो मर्यादा र क्षमता अनुसार पर्वलाई मनाऔँ । तब मात्र त्यहाँ आनन्दको लहर उत्पन्न हुन सक्छ ।

त्यसैले पर्वलाई देखासिकी र भड्किलो एवम् विलासिततर्फ आकर्षक नगरी, मानव अन्तरनिहित आदर्शलाई मानवोचित सेवा, सद्भाव तथा मित्रता कायम गर्दै हासी खुसी मनाऔँ । अनुशासन र मर्यादा कायम गरी आत्मीयता साटासाट गरौँ । विजया दशमी २०८२ ले हामी सबैलाई यही प्रेरणा प्रदान गरोस्, हार्दिक मङ्गलमय शुभकामना । अस्तु ।